‘दौडिन्छिन् हजुरआमा’को दोस्रो संस्करण भदौ २१ मा

बाँके ,७ भदौ ।
नेपालगञ्जमा ज्येष्ठ महिलाको स्वास्थ्य, सक्रियता र पुस्तान्तरणलाई जोड दिँदै ‘भन्छिन् हजुरआमा’ अन्तरपुस्ता संवाद पनि हुने
नेपालगञ्ज । ज्येष्ठ नागरिक महिलाको स्वास्थ्य, सक्रिय जीवनशैली, आत्मविश्वास तथा मनोसामाजिक सुस्वास्थ्य प्रवद्र्धन गर्दै पुस्ताबीचको सम्बन्धलाई थप आत्मीय बनाउने उद्देश्यले नेपालगञ्जमा आयोजना हुँदै आएको ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रमको दोस्रो संस्करण आगामी भदौ २१ गते आयोजना हुने भएको छ।
दैनिक नेपालगञ्जको प्रकाशन संस्था सम्यक हब मिडिया प्रालिको आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको सह–आयोजनामा कार्यक्रम हुन लागेको हो। आयोजकका अनुसार आइतबारदेखि कार्यक्रमका लागि सहभागिता दर्ता खुला गरिएको छ। कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन।
कार्यक्रमको रणनीतिक साझेदारका रूपमा धारा नेपालगञ्ज म्याराथनले प्राविधिक जिम्मेवारी सम्हाल्नेछ। आयोजकले ‘दौडिन्छिन् हजुरआमा’लाई केवल प्रतियोगिताका रूपमा नभई ज्येष्ठ महिलाको शारीरिक सक्रियता, आत्मविश्वास, सामाजिक सहभागिता र मनोसामाजिक खुसी प्रवद्र्धन गर्ने सामाजिक अभियानका रूपमा अघि बढाएको जनाएको छ।
कार्यक्रमअन्तर्गत ५० वर्ष उमेर पूरा गरेका हजुरआमाबीच दौड प्रतियोगिता हुनेछ। सहभागीले नेपालगञ्जको बीपी चोकदेखि धम्बोझी चोकसम्मको एक हजार १०० मिटर दूरी पार गर्नेछन्। प्रतियोगितामा जीत–हारभन्दा आफ्नै उमेर र क्षमतामाथि विश्वास गर्दै सक्रिय जीवनको उत्सव मनाउने विषयलाई प्राथमिकता दिइएको आयोजकको भनाइ छ।
दौडअघि स्वास्थ्य शिविरसमेत सञ्चालन गरिनेछ। शिविरमा स्वास्थ्य परामर्श, स्वास्थ्य परीक्षण तथा आधारभूत उपचारको व्यवस्था गरिने आयोजकले जनाएको छ।
गत वर्ष आयोजित पहिलो संस्करणमा ५० वर्षभन्दा माथिका एक सय ५० भन्दा बढी हजुरआमा सहभागी भएका थिए। प्रतियोगितामा नेपालगञ्ज उपमहानगरपालिका–२० नयाँबस्ती थपुवाकी ५५ वर्षीया धनसरा बुढा प्रथम, नन्दमाया वली द्वितीय र नेपालगञ्जकी रेवती सिंह तृतीय भएकी थिइन्। पहिलो संस्करणमा हजुरआमाहरूले देखाएको उत्साह, सहभागिता र आत्मविश्वासले कार्यक्रमलाई थप विस्तार गर्न प्रेरणा दिएको आयोजकको भनाइ छ।
यस वर्ष भने कार्यक्रमलाई दौडमा मात्र सीमित नराखी ‘भन्छिन् हजुरआमा’ नामक अन्तरपुस्ता संवादसमेत आयोजना गरिने भएको छ। संवादमा ५० वर्ष पार गरेका हजुरआमा र नयाँ पुस्ताका ५० भन्दा बढी छोरीबीच प्रत्यक्ष संवाद हुनेछ।
हजुरआमाले आफ्ना जीवनका सङ्घर्ष, अनुभव, सपना, सिकाइ र भोगाइ सुनाउनेछन् भने नयाँ पुस्ताले ती अनुभव सुन्ने, बुझ्ने र संवादमार्फत सम्बन्धलाई नयाँ अर्थ दिने अवसर पाउनेछन्।
आयोजकका अनुसार पुस्तान्तरण सम्पत्ति वा ज्ञानको हस्तान्तरणमा मात्र सीमित हुँदैन, जीवन भोगाइ, भावना र अनुभवको हस्तान्तरण पनि उत्तिकै महत्वपूर्ण हुन्छ। हजुरआमाका अनुभव र कथालाई नयाँ पुस्तासम्म पुर्याउँदै परिवार, समाज र इतिहाससँग जोड्ने तथा पुस्ताबीचको भावनात्मक दूरी घटाउने उद्देश्यले अन्तरपुस्ता संवाद आयोजना गर्न लागिएको हो।
द गोल्डेन ग्रान्डमाकी संयोजक सजल गैरेले आगामी दिनमा अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै ज्येष्ठ नागरिक महिलाको स्वास्थ्य, सामाजिक सहभागिता, आत्मविश्वास र अन्तरपुस्ता सम्बन्धसँग जोडिएको वार्षिक कार्यक्रमका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताउनुभयो।
आयोजकले कार्यक्रममा सहभागी हुन हजुरआमा, नयाँ पुस्ताका छोरी, परिवार, विद्यालय, सामाजिक सङ्घसंस्था, निजी क्षेत्र, पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा सम्पूर्ण शुभेच्छुकलाई आग्रह गरेको छ।
‘दौडिन्छिन् हजुरआमा’ले ज्येष्ठ महिलालाई सक्रिय र आत्मविश्वासी बनाउँदै स्वस्थ बुढ्यौलीको प्रवद्र्धन र पुस्ताबीचको सम्बन्धलाई थप आत्मीय बनाउने अभियानका रूपमा आफ्नो पहिचान विस्तार गर्दै गएको आयोजकको भनाइ छ।






