१०औँ राष्ट्रिय खेलकुदका लागि कालीकोटमा खेलाडी छनोट प्रतियोगिता १५ गतेबाट

हस्त चाैलागाईं
कालीकोट ,१३ असोज ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कालीकोटमा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता हुने भएको छ।
प्रतियोगिता तयारी सम्बन्धमा जिल्ला खेलकुद विकास समिति कालीकोटको आयोजनामा पत्रकार सम्मेलन गर्दै कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य पंखबहादुर मल्लले आगामी असोज १५ गतेदेखि १७ गतेसम्म जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता सञ्चालन हुने जानकारी दिए।
उनका अनुसार आगामी मंसिर १६ गतेदेखि २७ गतेसम्म हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कालीकोटबाट जिल्लास्तरीय छनोटमार्फत खेलाडी छनोट गरिनेछ। छनोट प्रतियोगितापछि कालीकोटबाट १०८ जना पुरुष र ८४ जना महिला गरी १९२ जना खेलाडी प्रदेशस्तरीय छनोटका लागि जानेछन्।
सदस्य मल्लले कालीकोटका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूलाई आफ्नो पालिकाबाट जिल्लास्तरीय छनोट प्रतियोगितामा खेलाडीको सहभागिता सुनिश्चित गर्न आग्रह गरे। जिल्लामा सञ्चालन हुने विभिन्न खेलका लागि सम्बन्धित विधाका संयोजक समेत तोकिएको उनले जानकारी दिए।
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३२ वटा खेल समावेश हुनेछन्। त्यसैगरी, कर्णाली प्रदेशका १० जिल्लाबीचको भलिबल प्रतियोगिता असोज २६ गतेदेखि कालीकोटमा आयोजना हुने बताइएको छ।
जिल्लास्तरीय छनोट प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी बनाउन जिल्ला खेलकुद विकास समिति कालीकोटले आवश्यक तयारी अघि बढाएको जनाएको छ।






