नेपालगन्जको मुख्य सडकमा शंकास्पद कुकर बम फेला, निष्क्रिय पार्न सेना खटाइयो

बाँके ,१ फाल्गुन।
नेपालगन्जको मुख्य सडकमा शंकास्पद कुकर बम फेला परेको छ। नेपालगन्ज–गुलरिया सडकखण्डअन्तर्गत खजुराको पेडारी नाला नजिक उक्त बम फेला परेको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार बीच सडकमा कालो टेपले बेरिएको अवस्थामा कुकर राखिएको देखेपछि शंका लागेर प्रहरीलाई खबर गरिएको थियो। सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मी घटनास्थल पुगेका थिए। बम जस्तो देखिने वस्तु सुरक्षित रूपमा निष्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली खटाइएको छ।
घटनापछि केही समय सडक क्षेत्रमा सुरक्षाकर्मीले आवागमन नियन्त्रण गरेका थिए। सुरक्षाको दृष्टिले आसपासका क्षेत्रमा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।
उक्त बम कसले र किन राखेको भन्ने विषयमा हालसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको सुरक्षाकर्मीले बताएका छन्।






