खानेपानीमा सारदा नगरपालिकाको लगानी जर्खु र खैरावाङ लिफ्टले १७ हजार जनसंख्यामा  पुग्दैछ दीगो र स्वच्छ खानेपानीको पहुँच 

ओम शाही

सुर्खेत, २२ असार ।

सल्यानको सारदा नगरपालिकाका दुई हजार ६ सय ८५ घरधुरीमा दीगो र स्वच्छ खानेपानीको पहँुच विस्तार गर्न अघि बढाइएको जर्खु लिफ्टिङ खानेपानी आयोजनाले ३५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । यो आयोजनाले पूर्णता पाए सारदा नगरपालिकाका सात वडाका १० हजार सात सय ४० जनसंख्यामा सहज खानेपानीको पहँुच विस्तार हुनेछ ।

संघीय खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनामार्फत भ्याटसहित ४२ करोड लागतको जर्खु खानेपानी आयोजना कार्यान्वयन भइरहेको छ ।

आगामी वर्ष सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढेको यो आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण ऋण अनुदान छ भने आयोजना कार्यान्वयनको नेतृत्व सारदा नगरपालिकाले गरिरहेको छ । संघीयता कार्यान्वयन पश्चात तीनै तहका सरकारको लागत साझेदारीमा आयोजना कार्यान्वयन भइरहेको हो । जसमा ८० प्रतिशत संघ, १३ प्रतिशत प्रदेश र सात प्रतिशत सारदा नगरपालिकाको लागत साझेदारी छ ।

लागत साझेदारी अन्तर्गत नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा स्वच्छ खानेपानी तथा सरसफाइ सेवामा नागरिकको पहुँच विस्तार गर्न निर्माणाधीन तथा प्रस्तावित खानेपानी आयोजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न ४५ करोड ७२ लाख ५० हजार बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारले पनि आगामी वर्षका लागि सुर्खेतको भेरी लिफ्ट र जर्खु खानेपानीका लागि ३० करोड बजेट व्यवस्थपन गरको छ ।

विश्व बैंकको ऋण सहयोग तथा प्रदेश र स्थानीय तहको लागत साझेदारीमा कर्णाली र सुदूर पश्चिम प्रदेशका ६ वटा पालिकाहरु (सुर्खेत वीरेन्द्रनगर नगरपालिका, सल्यानको शारदा नगरपालिका, डोटीको दिपायल सिलगढी नगरपालिका तथा कैलालीको बर्दगोरिया, जोशीपुर र जानकी गाउँपालिका) मा दीगो तथा सुधारिएको खानेपानी आपूर्ति र सरसफाइ सेवा उपलब्ध गराउने एवं सेवा प्रवाहको स्थानीय क्षमतामा अभिवृद्धि गर्ने लक्ष्यका साथ यो कार्यक्रम आर्थिक वर्ष २०७८/०७९ बाट लागु भएको थियो ।

यस आयोजनाको कुल लागत एक सय मिलियन अमेरिकी डलर छ भने विश्व बैंकबाट प्राप्त हुने ८० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋणका रुपमा लगानी भइरहेको छ । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत शारदा आयोजना कार्यान्वयन इकाईका परियोजना व्यवस्थापक दिपक महर्जनले हालसम्म आयोजनाले ३५ प्रतिशत भौतिक प्रगति हाँसिल गरेको बताए ।

उनका अनुसार सारदा नगरपालिका–१० स्थित जर्खु मुलबाट लिफ्ट प्रविधिको प्रयोग गरी सोही वडाको शिद्ध पार्कमा निर्माण हुने चार लाख लिटर क्षमताको मुख्य ट्याङ्कीमा पानी भण्डारण गरिनेछ ।

त्यसपश्चात वडा नम्बर ४, ५, ६, ८, ९ र १० का प्रत्येक घरधुरीमा खानेपानी पुर्‍याइने छ । महर्जनका अनुसार मुहानदेखि मुख्य ट्याङ्की शिद्ध पार्कसम्म ५.५ किलोमिटर उच्च गुणस्तरको डीआई पाइप विस्तार गरिने छ भने यो दुरीमा पाँच स्थानमा लिफ्ट प्रविधि जडान हुनेछन् ।

अहिले जर्खु मुहान क्षेत्रमा इन्टेक, पानी प्रशोद्धन प्लाण्ट, मुहानबाट मुख्य ट्याङ्की क्षेत्रसम्म डीआई पाइप बिच्छ्याउनेदेखि शिद्ध पार्कमा चार लाख लिट क्षमताको पानी भण्डारण ट्याङ्की निर्माणाधिन अवस्थामा छन् ।

