नेपालगन्ज–१८ मा कमरुद्दिन राईको घरदैलो तीव्र १०३ वर्षीया मायाँ कुर्मीको आशिर्वादसँगै समावेशी विकासको प्रतिबद्धता

बाँके ,८ फाल्गुन ।
आगामी निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल)का उम्मेदवार कमरुद्दिन राई यतिबेला घरदैलो अभियानमा सक्रिय देखिएका छन्। चुनावी माहोल तातिँदै जाँदा राईले मतदातासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिँदै जनताको घरदैलोमै पुगेर संवादलाई तीव्रता दिएका हुन्।

शुक्रबार उनले नेपालगन्ज उपमहानगरपालिका–१८ कारकादौं क्षेत्रमा पुगेर स्थानीय बासिन्दासँग छलफल गरे। घरदैलो कार्यक्रमका क्रममा सरल र मिलनसार स्वभावका राईले मतदातासँग हातेमालो गर्दै उनीहरूका समस्या, गुनासा र सुझाव ध्यानपूर्वक सुने। स्थानीयवासीले सडक, खानेपानी, स्वास्थ्य सेवा, बेरोजगारी र शिक्षा क्षेत्रका चुनौतीबारे आफ्ना धारणा राखेका थिए।

राईले शिक्षा, स्वास्थ्य, रोजगारी तथा आधारभूत पूर्वाधार विकासलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। “जनताको अपेक्षा र विश्वासलाई केन्द्रमा राखेर काम गर्छु,” उनले भने, “स्थानीय तहमा देखिएका समस्यालाई दीर्घकालीन योजना बनाएर समाधान गर्ने मेरो लक्ष्य हो।”
घरदैलो अभियानका क्रममा एक भावुक दृश्य पनि देखियो। नेपालगन्ज–१८ कै १०३ वर्षीया मायाँ कुर्मीले राईलाई विजयीको आशिर्वाद दिइन्। ज्येष्ठ नागरिकको आशिर्वाद ग्रहण गर्दै राई भावुक बनेका थिए। “आमाको आशिर्वादले जनताको सेवा गर्ने मेरो संकल्प अझ मजबुत भएको छ,” उनले प्रतिक्रिया दिए।
राईले आफ्नो एजेण्डामा समावेशी विकास र सामाजिक न्यायलाई विशेष महत्व दिएको बताए। मधेशी, आदिवासी जनजाति, थारू, खस, दलित, पिछडावर्ग, महिला, मुस्लिमलगायत अल्पसङ्ख्यक समुदायको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले समान प्रतिनिधित्व र अवसरको पहुँच विस्तारमा जोड दिए। “राजनीति केही व्यक्तिको मात्र नभई सबै समुदायको साझा आवाज बन्नुपर्छ,” उनले भने।

घरदैलो अभियानलाई निरन्तरता दिँदै राईले आगामी दिनमा पनि टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने योजना रहेको बताएका छन्। स्थानीयस्तरमै बसेर समस्या पहिचान र समाधानको प्रयास गर्ने उनको भनाइ छ।
चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरूबीच प्रतिस्पर्धा बढ्दै गएको छ। यसैक्रममा राईले जनताको विश्वास जित्न घरदैलो अभियानलाई प्रभावकारी माध्यम बनाएका छन्। मतदातासँग प्रत्यक्ष सम्पर्क र संवादमार्फत आफ्नो दृष्टिकोण र प्रतिबद्धता प्रस्तुत गर्दै उनी निर्वाचन मैदानमा सक्रिय रूपमा उत्रिएका छन्।






