सम्पादकीय : भेरी लिफ्टमा विलम्ब नहोस् !

वीरेन्द्रनगर आज कर्णाली प्रदेशको राजधानी हो । तर राजधानीको पहिचानसँग मेल खाने आधारभूत सेवा अझै सुनिश्चित हुन सकेको छैन । खानेपानीजस्तो आधारभूत आवश्यकता नै अनियमित हुँदा नागरिकले जारको पानी किनेर जीवन धान्नुपर्ने अवस्था आफैंमा विडम्बनापूर्ण छ । धारामा पानी आउने समय थाहा नहुने शहरलाई आधुनिक शहरीकरणको उदाहरण भन्न मिल्दैन । यस्तो परिस्थितिमा भेरी लिफ्ट खानेपानी आयोजना आशाको किरण बनेर आएको छ । संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा अघि बढिरहेको यो आयोजना केवल पूर्वाधार निर्माण मात्र होइन, वीरेन्द्रनगरको भविष्यसँग जोडिएको जीवनरेखा हो । पाँच सय ६० लिटर प्रतिसेकेण्ड पानी ल्याउने लक्ष्यले दीर्घकालीन समाधान दिने अपेक्षा गरिएको छ । तर प्रश्न उठ्छ—के यो अपेक्षा समयमै पूरा हुन्छ ? नेपालमा ठूला आयोजना ढिलाइ, लागत वृद्धि र कार्यान्वयन कमजोरीका कारण आलोचनाको केन्द्रमा पर्ने गरेका छन् ।

भेरी लिफ्ट आयोजना पनि त्यही नियतिको शिकार नहोला भन्ने सुनिश्चितता आवश्यक छ । हाल २० प्रतिशत भौतिक प्रगति भएको भनिए पनि बाँकी कामको गति, गुणस्तर र पारदर्शिता महत्वपूर्ण पक्ष हुन् । वीरेन्द्रनगरमा खानेपानीको समस्या अहिलेको भने होइन । २०५७ सालमा स्थापना भएको झुप्रा बृहत हालको सुर्खेत उपत्यका खानेपानी संस्थाले वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्दै आइरहेको छ । तत्कालिन सयममा झुप्रा बृहतको डिजाइनमा २०७१ सम्म बढ्न सक्ने एक लाख चार हजार जनसंख्यालाई आधार मानिएका थियो । २०६० सालमा वीरेन्द्रनगरको कुल जनसंख्या ५४ हजार थियो । झुप्रा बृहत खानेपानी आयोजना निर्माणपछि वीरेन्द्रनगरमा २०६४ सम्म खानेपानीको सहज आपूर्ति हुन्थ्यो । तर, २०६१/२०६२ मा तत्कालिन नेकपा माओवादी र राज्य पक्षबीच चलेको सशस्त्र युद्ध चरम उत्कर्षमा पुगेको थियो । सोही समयमा सुरक्षाका कारण वीरेन्द्रनगर बसाईँ सर्नेको संख्या ह्वात्तै बढ्यो । जसका कारण २०७१ मा एक लाख चार हजार जनसंख्या पुग्ने आँकलन गरिएकोमा चार/पाँच वर्ष अघि नै वीरेन्द्रनगरको जनसंख्या दोब्बर भएपछि माग अनुसारको खानेपानी पुर्‍याउन सकस भइरहेको छ् । वीरेन्द्रनगरमा खानेपानीको हाहाकारको श्रृंखला प्रदेश राजधानी भएयता झन चुलिएको छ ।

यो समस्या केवल पूर्वाधारको अभाव मात्र होइन, योजना निर्माणको कमजोरीको परिणाम पनि हो । झुप्रा बृहत खानेपानी आयोजना बनाउँदा गरिएको जनसंख्या प्रक्षेपण समयमै अद्यावधिक नहुनु, बसाइँसराइको तीव्रता नआँक्नु, र शहरीकरणको प्रभावलाई बेवास्ता गर्नु आजको संकटका मुख्य कारण हुन् ।

अबको आवश्यकता केवल पानी ल्याउने होइन, समग्र जल व्यवस्थापनको दीर्घकालीन रणनीति बनाउने हो । पानीका स्रोत संरक्षण, वर्षा पानी संकलन, भू–जल पुनर्भरण र वितरण प्रणालीको सुधार बिना समस्या फेरि दोहोरिन सक्छ । अन्ततः, भेरी लिफ्ट आयोजना केवल एक परियोजना होइन—यो वीरेन्द्रनगरका नागरिकको जीवनस्तर सुधार्ने परीक्षा हो । यदि यो समयमै गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न भयो भने यसले सरकारप्रतिको विश्वास पुनःस्थापित गर्न सक्छ । अन्यथा, नागरिकले अझै धेरै वर्ष पानी कहिले आउला भनेर प्रतीक्षा गरिरहनुपर्नेछ ।

सम्पादकीय : भेरी लिफ्टमा विलम्ब नहोस् !

ट्रम्पको चीन भ्रमण अन्योलमा

सम्पादकीय : भेरी लिफ्टमा विलम्ब नहोस् !

रास्वपाको योजना समग्र देशको विकास गर्नु होः

Leave a comment

Your email address will not be published. Required fields are marked *