जुम्लामा प्रतिनिधिसभा निर्वाचन: पपुलिस्ट राजनीतिक लहरले दबाबमा पुराना दल

ओम शाही
सुर्खेत, ९ फागुन ।
आसन्न प्रतिनिधिसभा चुनावमा विशेष महत्त्वका साथ हेरिएको क्षेत्र हो, जुम्ला । कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमध्ये जुम्लालाई विशेष महत्त्वका साथ हेरिनुको पछाडि जोडिएका छन्, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानबहादुर शाही ।
शाहीले २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस–माओवादीलगायत पाँचदलीय गठबन्धनलाई मात्र हायलकायल पारेनन्, सांगठनिक रूपमा बलियो एमालेलाई समेत किनारा लगाएका थिए । गएका दुई निर्वाचनको मतपरिणामले जुम्लामा शाहीको दल राप्रपा सांगठनिक रूपमा पुछारमा थियो । तर, उनले गठबन्धन र एमालेका भोटमा खेलेर पपुलर भोट आफ्नो पक्षमा पारी पहिलोपटक सांसद चुनिएका थिए ।
आगामी निर्वाचनमा पनि शाही पुनः जित दोहोर्याउने दाउका साथ जुम्लामा चुनावी अभियानमा होमिएका छन् । यसपटक पनि शाहीले तिनै दललाई चुनौतीको घण्टी बजाइरहेका छन् । तर, दोस्रोपटकको प्रयास भने शाहीका लागि सहज छैन । उनले कर्णालीको आवाज संघीय सरकारलाई सुनाउन आफूले पुनः जित्नुपर्ने दाबाका साथ मतदातालाई फकाइरहेका छन् ।
आगामी निर्वाचनमा जुम्लाबाट सांगठनिक रूपमा बलिया पार्टीहरू एकल चुनावी मैदानमा छन् । चुनावको मिति नजिक आउँदै गर्दा दलहरूले प्रचार–प्रसारलाई व्यापक बनाएका छन् । जुम्लाको चुनाबी माहौल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि तताइरहेको छ ।
२०७९ सालदेखि अस्तित्वमा आएको रास्वपाले प्रत्यक्षतर्फ निवर्तमान समानुपातिक सांसद विनिता कठायतलाई उम्मेदवार बनाएको छ । रास्वपा पनि जुम्लामा कमजोर देखिँदा कठायत पपुलर भोट आफ्नो पक्षमा पार्ने दाउमा छन्, जसका कारण पुराना दल एमाले, कांग्रेस र नेकपा दबाबमा छन् । सांगठनिक रूपमा कमजोर रहेका उम्मेदवारले चुनावी प्रचारलाई व्यापक बनाउँदा पुराना दलहरू आफ्ना परम्परागत भोट जोगाउन रक्षात्मक देखिएका छन् ।
जुम्लामा मुख्य प्रतिस्पर्धी एमाले, कांग्रेस र नेकपा हुन् । तर, शाही र कठायत यिनै दलका लागि टाउको दुखाइ बनेका छन् । यी उम्मेदवारले पपुलर भोट आफ्नो पक्षमा पारे नतिजामा प्रतिस्पर्धी दलको हिसाब बिग्रने चर्चा छ । पुराना दलहरूका लागि यसपटक यसै पनि पपुलिस्ट राजनीतिक लहर चुनौती बनेको छ ।
२०७९ सालको निर्वाचनमा कांग्रेस–माओवादीको गठबन्धनमा टिकट बाँडफाँटको किचलोमा खेलेर आफ्नो जित सुनिश्चित गराएका शाहीले यसपटक पुराना दलमा लामो समय काम गरेका अनुभवी नेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । सांगठनिक हिसाबले जुम्लामा पुराना दल बलिया छन् । २०७९ सालको मतपरिणामलाई विश्लेषण गर्ने हो भने जुम्लामा सांगठनिक भोटमा एमाले अघि छ । एमालेको १० हजार पाँच सय ४८ सांगठनिक भोट रहँदा १० हजार चार सय ७६ मतका साथ कांग्रेस दोस्रो स्थानमा छ ।
तेस्रो स्थानमा रहेको नेकपा (तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी)को आठ हजार नौ सय ६० मत रहँदा ज्ञानबहादुर शाहीको पार्टी राप्रपाको पाँच हजार सात सय ९६ सांगठनिक भोट छ । गएको निर्वाचनमा रास्वपाको घण्टी चिह्नलाई जुम्लाबाट आठ सय ९९ मत प्राप्त भएको देखिन्छ ।
यो मतपरिणामले रास्वपा सांगठनिक हिसाबले जुम्लामा निकै कमजोर देखिन्छ । यस कारण पनि रास्वपा नेतृ कठायतलाई यसपटकको निर्वाचन सहज हुने देखिँदैन । गएको निर्वाचनमा कठायतले आफ्नै गृहजिल्लाबाट समानुपातिकतर्फ सन्तोषजनक भोट पाइनन् । कर्णालीमा सुर्खेतबाहेक अन्य पहाडी तथा हिमाली जिल्लामा रास्वपाको उपस्थिति कमजोर रहेको विगतको मतपरिणामले देखाउँछ ।
यस कारण पनि दोस्रोपटक संसद यात्रा तय गर्न लागेकी कठायत निकै दबाबमा छन् । जुम्लाको इतिहासमा जनप्रतिनिधिहरू दोहोर्याउने चलन छैन । त्यसलाई आधार मान्ने हो भने शाही र कठायतको सम्भावना पनि कम छ । त्यसमाथि देशव्यापी रूपमा रास्वपाको लहरले जुम्लालाई पनि छोएको छ ।
यद्यपि, चुनाव नै जित्ने तहमा पुग्नका लागि रास्वपासँग सांगठनिक मत भने कमजोर छ । पपुलर मतले जित निकाल्नुपर्ने बाध्यता कठायतलाई छ । अर्कातिर, कांग्रेसबाट दीपबहादुर शाही, एमालेका शान्तिलाल महत, नेकपाका उम्मेदवार नरेश भण्डारी जुम्लामा निकै लोकप्रिय छन् । त्यस्तै, तत्कालिन माओवादीमा लामो समय जनवादी पत्रकारिता गरेका मनऋषि धितालसमेत चुनावी मैदानमा छन् ।
माओवादी अध्यक्ष प्रचण्डले समाजवादीलगायतका दलहरूसँग पार्टी मिसाएपछि अलग भएका जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट धिताल उम्मेदवार छन् । त्यसको छाया रास्वपा नेतृ कठायत मात्र होइन, राप्रपाका शाहीलाई पनि पर्ने देखिन्छ । कांग्रेसलाई विशेष महाधिवेशनको असर मतपेटिकासम्म पुग्न नदिने चुनौती छ ।
एमालेलाई राप्रपाका शाही र रास्वपाका कठायतबाट आफ्ना परम्परागत भोट जोगाउन मुस्किल छ । लामो समय माओवादीका विभिन्न कमिटीमा रहेर काम गरेका पूर्वसहकर्मीहरू आमनेसामने हुँदाको लाभ अन्य उम्मेदवारको पक्षमा जान सक्ने चर्चा जुम्लामा छ । जुम्लाबाट आगामी निर्वाचनका लागि १० जना चुनावी मैदानमा छन् ।






