सम्पादकीय : सुरुङभित्र फसेकाको उद्धारमा ढिलाई किन ?

बुधबार (१० भदौ) बिहान भोटेकोसी र त्रिशूली नदी आसपासका बस्तीमा सधैँ झैँ चहलपहल थियो । गृहणी खाना पकाउँदै थिए, विद्यार्थी विद्यालय जाँदै थिए, कर्मचारी कार्यालयतर्फ लाग्दै थिए । जलविद्युत् तथा निर्माण आयोजनामा काम गर्ने मजदुर र कर्मचारी आ–आफ्नो काममा जुटिसकेका थिए । कसैले दसैँमा घर फर्कने योजना बनाइरहेका थिए, कोही तीर्थयात्रा र काम विशेषले गन्तव्यतर्फ लागेका थिए । तर, केही घण्टामै आएको भीषण बाढीले त्यो सामान्य जीवनलाई त्रासदीमा बदलिदियो । रसुवा, नुवाकोट र धादिङका नदी किनारका बस्ती, बजार, सडक र जलविद्युत् आयोजनामा बाढीले ठूलो क्षति पुर्‍यायो। धेरै नागरिक सम्पर्कविहीन भए । अहिले उनीहरूका परिवारको एउटै प्रश्न छ—आफन्त जीवित छन् कि छैनन् ? यो प्रश्नको जवाफ राज्यले जतिसक्दो छिटो दिनुपर्ने अवस्था हो । विशेषगरी जलविद्युत् आयोजनाका सुरुङमा फसेका कर्मचारी र मजदुरको अवस्था चिन्ताजनक छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार रसुवा र नुवाकोटका सञ्चालनमा रहेका तथा निर्माणाधीन ११ आयोजनामा कार्यरत आठ सय ९८ कर्मचारी तथा मजदुरको अवस्था अज्ञात छ । 

कतिपय सुरुङभित्र फसेका छन् । नेपाली सेना उद्धारमा परिचालित भए पनि थुनिएका सुरुङसम्म पुग्न आवश्यक प्रविधि, उपकरण र दक्ष जनशक्तिको अभाव चुनौती बनेको छ । सुरुङभित्र फसेकाहरूका परिवारले चार दिनदेखि आशा र त्रासबीच समय बिताइरहेका छन् । बझाङकी हृदयश्वरी जोशी आफ्ना श्रीमान् हेमन्तराज जोशीको आवाज सुन्न प्रतीक्षारत छन् । जाजरकोटका शेरबहादुर शाही छोरा महेन्द्र शाही सकुशल फर्किने आशामा त्रिशूली पुगेका छन् । यी दुई परिवारको पीडा सयौँ परिवारको साझा पीडा हो । उनीहरूलाई आश्वासन मात्र होइन, परिणाम चाहिएको छ । विपद्का बेला उद्धारको पहिलो घण्टा र पहिलो दिन अत्यन्त महत्त्वपूर्ण हुन्छ । सुरुङभित्र पर्याप्त अक्सिजन हुन सक्ने र तत्काल उद्धार गर्न सकिए जीवन जोगाउन सकिने सम्भावना रहेको सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूले बताइरहेका छन् । यस्तो अवस्थामा प्रविधि वा जनशक्ति अभावलाई उद्धारमा ढिलाइको स्थायी कारण बनाइनु हुँदैन । 

आवश्यक उपकरण देशभित्र उपलब्ध नभए तत्काल बाहिरबाट ल्याउनुपर्छ । निजी क्षेत्र, नेपाली सेना, सुरक्षा निकाय, प्राविधिक तथा अन्तर्राष्ट्रिय उद्धार विज्ञको सहयोग लिन राज्यले कुनै हिचकिचाहट गर्नु हुँदैन । यो विपद् केवल प्राकृतिक प्रकोप होइन, राज्यको विपद् व्यवस्थापन क्षमता परीक्षण गर्ने घडी पनि हो । बाढीको कारण र क्षतिको विस्तृत अध्ययन पछि गरिएला । अहिलेको प्राथमिकता भनेको सम्पर्कविहीन नागरिकको खोजी र सुरुङमा फसेकाहरूको जीवनरक्षा हो । हरेक मिनेट महत्त्वपूर्ण छ । राज्यले परिवारको आशालाई निराशामा बदलिन नदिन सम्पूर्ण स्रोत, साधन र जनशक्ति परिचालन गरी उद्धारलाई युद्धस्तरमा अघि बढाउनुपर्छ । आफन्तको खबर पर्खिरहेका परिवारलाई अनिश्चितताको अँध्यारोमा राखिरहनु हुँदैन । उनीहरूलाई सत्य सूचना र तत्काल उद्धार चाहिएको छ । यही बेला राज्यको उपस्थिति र संवेदनशीलता देखिनुपर्छ । दुखमा परेका नागरिकको समयमै उद्धार गर्न सकिए मात्रै राज्यप्रतिको भरोसा कायम हुनेछ ।

सम्पादकीय :  सुरुङभित्र फसेकाको उद्धारमा ढिलाई किन ?

न पूर्वाधार न विकल्प, निर्णयमा हतारो अनलाइन

Leave a comment

Your email address will not be published. Required fields are marked *