बैंकहरूले राष्ट्र बैंकमा राखेको रकम फेरि कट्यो ९ खर्ब
काठमाडौं, ३ चैत ।
बैंकहरूले राष्ट्र बैंकमा राखेको दोस्रो पटक नौ खर्ब कटेको छ । बैंकहरूले यसरी राखेको रकम आइतबार दोस्रो पटक नौ खर्ब कटेको हो । आइतबार यस्तो रकम नौ खर्ब एक अर्ब रूपैयाँ पुगेको छ । यसअघि फागुन १३ गते पहिलो पटक यस्तो रकम नौ खर्ब १२ अर्ब पुगेको थियो । राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत बैंकहरूमा कर्जा लगानी गरेर उब्रिएको यस्तो रकम तानेको हो ।
त्यस्तै, पुँजी कम हुँदा बैंकहरूको प्रणालीमा पैसाको प्रवाह बढाउन पनि राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरण जारी गर्छ । निक्षेप संकलन र स्थायी निक्षेप सुविधा जस्ता वित्तीय उपकरण मार्फत विभिन्न अवधिको लागि राष्ट्र बैंकले बैंकहरूबाट पैसा तान्ने गर्छ ।
करिब दुई वर्षदेखि बैंकहरूमा पैसा थुप्रिएको छ । पैसा थुप्रिए पनि त्यही अनुसार बैंकहरूले कर्जा लगानी बढाउन नसक्दा राष्ट्र बैंकले उब्रिएको रकम तानिरहेको हो । कात्तिकदेखि बैंकहरूले राष्ट्र बैंकमा राखेको रकम आठ खर्ब माथि छ ।
बैंकहरूमा अहिले धेरै रकम भित्रिरहेको तर त्यही अनुसार कर्जा लगानी नभइरहेको यसले संकेत गर्छ । कर्जा लगानी जति कम भयो यसरी राखिने रकम बढ्दै जान्छ भने जति बढ्दै गयो, यसरी राखिने रकम त्यति नै कम हुँदै जान्छ । कर्जा लगानी बढ्न नसकेकै कारण बैंकहरूले राष्ट्र बैंकमा २.६३ प्रतिशतदेखि तीन प्रतिशत ब्याजदरमा पैसा राखिरहेका छन् ।
बैंकहरूसँग अहिले १२ खर्बभन्दा धेरै रकम कर्जा लगानीको लागि उपलब्ध छ । बैंकहरूमा अहिले ७७ खर्ब ६४ अर्ब निक्षेप छ । बैंकहरूले ५८ खर्ब ११ अर्ब कर्जा लगानी गरेका छन् । बैंकहरूको निक्षेपको तुलनामा ७४.१० प्रतिशत कर्जा लगानी गरेका छन् ।





