पाँच वर्षभित्र सिक्टा सिँचाइ आयोजना पूरा गर्ने लक्ष्य, निर्माण कार्यलाई तीव्रता

बाँके, ३१ भदौ ।

बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनालाई आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिइएको छ । सरकारले आयोजनाका बाँकी पूर्वाधार निर्माणको काम पाँच वर्षभित्र पूरा गर्न निर्देशन दिएपछि शाखा, उपशाखा तथा प्रशाखा नहर निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको हो ।

आयोजना निर्देशक राजु आचार्यले पछिल्लो समय आयोजनाको निर्माण कार्यले गति लिएको बताए । बजेट र आवश्यक जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र बाँकी पूर्वाधार निर्माण सम्पन्न गर्न सकिने उनको भनाई छ । “पाँच वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार अहिले काम अघि बढिरहेको छ,” निर्देशक आचार्यले भने । उनका अनुसार सिक्टा सिँचाइ आयोजनाको हालसम्म ५१ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वाधार निर्माणमा हालसम्म करिब २४ अर्ब रुपियाँ खर्च भइसकेको छ । आयोजनाले बाँकेको ४२ हजार ७६६ हेक्टर भूमिमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखेको छ ।

आयोजनाका सूचना अधिकारी मनोजकुमार साहका अनुसार बाँकी संरचना निर्माणका लागि नयाँ बोलपत्र आह्वान गर्ने, शाखा तथा प्रशाखा नहर निर्माण अघि बढाउने र लामो समयदेखि रोकिएका काम पुनः सञ्चालन गर्ने प्रक्रिया तीव्र पारिएको छ । उनका अनुसार पछिल्लो चरणमा थप ३० वटा बोलपत्र आह्वान गरिएको छ । यसबाट बाँकी पूर्वाधार निर्माणले थप गति लिने अपेक्षा गरिएको छ ।

सिक्टाअन्तर्गत ४५ किलोमिटर लामो पश्चिम मूल नहर निर्माण भइसकेको छ । पश्चिम मूल नहरअन्तर्गत सिधनिया, अकलघरुवा र गुरुवागाउँ शाखा नहर पनि सम्पन्न हुने चरणमा पुगेका छन् भने डुडुवा शाखा नहरको निर्माण जारी छ ।

करिब १६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको डुडुवा शाखा नहर लामो समयदेखि अलपत्र अवस्थामा थियो । ठेकेदार कम्पनीसँगको विवाद तथा अदालतमा विचाराधीन मुद्दाका कारण रोकिएको निर्माण कार्य विवाद समाधान भएपछि गत वर्षदेखि नयाँ ठेकेदारमार्फत पुनः अघि बढाइएको हो ।

आयोजनाले पश्चिम मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरबाट करिब नौ हजार हेक्टर गरी कुल ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य लिएको छ । हालसम्म करिब २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको निर्देशक आचार्यले जानकारी दिए ।

लक्ष्यअनुसार सम्पूर्ण क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउन अझै शाखा, उपशाखा र प्रशाखा नहर निर्माण गर्नुपर्ने अवस्था छ । त्यसैले आगामी पाँच वर्षमा यी संरचनाको निर्माणलाई मुख्य प्राथमिकतामा राखिएको आयोजनाले जनाएको छ ।

सिक्टा सिँचाइ आयोजनाको निर्माण अवधि र लागत भने पटक–पटक संशोधन हुँदै आएको छ । विसं २०६४ मा स्वीकृत पहिलो गुरुयोजनाले १२ अर्ब ८० करोड रुपियाँ लागतमा आर्थिक वर्ष २०७०/७१ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको थियो । निर्माणका क्रममा थप नौ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने गरी पूर्वि मूल नहरलगायतका संरचना थपिएपछि आयोजनाको लागत र समय दुवै बढेको हो ।

आर्थिक वर्ष २०७१/७२ मा स्वीकृत संशोधित गुरुयोजनाले २५ अर्ब दुई करोड रुपियाँ लागतमा आर्थिक वर्ष २०७६/७७ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर निर्धारित समयसीमामा पनि आयोजना पूर्ण रूपमा सम्पन्न हुन सकेन ।

त्यसपछि विसं २०७९ मा स्वीकृत गुरुयोजनाले आयोजनाको सम्पूर्ण काम ५२ अर्ब ८९ करोड रुपियाँ लागतमा आर्थिक वर्ष २०८९/९० सम्म सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको छ । पछिल्लो समय सरकारले भने बाँकी निर्माण कार्यलाई आगामी पाँच वर्षभित्र पूरा गर्ने गरी कामलाई गति दिन निर्देशन दिएको हो ।

आर्थिक वर्ष २०६२/६३ मा सुरु भएको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत राप्तीसोनारी गाउँपालिका–१, अगैयास्थित राप्ती नदीमा ३१७ मिटर लामो ब्यारेज निर्माण गरिएको छ । आयोजनाको मुख्य उद्देश्य बाँकेको ठूलो भू–भागमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादन र उत्पादकत्व बढाउनु हो ।

आयोजनाका अनुसार अब बाँकी शाखा, उपशाखा तथा प्रशाखा नहर निर्माण सम्पन्न गर्न सके लक्ष्यअनुसारको क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न सकिनेछ । आगामी पाँच वर्षभित्र आयोजना सम्पन्न गर्ने सरकारी लक्ष्यले लामो समयदेखि निर्माणाधीन सिक्टाबाट पूर्ण लाभ लिन पाउने स्थानीय किसानको अपेक्षा पनि बढाएको छ ।

पाँच वर्षभित्र सिक्टा सिँचाइ आयोजना पूरा गर्ने लक्ष्य, निर्माण कार्यलाई तीव्रता

कर्णाली पर्यटन दशक घोषणाको तयारीमा प्रदेश सरकार

पाँच वर्षभित्र सिक्टा सिँचाइ आयोजना पूरा गर्ने लक्ष्य, निर्माण कार्यलाई तीव्रता

प्रधानमन्त्री राहत कोषमा मौज्दात १४ अर्ब पुग्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *