पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याडले बदलिँदै रास्कोटका किशोरीहरूको नयाँ साेच -सहयोग र अवसर मिल्छ, तब परिवर्तन

हस्त चाैलागाईं
कालिकाेट,५ बैशाख ।
रास्कोट नगरपालिका मा किशोरी स्वास्थ्य, सरसफाइ र आत्मविश्वाससँग जोडिएको महत्वपूर्ण कार्यक्रमहरु सम्पन्न भएका छन् ।
रास्कोट नगरपालिकाका विभिन्न बिद्यालय र समुदाय स्तरमा विद्यार्थीहरूद्वारा पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड प्रदर्शन कार्यक्रम हुँदा सहभागी किशोरीहरू हर्षित देखिएका छन्।
महिनावारीलाई लाज, डर र संकोचको विषय ठान्ने पुरानो सोचलाई चुनौती दिँदै किशोरीहरू खुला रूपमा सहभागी हुँदै आएका छन् ।
कार्यक्रममा पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड कसरी प्रयोग गर्ने, कसरी सफा राख्ने, कसरी सुकाउने र स्वास्थ्य सुरक्षामा यसले कस्तो भूमिका खेल्छ भन्ने विषयमा जानकारी दिइएको मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेकका उपाध्यक्ष खडानन्द अधिकारीले जानकारी दिए ।
सहभागी किशोरीहरूले यस्ता सामग्री गाउँमै उपलब्ध भए आफूहरूलाई निकै सहज हुने बताएका छन्।

रास्कोट नगरपालिका वडा नं. ९ निवासी १८ वर्षीया कोकिला महत भन्छन “पहिला महिनावारी हुँदा विद्यालय जान पनि डर लाग्थ्यो, असहज हुन्थ्यो। अब यस्तो पुनः प्रयोग गर्न मिल्ने प्याडबारे थाहा पाएपछि आत्मविश्वास बढेको छ। खर्च पनि कम हुने र बारम्बार किन्न नपर्ने भएकाले हाम्रो लागि धेरै उपयोगी लाग्यो।”

त्यस्तै रास्कोट नगरपालिका वडा नं. ६ की १८ वर्षीया सीता धमलाले आफ्नो खुसी व्यक्त गर्दै भनिन्, “हामी गाउँका छोरीहरूका लागि यस्तो कार्यक्रम धेरै जरुरी थियो। महिनावारी प्राकृतिक प्रक्रिया हो भन्ने बुझाइ बढेको छ। अब हामी लुकाएर होइन, खुलेर स्वास्थ्यका कुरा गर्न सक्छौँ।”
रास्कोट नगरपालिका वडा नं. १ निवासी बिनिता लुवार पनि कार्यक्रमबाट निकै उत्साहित देखिन्थिन्। उनले भनिन्, “पहिला यस्तो सामग्री शहरमा मात्र पाइन्छ जस्तो लाग्थ्यो। अहिले आफ्नै ठाउँमा सिक्न र बुझ्न पाउँदा खुशी लागेको छ। यसले धेरै किशोरीको जीवन सहज बनाउँछ।”


स्थानीय किशोरीहरूका अनुसार महिनावारीका बेला विद्यालय छुट्ने, असहज महसुस हुने, पुराना कपडा प्रयोग गर्नुपर्ने तथा सरसफाइको समस्या झेल्नुपर्ने अवस्था अझै धेरै ठाउँमा रहेको छ। यस्ता चुनौती कम गर्न पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड प्रभावकारी विकल्प बन्न सक्ने सहभागीहरूको भनाइ छ।
कार्यक्रम प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग, मानवअधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल को सहजीकरण तथा रास्कोट नगरपालिका को समन्वयमा सञ्चालित रास्कोट महिनावारी तथा खानेपानी, सरसफाइ स्वच्छता सुधार परियोजना अन्तर्गत
कार्यक्रम गरिएकाे हाे ।
कार्यक्रमले किशोरीहरूमा स्वास्थ्य सचेतना बढाउनुका साथै वातावरणमैत्री सामग्रीको प्रयोगतर्फ पनि प्रेरित गरेको छ। एक पटक प्रयोग गरेर फालिने सामग्रीको सट्टा पुनः प्रयोग गर्न मिल्ने प्याडले खर्च बचत, वातावरण संरक्षण र दीर्घकालीन सहजता दिने विश्वास गरिएको छ।
गाउँका किशोरीहरूको अनुहारमा देखिएको मुस्कानले स्पष्ट सन्देश दिएको थियो । जब सही जानकारी, सहयोग र अवसर मिल्छ, तब परिवर्तन टाढा हुँदैन। रास्कोटका किशोरीहरू अब संकोच होइन, सचेतना र आत्मविश्वासतर्फ अघि बढिरहेका छन्।

पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याडले बदलिँदै रास्कोटका किशोरीहरूको नयाँ साेच -सहयोग र अवसर मिल्छ, तब परिवर्तन

चर्चा धेरै हुन्छ तर लुम्बिनीबाट  सर्दैनन् कर्णालीका

पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याडले बदलिँदै रास्कोटका किशोरीहरूको नयाँ साेच -सहयोग र अवसर मिल्छ, तब परिवर्तन

बाँकेमा हिंसाका घटना बढ्दो चिन्ता, एक महिनामै

Leave a comment

Your email address will not be published. Required fields are marked *