बाँके राष्ट्रिय निकुञ्जबाट आएको बाघको आतंक : सल्यान कालीमाटीका बासिन्दा त्रसित, तीन जनाको ज्यान गयो

सल्यान ,२ फाल्गुन ।

बाँके राष्ट्रिय निकुञ्जबाट आएको बाघको आतंक बढ्दै जाँदा कालीमाटी गाउँपालिकाका स्थानीयवासी त्रसित बनेका छन्। पछिल्लो केहि साताको अवधिमा बाघको आक्रमणबाट तीन जनाको ज्यान गएपछि कालीमाटी–५, ६ र ७ नम्बर वडाका बासिन्दा उच्च जोखिममा जीवनयापन गर्न बाध्य भएका हुन्।
स्थानीयका अनुसार घटनाको एक महिना बितिसक्दा पनि बाघ नियन्त्रणमा आउन नसक्दा दैनिक जीवन कष्टकर बनेको छ। अझै पनि बाघ देखिने क्रम जारी रहेकाले घरबाहिर निस्कनै गाह्रो भइरहेको उनीहरूको गुनासो छ।
कालीमाटी–७ की तिला रानाले अहिले रात मात्र होइन, दिउँसोसमेत घरबाहिरका सामान्य काम गर्न डर लाग्ने बताइन्। “गाईवस्तुलाई घाँस ल्याउन जाँदा होस् वा घरनजिकैको शौचालय जानुपर्दा पनि त्रासैत्रासमा जानुपर्छ,” उनले भनिन्।
घुइयाबारीकी गणपनि राना पनि दैनिकी चलाउन सकस भइरहेको बताउँछिन्। “जङ्गल जाँदा नरभक्षी बाघले आक्रमण गर्ला भन्ने डर, नजाँदा घरका बस्तुभाउ भोकै मर्लान् भन्ने चिन्ता छ,” उनले पीडा सुनाइन्।
मध्यवर्ती क्षेत्रमा पर्ने बस्तीका स्थानीयले आफूहरू असुरक्षित बनेको भन्दै वन्यजन्तुबाट जोगाउन प्रभावकारी सुरक्षा व्यवस्था गर्न माग गरेका छन्। सुरक्षा सुनिश्चित गर्न नसकिने अवस्था आए मध्यवर्ती क्षेत्र नै खारेज गर्नुपर्ने मागसमेत उठ्न थालेको छ।
कालीमाटी–७ का वडाध्यक्ष मित्रलाल रिजालले स्थानीयको समस्या समाधानमा सरकार संवेदनशील बन्नुपर्ने बताए। निकुञ्ज क्षेत्र आसपास बसोबास गर्ने नागरिकको जीवन सुरक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने उल्लेख गर्दै आवश्यक परे निकुञ्ज खारेजीसम्मको विकल्पमा छलफल हुनुपर्ने उनको धारणा छ।
हात्तिदमार–घुइयाबारी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष डम्बर पुनले बर्दिया राष्ट्रिय निकुञ्ज तथा बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आएका बाघका कारण स्थानीय त्रसित बनेको बताए। दीर्घकालीन समाधानका लागि निकुञ्ज प्रशासनले बाघको सङ्ख्या व्यवस्थापन गर्नुपर्ने, वन्यजन्तु बाहिरिनुको कारणबारे अध्ययन गरी कानुनी व्यवस्था परिमार्जन गर्नुपर्ने उनको माग छ।
यता डिभिजन वन कार्यालय सल्यानले बाघ नियन्त्रणका लागि टोली परिचालन गरिएको जनाएको छ। कार्यालय प्रमुख टेकबहादुर रावलका अनुसार हाल बाघको ट्र्याकिङका लागि विज्ञ टोली खटिएको छ। बाघ आक्रमणमा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन निर्देशनालयमा पत्राचार भइसकेको र रकम प्राप्त हुनेबित्तिकै वितरण गरिने उनले जानकारी दिए।
गत पुस २३ गते भेरीगंगा नगरपालिका–५ गेरुवानीकी ५७ वर्षीया गङ्गादेवी सारुमगर, पुस २५ गते कालीमाटी–७ की ४२ वर्षीया धनसरी रावत र पुस २८ गते कालीमाटी–६ हात्तिढुंगाका ६५ वर्षीय चन्द्रबहादुर खप्तडीको बाघको आक्रमणबाट ज्यान गएको थियो। लगातारका घटनापछि कालीमाटी क्षेत्रका बासिन्दा त्रासमा बाँच्न बाध्य भएका छन्।

बाँके राष्ट्रिय निकुञ्जबाट आएको बाघको आतंक : सल्यान कालीमाटीका बासिन्दा त्रसित, तीन जनाको ज्यान गयो

बाँके–२ मा जसपा उम्मेदवार कमरुद्दिन राईप्रति मतदाताको

बाँके राष्ट्रिय निकुञ्जबाट आएको बाघको आतंक : सल्यान कालीमाटीका बासिन्दा त्रसित, तीन जनाको ज्यान गयो

पाँचौ राष्ट्रपति रनिङ शिल्डकाे उपाधि मावि च्युरालाई

Leave a comment

Your email address will not be published. Required fields are marked *