कर्णालीका हिमाली जिल्लामा हेलिबाट उड्दै कर्मचारी र मतपत्र :हिउँले बाटो छेकेपछि मतदातासम्म  पुग्नै पाएनन् उम्मेदवार

ओम शाही

सुर्खेत, १० फागुन ।

आसन्न २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब १० दिन बाँकी छन् । सरकारले देशव्यापी निर्वाचनको तयारी अन्तिम चरणमा पुर्‍याएको छ । निर्वाचन सामग्री र मतपत्र ढुवानीदेखि कर्मचारी खटनपटनको काम अधिकांश जिल्लामा सम्पन्न भएको छ । तर, कर्णाली प्रदेशका तीन जिल्लामा मौसमी प्रतिकुलताका कारण चुनाव हुने वा नहुने भन्नेमा अन्यौलता कायमै छ ।

कर्णालीका अन्य जिल्लामा निर्वाचन सामग्री र मतपत्र ढुवानी, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरु मतदान स्थलमा खटिने तयारी रहदा हुम्ला, डोल्पा र मुगुका उत्तरी क्षेत्रमा भने मतदातासमेत घर पुग्न पाएका छैनन् । यति मात्रै होइन चुनाव प्रचारका लागि उम्मेदवारसमेतलाई मौसमी प्रतिकुलताले छेकिरहेको छ ।

वर्षेनी मंसिर यता यी जिल्लामा बाक्लो हिमपात भएपछि स्थलमार्गहरु पूर्णरुपमा बन्द हुने गर्छन । हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष पालजोर लामाले न्यालु र नारा लेकमा बाक्लो हिउँ जमेकाले अहिलेकै अवस्थामा मतदाता गाउँ पुग्न सम्भव नरहेको बताउँछन ।

उनका अनुसार हिमालपारीका गाउँका नामले परिचित हल्जी, जाङ र तिल गाउँमा चुनावको प्रचारका लागि उम्मेदवारसमेत पुग्न सकेका छैनन् । ‘मतदाता कोही काठमाडौं, कोही चीनको ताक्लाकोट गएका छन् । हिमपातले स्थलमार्ग अवरुद्ध भएकोले तत्काल गाउँ फर्कने सम्भावना देखिँदैन । अहिलेसम्म उम्मेदवारहरू पनि चुनावको प्रचारमा पुग्न सकेका छैनन्,’ वडाध्यक्ष लामाले भने ।

उनले निर्वाचन आयोगलाई चुनाव गराउने विषयमा विकल्प अपनाउन अनुरोध गरेपनि सुनुवाई नभएको गुनासो गरे । ‘सकारले चुनावको तयारी तीव्र पारेको छ, तर गाउँ जाने स्थलमार्ग खोल्नतर्फ ध्यान दिएको छैन,’ उनले भने, ‘मतपत्र र कर्मचारीलाई मात्र हेलिकप्टरमा उडाएर चुनाव कसरी होला ?’

वडाध्यक्ष लामाका अनुसार हरेक वर्ष भारी हिमपात हुने भएकाले अधिकांश नागरिक मंसिर पहिलो साता गाउँ छाड्ने गर्दछन् । हल्जी, जाङ र तिलगाउँका ६ सय ७२ मध्ये २० प्रतिशत मात्रै मतदाता गाउँमा रहेको उनले बताए । यी तीन गाउँ जान नाम्खा गाउँपालिका ५ मा पर्ने पाँच हजार मिटरको न्यालु र ४६ सय मिटर उचाईको नारा लेक पार गर्नुपर्दछ ।

तर, भारी हिमपातपछि पूर्ण रूपमा बन्द भएका यिनै लेक गाउँ फर्कन चाहनेहरूका लागि बाधक बनेको वडाध्यक्ष लामाले बताए । हुम्लाबाट प्रतिनिसभा सदस्य उम्मेदवार रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की टासी ल्हान्जोम चुनावी प्रचारका लागि हुम्लामा छिन् । तर, उनी आफ्‌नै गाउँ लिमीमा चुनावी प्रचारका लागि पुग्न सकेकी छैनन् ।

‘म अहिले चुनावी प्रचारकै क्रममा हुम्लामा छुँ,’ उनले भनिन्, ‘हिमपातले स्थलमार्ग रोकिएपछि म आफ्‌नै गाउँ पुग्न सकिरहेको छैन । प्रशासनले हिउँ हटाउने तयारी भइरहेको भनेको छ, हेरौं के हुन्छ ?’ उनले वैकल्पिक उपाय अपनाएर भएपनि नागरिकलाई भोट हाल्नबाट बञ्चित गराउन नहुने बताइन । यस्तै, नेकपा एमालेका उम्मेदवार दल फडेराले पनि चुनावी प्रचारका लागि नाम्खा गाउँपालिको उत्तरी क्षेत्रमा पुग्न नसकेको बताए ।

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाका केही क्षेत्रमा पनि मौसमी प्रतिकुलताले मतदान प्रभावित हुने देखिएको छ । मुगुको मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्रे लामाले वडा १ देखि ४ सम्मका अधिकांश मतदाता गाउँमा नरहेको बताए । आफुहरुले सरकारलाई हिमाली क्षेत्रमा यो समयमा निर्वाचन गराउन नसकिने विषयमा ध्यानाकर्षण गराएपनि सुनुवाई नभएको उनले बताए ।

