कर्मचारीको बेवास्ताले कभर्ड हल गौचरनमा परिणत

बर्दिया,७ भदौ । 
जिल्ला खेलकुद विकास समिति, बर्दियाको अधीनमा रहेको गुलरिया नगरपालिका–४ तुलापुरस्थित कभर्ड हल तथा खेलकुद मैदान कर्मचारीको बेवास्ताका कारण अस्तव्यस्त बनेको छ । खेलाडीका लागि आवश्यक पिउने पानी, विद्युत् र शौचालयजस्ता आधारभूत सुविधा नहुँदा खेलाडीले सास्ती व्यहोर्नुपरेको छ भने खेलकुद मैदानसमेत पशु चौपाया चराउने र सवारीसाधन सिकाउने स्थलमा परिणत भएको छ ।
कभर्ड हलमा कर्मचारी बस्नका लागि निर्माण गरिएको आवास भए पनि लामो समयदेखि प्रयोगविहीन हुँदा जीर्ण बनेको छ । कभर्ड हलको शौचालयसमेत अज्ञात समूहले तोडफोड गरेको लामो समय भइसक्दा पनि मर्मत हुन सकेको छैन । शौचालय प्रयोग गर्न नपाउँदा खेलाडीलाई समस्या हुने गरेको छ ।
एथलेटिक्स खेलाडी गोपिन्द्र सुनारले कभर्ड हल खेलकुद गतिविधिभन्दा गौचरनका रूपमा प्रयोग भइरहेको गुनासो गरे । उनका अनुसार कभर्ड हलमा विद्युत्, पिउने पानी र शौचालयको समेत व्यवस्था छैन । “पानी पिउन नजिकैको बबई क्याम्पस जान खोज्दा पनि सहज हुँदैन,” उनले भने ।
कभर्ड हल सुरक्षाविहीन हुँदा वरपरको तारबारसमेत भत्काइएको छ । तारबार भत्काएर पशु चौपायालाई मैदानमा ल्याउने बाटो बनाइएको खेलाडीको भनाइ छ । अस्तव्यस्त मैदानमा गाडी सिकाउने कामसमेत हुने गरेको उनीहरूको गुनासो छ ।
खेलाडी हिम विकले कभर्ड हल बेवारिसजस्तै बनेकाले जसले जे मन लाग्यो त्यही गर्ने अवस्था आएको बताए । “खेल्न आएका खेलाडीका लागि कुनै प्रशिक्षक आउँदैनन्,” उनले भने, “कभर्ड हलदेखि करिब पाँच सय मिटरको दूरीमा जिल्ला खेलकुद विकास समितिको कार्यालय छ, तर कर्मचारीले कभर्ड हलको अनुगमनसमेत गर्दैनन् ।”
जिल्लास्तरीय विभिन्न प्रतियोगिता सञ्चालन हुने कभर्ड हलको ट्र्याकसमेत निर्माण भएको पाँच वर्षमै जीर्ण बनेको छ । बर्दियामा आयोजना हुने फुटबल, भलिबल, कराते, तेक्वान्दो, दौडलगायतका प्रतियोगिता यही मैदानमा सञ्चालन हुँदै आएका छन् ।
वि.सं. २०३६ सालमा जिल्ला खेलकुद विकास समितिको सात बिघाभन्दा बढी जग्गामा कभर्ड हल तथा खेलकुद मैदान निर्माण गरिएको थियो । कर्मचारीका लागि निर्माण गरिएको आवास र कार्यालय सञ्चालनमा नआएको करिब दुई दशक भइसकेको छ । लामो समयदेखि विद्युत् महसुल नतिरेका कारण विद्युत् लाइन काटिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
कभर्ड हल र मैदानको मर्मत तथा संरक्षणका लागि पर्याप्त बजेट नभएको भन्दै समिति पन्छिने गरेको खेलाडीको आरोप छ । जिल्ला खेलकुद विकास समितिका प्रमुख भुपेन्द्र पुनमगरले बजेट अभावकै कारण मैदान र कभर्ड हलको आवश्यक मर्मतसम्भार गर्न नसकिएको बताए ।
एथलेटिक्स खेलाडी दिपेश दहितले करिब दुई दशकदेखि कभर्ड हलको उचित स्याहारसम्भार हुन नसकेको गुनासो गरे । “समितिका कर्मचारीले कभर्ड हलको चौरमा चौपाया चराउने काम बन्द गरिदिए हुन्थ्यो,” उनले भने, “खेलाडीका लागि पिउने पानीको व्यवस्था अविलम्ब हुनुपर्छ ।”
यसैबीच, आगामी मंसिर १६ देखि २९ गतेसम्म दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने तयारी भइरहँदा बर्दियाको खेलकुद पूर्वाधार र जनशक्तिको अवस्था भने कमजोर देखिएको छ । जिल्लामा जुडो र तेक्वान्दोबाहेक अन्य खेलका प्रशिक्षकको अभाव छ । एथलेटिक्स, कराते, उसु, फुटबल, क्रिकेट, खोखो, ब्याडमिन्टन, कुस्ती, बक्सिङ तथा भारोत्तोलनलगायतका खेल प्रशिक्षकविहीन छन् ।
जिल्ला खेलकुद विकास समितिका अनुसार उसु, कराते, तेक्वान्दोलगायत चार प्रशिक्षकको दरबन्दी रिक्त छ । प्रतियोगिता हुने समयमा मात्र खेलकुद गतिविधिमा ध्यान जाने र नियमित प्रशिक्षकसमेत नआउँदा खेलाडीले नियमित अभ्यास गर्न नपाएको गुनासो गरेका छन् ।
समितिका प्रमुख पुनमगरले प्रशिक्षकको व्यवस्थाका लागि केन्द्रसँग पटक–पटक माग गरिए पनि हालसम्म प्रशिक्षक पठाउन नसकिएको बताए । राष्ट्रियस्तरको प्रतियोगिता नजिकिँदै गर्दा खेलाडीको नियमित प्रशिक्षण, खेलमैदानको संरक्षण तथा आवश्यक भौतिक पूर्वाधारको तत्काल व्यवस्थापन गर्नुपर्ने माग खेलाडीहरूले गरेका छन् ।
कर्मचारीको बेवास्ताले कभर्ड हल गौचरनमा परिणत

साउनमा एक खर्ब ८७ अर्बको आयात, ३८

Leave a comment

Your email address will not be published. Required fields are marked *