भोटेकोशी बाढीपछि बर्दियाका ९० जना अझै सम्पर्कविहीन

बर्दिया, १७ भदौ ।

भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी बर्दियाको गेरुवा गाउँपालिका–२ भैरमपुरका सात जना सम्पर्कविहीन भएपछि सिंगो टोल शोक र चिन्तामा डुबेको छ । रसुवागढीस्थित भन्सार कार्यालयको भवन निर्माणका लागि गएका उनीहरू बाढी आएको सात दिन बितिसक्दा पनि परिवारको सम्पर्कमा आएका छैनन् ।

गेरुवा–२ का वडाध्यक्ष कृष्ण थारूका अनुसार भैरमपुरका सातै जना मङ्गलबारसम्म सम्पर्कविहीन छन् । उनीहरू गत साउन १४ गते गाउँबाट रसुवा भन्सार कार्यालयको भवन निर्माणमा मजदुरी गर्न गएका थिए ।

सम्पर्कविहीन हुनेमा ३१ वर्षीय पदम थारू, उनका सहोदर भाइ बालकुमार थारू र काकाका छोरा पञ्चराम थारूसहित सात जना छन् । पदमकी श्रीमती शिवा थारू श्रीमान् सम्पर्कविहीन भएपछि विक्षिप्तजस्तै बनेकी छन् । सात दिनदेखि श्रीमान्को कुनै खबर नआएपछि उनले खाना समेत खान नसकेको परिवारले जनाएको छ ।

बालकुमारका दाजु शिलुप्रसाद थारूले भाइसहित सम्पर्कविहीन भएका सबैको अवस्था अझै अज्ञात रहेको बताए । बालकुमारकी आमा रामकुमारी थारू छोराको अवस्थाबारे कुरा गर्दा भक्कानो छोडेर रुने गरेकी छन् । ‘सरकार, मेरो छोरालाई सकुशल उद्धार गरिदिनुपर्‍यो,’ उनले भावुक हुँदै भनिन् ।

भैरमपुर टोलका सात जना एकैपटक सम्पर्कविहीन भएपछि अधिकांश परिवारमा सन्नाटा छाएको वडासदस्य इन्दिरा सापकोटाले बताइन्। आर्थिक रूपमा कमजोर परिवारका मुख्य सहारा नै सम्पर्कविहीन भएपछि उनीहरूको पीडा झनै बढेको उनको भनाइ छ ।

‘अधिकांश परिवार चिन्ताले थलिएका छन्,’ उनले भनिन् । गेरुवा गाउँपालिका–२ कै सन्तोष न्यौपाने पनि भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन् । रसुवामा काम गर्न गएका छोरा सकुशल घर फर्किने आशामा उनकी आमा ज्योतिले निरन्तर सोधपुछ गरिरहेकी छन् ।

खोजीका लागि भरतपुर पुगे १३ जना

सम्पर्कविहीन भएकाहरूको खोजी तथा पहिचानका लागि गेरुवा गाउँपालिकाले पहल थालेको छ । आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले वडा नम्बर २ र ५ का वडाध्यक्षसहित पीडित परिवारका सदस्यलाई चितवनको भरतपुर पठाउने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार पीडित परिवारका सदस्यसहित १३ जना खोजीका लागि भरतपुर पुगेका छन् । गाउँपालिकाले खोजीमा जाने प्रत्येक व्यक्तिलाई १० हजार रुपैयाँका दरले यातायात खर्च उपलब्ध गराएको वडा नम्बर २ का अध्यक्ष थारूले बताए ।

गेरुवा–५ का चार मजदुर पनि सम्पर्कविहीन

गेरुवा गाउँपालिका–५ का चार जना मजदुर पनि भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन् । उनीहरू अहिलेसम्म परिवारको सम्पर्कमा नआएको वडा नम्बर ५ का अध्यक्ष धर्मबहादुर थारूले बताए ।

भरतपुर पुगे पनि बाढीपछि विभिन्न स्थानमा भेटिएका शवको पहिचान गर्न कठिनाइ भइरहेको उनले बताए । ‘अब शव राखिएका अन्य ठाउँमा पनि खोजीका लागि जानेछौं,’ उनले भने ।

बर्दियाका ९० जना अझै सम्पर्कविहीन

जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार रसुवाको भोटेकोशी बाढीपछि जिल्लाका ९० जना अझै सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेमा गुलरिया–५ का इन्जिनियर शिशिर गिरीसहित कर्मचारी, मजदुर तथा रसुवा घुम्न गएका बर्दियावासी छन् ।

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार सम्पर्कविहीनमध्ये सबैभन्दा धेरै बारबर्दिया नगरपालिकाका २५ जना छन् । त्यस्तै, बाँसगढी नगरपालिकाका १८, राजापुर नगरपालिकाका १६, गेरुवा गाउँपालिकाका १४, ठाकुरबाबा नगरपालिकाका १३, गुलरिया नगरपालिकाका २ र मधुवन नगरपालिकाका १ जना सम्पर्कविहीन छन्। अन्य दुई जनाको ठेगाना खुल्न सकेको छैन ।

प्रशासनका अनुसार बाढीका कारण सम्पर्कविहीन भएकामध्ये केही रोजगारीका लागि रसुवा पुगेका मजदुर तथा कर्मचारी छन् भने केही बर्दियाबाट घुमफिरका लागि रसुवा पुगेका थिए । भोटेकोशी बाढीमा परेर आफ्ना आफन्तको अवस्था अज्ञात भएपछि बर्दियाका विभिन्न गाउँमा अहिले परिवारको पीडा र प्रतीक्षाको अवस्था छ । आफन्तहरू सुरक्षित उद्धार हुने आशामा सरकारी निकायबाट खोजी तथा उद्धार तीव्र पारिने प्रतीक्षामा छन् ।

भोटेकोशी बाढीपछि बर्दियाका ९० जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको वितण्डा :  कर्णालीका दुई सय

भोटेकोशी बाढीपछि बर्दियाका ९० जना अझै सम्पर्कविहीन

मानसिक स्वास्थ्य सरकारको  प्राथमिकतामा छ : मन्त्री

Leave a comment

Your email address will not be published. Required fields are marked *