खस सभ्यताको धरोहर जोगाउँदै:जुम्लाको सिँजा गाउँपालिका

गाेल्डेन बुढा

जुम्ला ,१ साउन ।
देशभर साउने सङ्क्रान्ति ऋतु परिवर्तन, कृषि चक्र र धार्मिक आस्थासँग जोडिएर मनाइरहेका बेला जुम्लाको सिँजा भने आफ्नै इतिहास, सभ्यता र पहिचानलाई पुनर्जीवित गर्ने उत्सवमा रमाएको छ। नेपाली (खस) भाषाको उद्गमस्थल मानिने सिँजामा साउने सङ्क्रान्तिको अवसरमा खस दिवस तथा खस नयाँ वर्ष मनाइयो। यहाँ यो दिन पर्व होइन, सयौँ वर्षदेखि निरन्तर बाँचिरहेको खस सभ्यता, भाषा, संस्कृति, सामाजिक व्यवस्थापन र सामुदायिक जीवनपद्धतिको सार्वजनिक पुनःघोषणा पनि हो।सिँजा गाउँपालिकाले २०७९ सालदेखि साउने सङ्क्रान्तिलाई औपचारिक रूपमा खस दिवसका रूपमा मनाउँदै आएको छ। गाउँपालिकाले हरेक वर्ष यस दिन सार्वजनिक बिदा दिँदै आएको छ। गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार खस सभ्यताको संरक्षण र नयाँ पुस्तामा यसको ऐतिहासिक चेतना हस्तान्तरण गर्ने उद्देश्यले यो परम्परालाई संस्थागत गरिएको हो।बेला बखत गाउँपालिका केन्द्र नराकोटमा बृहत् हाटबजार तथा सांस्कृतिक कार्यक्रम आयोजना गरियो। गाउँबस्तीका महिला–पुरुषहरू परम्परागत खस पोशाकमा सजिएर आफ्नै खेतबारीमा उत्पादन भएका रैथाने कृषि उपज बोकेर हाटबजारमा सहभागी हुन्थे।

स्थानीय उत्पादनको प्रदर्शन मात्र नभई यसले पुर्खाहरूको कृषि संस्कृति, श्रम र आत्मनिर्भर जीवनशैलीप्रतिको सम्मानलाई समेत जीवन्त बनाएको अध्यक्ष धिताल बताउँछन्।उनका अनुसार साउने सङ्क्रान्ति खस समुदायको सबैभन्दा महत्वपूर्ण सांस्कृतिक पर्वमध्ये एक हो। “यो दिनलाई खस नयाँ वर्षको सुरुआतका रूपमा मात्र होइन, सामाजिक, आर्थिक, सांस्कृतिक र पर्यावरणीय व्यवस्थापनसँग जोडिएको ऐतिहासिक दिनका रूपमा व्याख्या गर्ने चलन छ,” अध्यक्ष धितालले भने।खस समाजमा साउने सङ्क्रान्ति पात्रो फेरिने दिन थिएन। यही दिन गाउँको ठेकथिति बाँधिन्थ्यो, आगामी वर्षका नीति तय हुन्थे, सामुदायिक नियमहरू बनाइन्थे र गाई, भेडा, भैँसी तथा घोडाजस्ता चौपायालाई कुन लेक, खर्क र पाटनमा लैजाने भन्ने सामूहिक निर्णय गरिन्थ्यो। कर्णालीका धेरै गाउँमा यो परम्परा अहिले पनि जीवित रहेको अध्यक्ष धितालको भनाइ छ।यो पर्व आर्थिक अनुशासनसँग पनि उत्तिकै गाँसिएको छ। गाउँको आय–व्यय, दण्ड–जरिवाना, दस्तुर तथा अन्य आर्थिक कारोबारको हिसाब–किताब मिलाउने, बाँकी रकम असुलउपर गर्ने र सामुदायिक उत्तरदायित्व सुनिश्चित गर्ने दिनका रूपमा पनि साउने सङ्क्रान्ति स्थापित थियो। गाउँपालिकाले यही ऐतिहासिक अभ्यासको सम्मान गर्दै यस दिनलाई खस दिवसका रूपमा मनाउन थालेको हो।साउने सङ्क्रान्ति प्रकृति र पर्यटनसँग पनि गहिरोसँग जोडिएको छ। “अल्का लेक जाउला, चिसो पानी खाउला” भन्ने उक्ति आज पनि सिँजा र कर्णालीका गाउँमा उत्तिकै लोकप्रिय छ। बेंसीको गर्मी छोडेर किसानहरू लेक, खर्क र पाटनतर्फ उक्लने, पशुपालन गर्ने, लेकाली तरकारी र फलफूल खाने, चिसो मुहानको पानी पिउने, दुग्धजन्य परिकारको स्वाद लिने तथा वनजङ्गलमा फुलेका रङ्गीचङ्गी फूल र हिमाली प्राकृतिक सौन्दर्यसँग साक्षात्कार गर्ने परम्परा यही दिनदेखि सुरु हुने विश्वास छ।स्थानीय किसान प्रेमबहादुर बुढाका अनुसार रोपाइँ र गोडमेलजस्ता कठोर कृषि कार्यपछि साउने सङ्क्रान्तिमा घर–आँगन सफा गर्ने, पुराना फोहोर हटाउने र ‘लुतो फाल्ने’ परम्परा रहेको छ।

“यसले शरीर र मन दुवै शुद्ध भई नयाँ ऊर्जा प्राप्त होस् भन्ने सांस्कृतिक विश्वास बोकेको छ,” उनले भने।साँझ घर–घरमा राँका (मशाल) बाल्ने परम्परा पनि यस पर्वको अर्को विशिष्ट पक्ष हो। विजय, साहस र सामुदायिक एकताको प्रतीकका रूपमा राँका बाल्ने, दोहोरी गाउने, हाँसो–ठट्टा गर्ने र सामूहिक रूपमा रमाउने चलनले खस संस्कृतिको जीवन्त स्वरूपलाई अझ बलियो बनाइरहेको छ।सिँजा नेपाली (खस) भाषाको उद्गमस्थल तथा खस सभ्यताको केन्द्र भएकाले यसको इतिहास, भाषा, संस्कृति र मौलिक परम्पराको संरक्षण राज्यको साझा दायित्व हुनुपर्नेमा स्थानीय बताउँछन्।

उनीहरूले खस सभ्यतासँग सम्बन्धित सांस्कृतिक सम्पदाको संरक्षण, अध्ययन–अनुसन्धान र नयाँ पुस्तामा यसको ज्ञान हस्तान्तरण गर्न तीनै तहका सरकार तथा सरोकारवाला निकायले प्रभावकारी पहल गर्नुपर्ने माग गरेका छन्।जुम्लाका आठ वटै स्थानीय तहमध्ये सिँजा गाउँपालिकाले मात्रै हरेक वर्ष साउने सङ्क्रान्तिलाई खस दिवसका रूपमा औपचारिक रूपमा मनाउँदै आएको छ। इतिहासका अनेक उतारचढावबीच पनि सिँजाले आफ्ना मौलिक परम्परा जोगाइरहेको यो उत्सवले खस सभ्यता केवल इतिहासका पानामा सीमित नभई आज पनि जनजीवनमा जीवित छ।

खस सभ्यताको धरोहर जोगाउँदै:जुम्लाको सिँजा गाउँपालिका

कर्णालीमा राँको बाल्दै मनाइयो साउने संक्रान्ति

Leave a comment

Your email address will not be published. Required fields are marked *