विकल्प खोज्दै छौं : प्रजिअ रेग्मी

हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले हिमालपारीका बस्तीमा जान तत्काल न्यालु लेकबाट सम्भव नरहेकाले सिमकोट–हिल्सा सडक खण्डमा पर्ने यारीबाट स्थलमार्ग खोल्ने विषयमा प्राविधिक अध्ययन भइरहेको बताउँछन् ।

प्रजिअ रेग्मी भन्छन्, ‘यो विषयमा हामी निरन्तर छलफलमा छौं । मौसमी प्रतिकुलताले समस्या भइरहेको छ । पाँच हजार मिटरका लेक पार गर्न तत्काल सम्भव छैन । अन्य स्थानबाट स्थलमार्ग खोल्ने विषयमा प्राविधिक अध्ययन भइरहेको छ । अर्को महत्वपूर्ण विषय सो क्षेत्रमा अबका केही दिन उताको मौसमी रिपोर्टको आधारमा अघि बढ्छौं ।’

उनका अनुसार हुम्लाका आठ मतदान स्थलमा हेलिकप्टरमार्फत निर्वाचन साम्रगी, मतदान सुरक्षामा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई १८ फागुनसम्म पुर्‍याईने छ । उनले नेपाली सेनाको स्काई ट्रकबाट मतपेटिका, सुरक्षा सिल, मसीका मार्कर, स्वस्तिक छाप, स्टिकर, रंगिन मतदाता नामावली लगायतका निर्वाचन सामग्री शनिबार हुम्ला पुगेको बताए । मतदानका लागि कर्मचारी र मत पत्र हेलीबाट उड्ने तयारी भइरहदा मतदाता र उम्मेदवार भने हिउँले छेकिन बाध्य बनेका छन् ।

मौसमी प्रतिकुलताले चुनाव हुने वा नहुने भन्नेमा अन्यौलताकाबीच निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले हुम्ला पुगेर जानकारीसमेत लिएका छन् । शुक्रबार सुर्खेतमा आयोजित प्रदेशस्तरीय बैठकमा सुरक्षा निकायका प्रमुखहरुले मौसमी प्रतिकुलता चुनौती बन्न सक्ने ब्रिफिङ गरेपछि उनी हुम्ला पुगेका हुन् ।

उच्चस्तरीय बैठकमा प्रदेशभरको निर्वाचन तयारी, मतदान केन्द्रको अवस्था, सुरक्षा व्यवस्थापन, भौगोलिक जटिलता र आवश्यक समन्वयबारे विस्तृत छलफल भएको थियो । विशेषगरी हुम्ला, डोल्पा र मुगुका ४० मतदान स्थलमा मौसम प्रतिकूल भए मतदान सञ्चालनमै चुनौती आउन सक्ने सुरक्षा निकायका प्रमुखहरुले सचिव राउत समक्ष ब्रिफिङ गरेका थिए । दुर्गम भूगोलका कारण कतिपय स्थानमा सुरक्षाकर्मी तथा कर्मचारीलाई आपत्कालीन अवस्थामा जिल्ला सदरमुकाम ल्याउन हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था रहेको जानकारी सचिव राउतलाई गराइएको थियो ।

प्रजिअ रेग्मीका अनुसार हुम्ला पुगेका सचिव राउतले चुनावको तयारी अन्तिम चरणमा पुगिसकेकाले मौसमी प्रतिकुलताका बाबजुद मतदान स्थल पुग्न तत्काल वैकल्पिक उपाय अघि बढाउन निर्देशन दिएका छन् । कर्णाली प्रदेशमा कुल १० लाख ३७ हजार २ सय ५० जना मतदाता छन् । जसमा पाँच लाख २७ हजार आठ सय ८६ पुरुष, पाँच लाख नौ हजार तीन सय ६१ महिला र नी जना अन्य मतदाता रहेका छन् ।

प्रदेशभर नौ सय ४१ मतदान स्थलमा एक हजार चार सय ३७ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये तीन सय ५८ मतदान केन्द्र अति संवेदनशील रहेको प्रदेश कमाण्ड पोष्टका निमित्त सचिव लक्ष्मीबहादुर विकले जानकारी दिए । यस्तै, सामान्य एक सय ६१, संवेदनशील चार सय २२ मतदान स्थल छन् ।

कर्णालीका हिमाली जिल्लामा हेलिबाट उड्दै कर्मचारी र मतपत्र  :हिउँले बाटो छेकेपछि मतदातासम्म   पुग्नै पाएनन् उम्मेदवार

सम्पादकीय : जुम्लामा पुरानालाई चुनौती !

कर्णालीका हिमाली जिल्लामा हेलिबाट उड्दै कर्मचारी र मतपत्र  :हिउँले बाटो छेकेपछि मतदातासम्म   पुग्नै पाएनन् उम्मेदवार

भेरी अस्पतालमा रेबिज खोप अभाव निःशुल्क सेवा

Leave a comment

Your email address will not be published. Required fields are marked *