जुम्ला दुर्घटना: सेनाको समन्वयले एकघाइते काठमाडौं

गाेल्डेन बुढा
जुम्ला,८ फाल्गुन ।
बिहीबार जुम्लाको तातोपानी गाउँपालिका-६ धौलापानीमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ। यो घटनामा नेपाली सेनाको तत्परता र समन्वयले समयमै जीवन जोगाउने कार्य गरेको छ।घाइते व्यक्ति हुन्, जुम्लाको हिमा गाउँपालिका–२ ओदी गाउँका धमेन्द्र रोकाया। उनी निर्वाचन प्रहरी पनि हुन्। दुर्घटनाको सूचना पाएपछि देवीदत्त गणका टोली तत्काल घटनास्थलतर्फ उद्धारका लागि खटिएका थियो। घाइतेको अवस्था नाजुक भएपछि सेनाले हेलिकप्टर व्यवस्थापन गरी उनलाई काठमाडौं ल्याएको हो।जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी शालिकराम खनालका अनुसार दुर्घटना बिहीबार दिउँसो करिब १२ बजे भएको थियो। जुम्ला बजारबाट नाग्मतर्फ जाँदै गरेको भे १ ज ८१८ नम्बरको भ्यान ट्याक्टरसँग ठोक्किएर सडकबाट करिब ४० मिटर तल खसेको थियो। दुर्घटनामा चालकसहित सात जना घाइते भएका थिए।अन्य घाइतेहरूको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ। निर्देशक डा. कमल थानीका अनुसार घाइतेहरूको अवस्था सामान्य छ।घटनास्थलमा नेपाली सेनासँगै जिल्ला प्रहरी कार्यालय जुम्ला,जिल्ला प्रशासन कार्यालय र सशस्त्र प्रहरी बलका टोली पनि पुगेका थिए। दुर्गम भौगोलिक अवस्थाका कारण उद्धार चुनौतीपूर्ण थियो, तर सेनाको समन्वय र तत्परताले उद्धार कार्यलाई सफल बनाएको थियो। गणपति प्रमुख सेनानी धिरज थापाले बताए, “घाइतेको जीवन संकटमा थियो।
परिस्थितिलाई हेरेर हेलिकप्टर व्यवस्थापन गर्नु आवश्यक भयो। सेनाको प्राथमिकता सधैं मानव जीवनको सुरक्षा हो।”घाइते हुनेहरूमा तिला गाउँपालिका–१ रारागाउँकी ३५ वर्षीया मेनुका बुढा, पातारासी गाउँपालिका–४ छुम गाउँकी ३१ वर्षीया माया नेपाली, तिला गाउँपालिका–२ लम्री गाउँका २१ वर्षीय पारस रावत, तातोपानी गाउँपालिका–३ लिताकोट गाउँकी ४८ वर्षीया पुनी सुनार, तातोपानी गाउँपालिका–२ बाविरा गाउँका १९ वर्षीय लोकेन्द्र खड्का (भ्यान चालक) र तिला गाउँपालिका–२ लम्री गाउँका अर्का निर्वाचन प्रहरी २० वर्षीय टेकेन्द्र रावत रहेका छन्।प्रहरीले दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ। यो घटनाले फेरि प्रमाणित गर्यो, कि दुर्गम भेगमा नेपाली सेनाको छिटो उद्धार, समन्वय र मानव जीवनप्रतिको संवेदनशीलता कत्तिको महत्वपूर्ण हुन्छ। कठिन भूगोल र जोखिमका बाबजुद सेनाको तत्परताले यस दिन अरूको जीवन जोगाएको छ। यस्तै थापाका अनुसार अर्को स्थानीय ७० वर्षका दिर्गराेगी रतनबहादुर शाहीलाई पनि हेलिकप्टरमा पठाइएकाे छ।






