कर्णालीबाट भोटेकोशी बाढीपीडितलाई स्वास्थ्य सामग्री र सोलार लाइट सहयोग

सुर्खेत, १५ भदौ
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि कर्णाली प्रदेशबाट स्वास्थ्य सामग्री तथा सोलार लाइट सहयोग गरिएको छ ।
रसायन तथा केमिकल संघ कर्णाली प्रदेशले करिब चार लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्री र सोलार लाइट चितवनस्थित राहत संकलन केन्द्रमा हस्तान्तरण गरेको हो । संघले जिल्ला प्रशासन कार्यालयमार्फत राहत सामग्री हस्तान्तरण गरेको जनाएको छ ।

बाढीका कारण ठूलो जनधनको क्षति भएका क्षेत्रमा तत्काल स्वास्थ्य उपचारका लागि आवश्यक सामग्री तथा विद्युत् अभाव भएका प्रभावित बस्तीमा प्रयोग गर्न सोलार लाइट उपलब्ध गराइएको संघले जनाएको छ । विपद्का कारण प्रभावित नागरिकको दैनिक जीवनयापनमा केही सहजता ल्याउने उद्देश्यले सहयोग गरिएको संघको भनाइ छ । कर्णाली प्रदेशबाट भोटेकोशी–त्रिशूली क्षेत्रका बाढीपीडितका लागि राहत सामग्री संकलन तथा सहयोग अभियानमा सहभागी हुँदै संघले पहिलोपटक यस्तो मानवीय सहयोग गरेको हो । राहत सामग्री हस्तान्तरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसहित रसायन तथा केमिकल संघका महासचिव श्यामकुमार बिष्ट र कार्यसमिति सदस्य तथा सामाजिक अभियन्ता महेन्द्रकुमार थापा सहभागी थिए ।

संघका प्रतिनिधिहरूले विपद्को समयमा पीडित नागरिकको जीवनरक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि मानवीय सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।






