उम्मेदवार नपुग्ने तिलाकाे दुर्गम गाउँ

गाेल्डेन बुढा

जुम्ला,१ फाल्गुन ।
जुम्लाको दुर्गम तिला गाउँपालिका–९ खोप्री गाउँमा मतदाताले कुनै पनि उम्मेदवारसँग प्रत्यक्ष भेट्न पाउँदैनन् । भौगोलिक रुपमा निकै विकट मानिएको खोप्री गाउँमा अहिले न उम्मेदवार पुगेका छन् ।न उम्मेदवारसँग मतदाताले आफ्ना मर्का नै राख्न पाइरहेका छन् ।उनीहरुले उम्मेदवारको अनुहार नै चिन्न नपाइ मत हाल्ने गरेका छन् । कसैले पार्टी, कसैले संगठन त कसैले व्यक्तिको बारे सुनेर मात्रै मतदान गरिरहेको स्थानीय कालीबहादुर थापाले बताए ।उनले प्रत्यक्ष रुपमा मतदाताले उम्मेदवार भेट्न नपाउँदा शिक्षा, स्वास्थ्य, बिजुली तथा खानेपानी जस्ता आधारभूत सुविधासमेत पाउन नसकिएको बताए । ‘हामीले मत दिएर कैयन उम्मेदवार सांसद बनाएर पठायौं । सांसद भइसकेपछि न विकास पायौं न उम्मेदवार नै चिन्यौं,’ थापाले भने, ‘हाम्रा दुःख जहाँका तहीँ छन् । हाम्रो भोटले जितेका नेताको अवस्था बद्लिसक्यो ।’ बुधबार रापप्राका उम्मेदवार ज्ञानबहादुर शाही खोप्री गाउँमा पुगे ।

मतदाताले उनलाई गाउँमा देखिएका समस्या दर्शाए । तर शाहीले आफु नीति निर्माण गर्ने थलोमा जाने भएकोले विकासको अपेक्षा नगर्न आग्रह गरे । उनले प्रदेश र स्थानीय तहसँगको समन्वयमा गाउँका माग सम्वोधन गर्न सक्नेमा जोड दिए ।प्रतिनिधिसभाको १ मात्रै निर्वाचन क्षेत्र रहेको जुम्लामा एक स्वतन्त्रसहित १० जना उम्मेदवार छन् । सुगम मानिएका गाउँबस्तीमा उनीहरुले चुनावी प्रचारप्रसार तीब्र बनाएका छन् । तर भौगोलिक रुपमा विकट क्षेत्रमा पुग्न सकिरहेका छैनन् । सडकले जोडिएका गाउँबस्तीमा दोर्‍याई तेहर्‍याई पुगिसके तर दुर्गममा अनुहार नै देखाइरहेका छैनन् । अहिले तिला गाउँपालिकाको तल्लो र माथिल्लो खोप्री, कनकासुन्दरीका सिफ्टी, मर्फान र पातारासीको हुरीमोहरी गाउँमा चुनावी प्रचारप्रसार निकै कम छ ।सडक सञ्जालमा नजोडिएका यी गाउँबस्तीमा चुनावको रौनक देखिएको छैन । यी ठाउँका मतदाता खेतीपाती र आफ्नै पेशाव्यवसायमा व्यस्त हुन्छन् । तिलाको माथिल्लो खोप्रीमा ३५ र तल्लो खोप्रीमा २१ वटा घरधुरी छन् । यी दुई गाउँमा करिब दुई सय मतदाता रहेका छन् । चुनाव आउन झण्डै तीन सातामात्रै बाँकी रहँदा उम्मेदवारहरु पुग्न नसकेको स्थानीय छविलाल थापाले जानकारी दिए । उनले भने, ‘अघिल्ला निर्वाचन ताका पनि यहाँ उम्मेदवार खासै आएनन् । गाउँबस्तीमा जल्दाबल्दा समस्या छन् । सडक, बिजुली, खानेपानी, स्वास्थ्य, शिक्षा जस्ता आधारभूत विकास छैन् । उम्मेदवार पुगे पछि हामी समस्या सुनाउन आतुर छौं ।’गाउँमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन छ । खोप्री गाउँदेखि प्रसूति केन्द्र रहेको राँसामालापानी स्वास्थ्य चौकी करिब ९ किलोमिटर दुरीमा छ । माघ दोस्रो साता खोप्रीकी २७ वर्षीया रमिता थापालाई सुत्केरी गराउन बर्थिङ सेन्टरमा लैजाँदै गर्दा बाटोमै शिशु जन्मियो । आफन्तले बोकेर बर्थिङ सेन्टर लैजाँदै गर्दा चायापाटनको हिउँमै रमिता थापाले छोरी जन्माइन् । बाटैमा सुत्करी भएपछि रमितालाई घर फर्काइएको थियो । एक वर्षमा यहाँ बर्थिङ सेन्टर बोकेर लैजाने क्रममा ६ जनाभन्दा धेरै महिला बाटोमै सुत्केरी भएका थिए ।सामुदायिक विद्यालयका भौतिक संरचना पुराना जीर्ण नै छन् । ‘यो गाउँमा थुपै समस्या छन्,’ थापाले भने, ‘उम्मेदवार गाउामा आएपछि यिनै समस्या समाधन गर्न माग राखौंला भन्ने हो । तर अहिलेसम्म गाउँमा धेरैजसो उम्मेदवार पुगेका छैनन् ।’

उम्मेदवार नपुग्ने तिलाकाे दुर्गम गाउँ

को हुन् कमरुद्दिन राई ?

उम्मेदवार नपुग्ने तिलाकाे दुर्गम गाउँ

उम्मेदवार नपुग्ने तिलाकाे दुर्गम गाउँ

Leave a comment

Your email address will not be published. Required fields are marked *