कर्णालीमा भारी वर्षाकाे सम्भावना : कर्मचारीलाई विदामा नबस्नदेखि तिर्थयात्रीलाई सतर्क रहन सरकारकाे आग्रह

सुर्खेत, १० भदौ ।
कर्णाली प्रदेश सरकारले देशका विभिन्न क्षेत्रमा भइरहेको अविरल वर्षा, बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै प्रदेशभर उच्च सतर्कता अपनाउन आह्वान गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको विपद् व्यवस्थापन समन्वयात्मक बैठकले विपद्को जोखिम कायम रहेकाले कार्यालय प्रमुख तथा जिम्मेवार कर्मचारीलाई अत्यावश्यक कामबाहेक विदामा नबस्न निर्देशन दिएको छ । अत्यावश्यक कामले विदामा बस्नुपर्ने अवस्था आएमा अनिवार्य रूपमा वैकल्पिक व्यवस्था मिलाउन भनिएको छ ।
बैठकले रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीबाट कर्णालीका नागरिकसमेत प्रभावित भएको हुन सक्ने भन्दै उनीहरूको अवस्था पहिचान गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिचालन गर्ने निर्णय गरेको छ । कर्णालीका विभिन्न जिल्लाबाट रसुवा पुगेका नागरिकको तथ्याङ्क संकलन गरी उनीहरूका परिवारसँग सम्पर्क स्थापित गर्ने व्यवस्था मिलाउन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरिने भएको छ ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार ११ र १२ भदौमा कर्णालीका पहाडी जिल्लामध्ये दैलेख, सुर्खेत, सल्यान र रुकुम पश्चिमका केही भूभागमा भारी वर्षा हुने सम्भावना छ । सम्भावित वर्षा, बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै उच्च पहाडी तथा हिमाली क्षेत्रमा रहेका तीर्थयात्री र पदयात्रीलाई समेत सतर्क रहन सरकारले आग्रह गरेको छ ।
महाबुधाम (दैलेख), बडिमालिका (बाजुरा), ऋणमोक्ष धाम (मुगु) र ठाकुरज्यू (जुम्ला) लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा यात्रा गरिरहेकाहरूलाई सडक तथा पैदल मार्गको अवस्था र मौसमसम्बन्धी जानकारी लिएर मात्र यात्रा अघि बढाउन सार्वजनिक सूचना जारी गरिएको छ ।
यसैबीच, जाजरकोटका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारका कामलाई तीव्रता दिइएको बैठकले जनाएको छ । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रतिकार्यका लागि सुरक्षा निकाय र सम्बन्धित सबै सरोकारवालालाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको छ ।
बैठकले प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट संकलन हुने विपद्सम्बन्धी विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना बोर्डमा नियमित रूपमा सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ ।





