असल शासन पोष्टको रजत समारोह भव्य रूपमा सम्पन्न, विभिन्न व्यक्तित्व सम्मानित

बाँके ,८ फाल्गुन ।

सुशासनको विटमा केन्द्रित भई निरन्तर प्रकाशन हुँदै आएको असल शासन पोष्ट साप्ताहिक पत्रिकाले आफ्नो रजत समारोह नेपालगन्जमा भव्य रूपमा सम्पन्न गरेको छ। २५ वर्षे प्रकाशन यात्रालाई स्मरण गर्दै आयोजित समारोह निर्वतमान प्रतिनिधिसभा सदस्य धवल शम्शेर राणाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।


पत्रिकाका सम्पादक नमस्कार शाहको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रिकाको निरन्तरता, सुशासनप्रतिको प्रतिबद्धता तथा प्रकाशन यात्रामा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो। साथै उत्कृष्ट पाठक र विज्ञापनदातालाई समेत कदर गरिएको छ।
सम्मानित व्यक्ति तथा संस्था
रजत समारोहका अवसरमा उत्कृष्ट विज्ञापनदाताको रूपमा अमृत बुक्स एन्ड स्टेशनरी, नेपालगन्ज तथा ब्राइटल्याण्ड स्कुल, नेपालगन्जलाई सम्मान गरिएको छ। त्यसैगरी उत्कृष्ट पाठकको रूपमा माइती नेपाल, नेपालगन्जका प्रमुख केशव कोइराला र दिदीबहिनी समाज बाँकेकी अध्यक्ष रमा देवी शाहलाई सम्मान गरिएको थियो।


पत्रिकाको सम्पादन समूहमा रहेर योगदान पुर्‍याएका पूर्व सह–सम्पादक भाईराजा श्रीवास्तव र ओबिराज आचार्यलाई सम्मानपत्र र दोसल्लासहित कदर गरिएको थियो।
सुशासनका लागि सञ्चारको भूमिका महत्वपूर्ण : राणा
कार्यक्रममा बोल्दै प्रमुख अतिथि धवल शम्शेर राणाले सुशासनको क्षेत्रमा काम गर्ने सञ्चारमाध्यम अझ सशक्त रूपमा अगाडि आउनुपर्ने आवश्यकता औंल्याए। उनले भ्रष्टाचार गर्ने व्यक्तिलाई समाजले कुनै पनि हालतमा बहिष्कार गर्नुपर्नेमा जोड दिँदै सुशासन कायम गर्न सञ्चार क्षेत्रको भूमिका निर्णायक हुने बताए। “असल शासन पोष्टले हरेक नागरिकको आवाज बन्न सकून् भन्ने शुभकामना छ,” उनले भने।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले असल शासन पोष्ट स्थापना कालदेखि नै सुशासन र भ्रष्टाचारविरुद्धको अभियानमा अग्रसर रहेको स्मरण गर्दै निष्पक्ष पत्रकारितामा खरो उत्रिएको टिमलाई बधाई दिए। उनले आगामी दिनमा पनि निरन्तर प्रकाशन र प्रभावकारी भूमिकाको कामना गरे।


शिक्षाविद् तथा बास नेपालका सल्लाहकार किरण आचार्यले इच्छाशक्ति र प्रतिबद्धताले सफलता सम्भव हुन्छ भन्ने उदाहरण असल शासन पोष्ट भएको बताइन्। सुशासन कायम गर्न पत्रिकाले लिएको जोखिम प्रशंसनीय रहेको उनको भनाइ थियो।
समाजसेवी जयकेश सिंह, अधिवक्ता लोकबहादुर शाह, मंगलप्रसाद माविका प्रधानाध्यापक साध्या गुप्ता तथा उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले पनि पत्रिकाले समाज रूपान्तरण र नागरिक सचेतनामा खेलेको भूमिकाको प्रशंसा गरेका थिए।
२५ वर्षे यात्रा : प्रतिबद्धता अझ सशक्त
कार्यक्रममा सम्मानित पूर्व सह–सम्पादक ओबिराज आचार्यले असल शासन पोष्ट जस्तो निष्पक्ष पत्रिकाको हिस्सा बन्न पाएकोमा गर्व व्यक्त गरे। उत्कृष्ट पाठकका रूपमा सम्मानित माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले पत्रिकाको प्रकाशनले समाजमा भइरहेका गलत कार्य उजागर गर्न महत्वपूर्ण योगदान दिएको बताए।
पत्रिकाका प्रबन्ध निर्देशक मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कार्यकारी सम्पादक हेमराज भट्टले राखेका थिए भने बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार बर्माले धन्यवाद ज्ञापन गरेका थिए।


समारोहमा पत्रिकाको विगत र वर्तमान प्रकाशन यात्राबारे जानकारी दिँदै सम्पादक नमस्कार शाहले सुशासन र पारदर्शिताको अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा विभिन्न क्षेत्रका एक सयभन्दा बढी व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
२५ वर्षे यात्रा पूरा गरेको असल शासन पोष्टले सुशासन, पारदर्शिता र सामाजिक उत्तरदायित्वको पक्षमा आफ्नो अभियानलाई निरन्तरता दिने जनाएको छ।

असल शासन पोष्टको रजत समारोह भव्य रूपमा सम्पन्न, विभिन्न व्यक्तित्व सम्मानित

खानेपानी बिनाको बाइराका गाउँ

Leave a comment

Your email address will not be published. Required fields are marked *