बालविवाह न्यूनीकरण र बाल संरक्षणमा बर्दियाका सात स्थानीय तहको प्रतिबद्धता

बर्दिया ,३ भदौ।
बालविवाह न्यूनीकरण, बाल संरक्षण तथा समावेशी समाज निर्माणका लागि बर्दियाका सातवटा स्थानीय तहमा पालिकास्तरीय अभिमुखीकरण तथा परियोजना परिचयात्मक बैठक सम्पन्न भएका छन्।
प्लान इन्टरनेसनल नेपालको सहयोग तथा बाँके युनेस्को क्लब (BUC) र राधाकृष्ण थारू जनसेवा केन्द्र (RKJS) को संयुक्त साझेदारीमा सञ्चालन भइरहेको ‘सेफ फ्युचर प्रोजेक्ट’ अन्तर्गत गुलरिया, मधुवन, राजापुर, बारबर्दिया र ठाकुरबाबा नगरपालिका तथा बढैयाताल र गेरुवा गाउँपालिकामा बैठक आयोजना गरिएको हो।


बैठकमा स्थानीय तहका जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख, सरकारी निकायका प्रतिनिधि, समुदायका अगुवा तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा परियोजनाका उद्देश्य, प्राथमिकता, अपेक्षित उपलब्धि तथा बालबालिका र युवासँग सम्बन्धित विषयमा छलफल गरिएको थियो।
विशेषगरी एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) को तथ्याङ्क अद्यावधिक, तथ्याङ्कमा आधारित योजना निर्माण तथा प्रभावकारी कार्यान्वयनका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो। स्थानीय तहमा उपलब्ध तथ्याङ्कलाई व्यवस्थित, अद्यावधिक र प्रयोगयोग्य बनाउँदै बालबालिका, किशोरकिशोरी तथा युवासम्बन्धी नीति, योजना, बजेट र कार्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।


बैठकले गुणस्तरीय तथ्याङ्क, प्रभावकारी समन्वय, जवाफदेही साझेदारी र समुदायको अर्थपूर्ण सहभागितालाई बालविवाहमुक्त तथा सुरक्षित स्थानीय तह निर्माणका मुख्य आधारका रूपमा अघि बढाउने निष्कर्ष निकालेको छ।
परियोजनाअन्तर्गत तालिम प्राप्त युवाले हासिल गरेको ज्ञान र सीपलाई आफ्नै समुदायमा व्यवहारमा प्रयोग गर्दै उनीहरूलाई सामाजिक परिवर्तनका संवाहकका रूपमा परिचालन गर्ने विषयमा समेत सहमति भएको छ। स्थानीय सरकार, विद्यालय, समुदाय तथा विकास साझेदारबीच निरन्तर संवाद र सहकार्य कायम राखी बालबालिका तथा युवाले सामना गरिरहेका जोखिमको समयमै पहिचान र समाधान गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।
यसैगरी, बाल संरक्षणसम्बन्धी संरचनागत प्रणालीलाई थप सुदृढ बनाउँदै बालबालिका र युवाका लागि सुरक्षित तथा समावेशी वातावरण निर्माण गर्ने प्रतिबद्धता स्थानीय जनप्रतिनिधिहरूले व्यक्त गरेका छन्।


विशेषगरी २० वर्षभन्दा कम उमेरमा हुने बालविवाह रोक्न स्थानीय बाल अधिकार समितिलाई थप सक्रिय र प्रभावकारी बनाउँदै समुदायस्तरसम्म परिचालन गर्ने प्रतिबद्धता जनाइएको छ। बालविवाहका घटना पहिचान, अभिलेखीकरण तथा रोकथामका लागि प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्ने सहमति पनि भएको छ।


त्यस्तै, समुदायमा बढ्दो लागूऔषध दुर्व्यसनबाट बालबालिका तथा युवालाई जोगाउन सामुदायिक प्रहरीसँगको सहकार्यमा निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र जोखिममा रहेका बालबालिका तथा युवालाई आवश्यक परामर्श र सहयोग उपलब्ध गराउने विषयमा समेत छलफल भएको छ।


स्थानीय सरकार, समुदाय, विद्यालय र विकास साझेदार संस्थाबीच साझा जिम्मेवारी र सहकार्य बलियो बनाउन सके बालविवाहमुक्त, लागूऔषधमुक्त, सुरक्षित तथा समावेशी समुदाय निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास बैठकमा व्यक्त गरिएको छ।

बालविवाह न्यूनीकरण र बाल संरक्षणमा बर्दियाका सात स्थानीय तहको प्रतिबद्धता

औद्योगिक सुरक्षा बल स्थापना गरिँदै 

Leave a comment

Your email address will not be published. Required fields are marked *