आयोजनाको मुख्य प्रशारण लाईन अन्तर्गत लिफ्ट प्रविधि राखिने पाँच स्थानमा दुई लाख लिटर क्षमताका ट्याङ्कीसमेत निर्माण भइरहेको आयोजनाले जनाएको छ । हालसम्म प्रत्येक घरधुरीमा पानी पुर्‍याउन विस्तार हुने ९९ किलोमिटर मध्ये ४२ किलोमिटरमा पाइप बिच्छ्याउने कार्य सम्पन्न भएको छ । आयोजना निर्माण भए पश्चात ११ केभी विद्युतको सहायताले प्रति सेकण्ड ११ लिटर पानी लिफ्ट गरी नागरिकको घरसम्म पुर्‍याउने लक्ष्य राखिएको सारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले बताए ।

भण्डारीका अनुसार यो आयोजनाले नसमेटिने नगरका अन्य क्षेत्रमा ठुला लगानीका आयोजना पनि निर्माणाधिन अवस्थामा छन् । उनले वडा नम्बर १, ११, १२ का ११ सय ९९ घरधुरीमा बसोवास गर्ने ६ हजार पाँच सय ३८ जनसंख्यालाई खानेपानीको पहँुचमा पुर्‍याउन खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनामार्फत नै खैरावाङ सामुदायिक खानेपानी आयोजना गएको बैशाखबाट निर्माण थालिएको बताए ।

२५ करोड ४३ लाख लागत रहेको  उक्त आयोजना आगामी ७ भदौ २०८४ सम्म सञ्चालनमा आइसक्ने छ । यो आयोजनामा हालसम्मको भौतिक प्रगति १२ प्रतिशत छ । आयोजनाका ट्याङ्की, भवन लगायतका ठुला संरचना निर्माणको काम जारी रहेको नगर प्रमुख भण्डारीले बताए । उनका अनुसार वडा नम्बर १ स्थित सारदा नदीको किनारमा बोरिङ गरेर झण्डै साढे पाँच किलोमिटर पाइप लाईनमार्फत मुख्य ट्याङ्कीमा पुर्‍याइने पानी ५२ किलोमिटर लामो पाइप सञ्जालबाट प्रत्येक घरधुरीमा खानेपानका धारा जडान गर्ने लक्ष्य छ ।

उनी भन्छन्, ‘नगरपालिकामा कार्यान्वयन भइरहेका खानेपानी आयोजनाले अबको एक वर्षमा सबै नागरिकलाई दीगो र स्वच्छ खानेपानीकोे पुहँच विस्तार हुँदैछ । सारदा नगरपालिकाको भौगोलिक अवस्थितीका कारण लिफ्ट प्रविधिबाट खानेपानीको आपूर्ति गर्ने प्रयासमा म निर्वाचित भएर आएदेखि नै गरिरहेको छँु । खानेपानीको सहज आपूूर्तिमा समस्या भएका क्षेत्रमा साना लगानीका लिफ्ट खानेपानी बनाएर नगरवासीलाई खानेपानीको पहुँचमा पुर्‍याने प्रयास निरन्तर जारी छ ।’

चार वर्षको अवधिमा नगरपालिका भर खानेपानीका क्षेत्रमा ठुलो लगानी भइरहेको उनको दावी छ । जर्खु र खैरावाङ लिफ्ट खानेपानी  आयोजनाले पूर्णता पाए पश्चात १७ हजार दुई ७८ जनसंख्यामा दीगो तथा सुधारिएको खानेपानीको पहुँच विस्तार हुने नगर प्रमुख भण्डारीले बताए । सीमित स्रोत र साधनका बिच नागरिकका आधारभूूत आवश्यकताहरु शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि लगायतका क्षेत्रमा नगरपालिकाले लगानी बढाउँदै लगेको भण्डारीले बताए ।

खानेपानीमा सारदा नगरपालिकाको लगानी  जर्खु र खैरावाङ लिफ्टले १७ हजार जनसंख्यामा   पुग्दैछ दीगो र स्वच्छ खानेपानीको पहुँच 

सम्पादकीय : कर्णाली कहिले बन्ला ऊर्जा उत्पादनको

खानेपानीमा सारदा नगरपालिकाको लगानी  जर्खु र खैरावाङ लिफ्टले १७ हजार जनसंख्यामा   पुग्दैछ दीगो र स्वच्छ खानेपानीको पहुँच 

चार दिनसम्म पनि भेटिएन कर्णालीमा खसेको फोर्स

Leave a comment

Your email address will not be published. Required fields are marked *