मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मल्ल

सुर्खेत, १७ भदौ ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री जितबहादुर मल्ल मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । मंगलबार सामाजिक विकास मन्त्रालयले आयोजना गरेको परियोजना अभिमुखिकरण तथा भावी कार्ययोजना सम्बन्धि अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री मल्लले मानसिक स्वास्थ्यको सवाललाई सामान्यरुपमा लिन नहुँने बताए ।
उनले पछिल्लो समय मानसिक समस्या बढ्दै जानु चिन्ताजनक छ । पछिल्लो समय बालबालिकामा पनि मानसिक समस्याले आत्महत्याले प्रसय पाउने अवस्था निकै दर्दनाक रहेको बताए । कर्णालीको मानसिक स्वास्थ्यको सवालमा प्रदेश सरकारले विभिन्न विकास साझेदारसँग मिलेर काम गरिहेको उनको भनाई थियो ।
उनले भने, ‘मानसिक स्वास्थ्यका क्षेत्रमा विद्यमाना नीति र कार्यक्रमहरु प्रभावकारी छन् भन्न सकिदैन, काम गर्दै जादा केही नीतिगत र संरचनागत समस्या हुनसक्छन् । यस्ता विषयहरु आगामी दिनहरुमा सुधार गरिदै लगिनेछ ।’ मानसिक स्वास्थ्यको सवाललाई चासोको साथ हेरेको बताउँदै सरकारले मानसिक स्वास्थ्यका क्षेत्रमा लगानी बढाउँदै लगेको बताउँदै उनले कर्णालीको मानसिक स्वास्थ्य सुधार गर्न सरकारले रणनीति नै बनाएर अघि बढेको मन्त्री मल्लले दावी गरे ।
बालबालिका, किशोर किशोरी र बृद्धबृद्धामा मानसिक स्वास्थ्यका बारेमा सचेतना फैलाउन आवश्यक रहेको उनको भनाई थियो । त्यस्तै, सामाजिक विकास मन्त्रालयकी सचिव रोशनीकुमारी श्रेष्ठले सरकारको नीति अनुसार मानसिक स्वास्थ्यका कार्यक्रम भइरहेको बताइन ।
विकास साझेदारहरुले सञ्चालन गरेका मानसिक स्वास्थ्य सम्बन्धिका कार्यक्रमहरु लक्षित वर्गसम्म पुगेमात्रै भारित लक्ष्य हासिल गर्न सकिने उनले बताइन । मानसिक स्वास्थ्यका कारण आत्महत्या बढ्यो भन्नुभन्दा पनि यसलाई न्यूनिकरण गर्न कसरी काम गरियो भन्ने कुरा महत्वपूर्ण हुने उनले बताइन । पछिल्लो समय मानसिक समस्या जटिल बन्दै गएको उल्लेख गर्दै सचिव श्रेष्ठ विरामी उपचार गर्न आउने नभई उनीहरुलाई खोज्ने संयत्रको विकास हुनुपर्ने बताइन ।
त्यस्तै, कार्यक्रममा बोल्दै मानसिक रोग विशेषज्ञ डाक्टर सुशील समदर्शीले कर्णालीमा ११ प्रतिशतमा मानसिक स्वास्थ्य समस्या रहेको बताए । उनले कर्णालीको मानसिक स्वास्थ्यको अवस्था सुधार गर्न सबै मिलेर काम गर्नुपर्ने बताए ।






