चन्दननाथमा युवालाई व्यवहारिक क्याड्रे तालिम

काली बहादुर परियार
जुम्ला ,१ फागुन ।

बढ्दो आगलागी, बाढी, पहिरो र भूकम्पीय जोखिम बीच चन्दननाथ नगरपालिकामा आयोजित भोलेन्टियर युवा सामुदायिक उद्धारकर्ताको क्षमता विकास तालिमले युवामा नयाँ उत्साह र जिम्मेवारीबोध थपेको छ ।

प्रयोगात्मक अभ्यास सहित सञ्चालन गरिएको (क्याड्रे) तालिमले विपद् आउँदा पहिलो उद्धारकर्ता समुदायकै युवा हुन् भन्ने सन्देशलाई थप बलियो बनाएको सहभागीहरूको भनाइ छ ।

सहभागी पुरुष जगत विकले तालिमले सिद्धान्त मात्र नभई व्यवहारिक सीप सिकाएको बताए । हामीले सिकेका सीप अब कागजमा सीमित रहने छैनन्,उनले भने, भैपरी आउने विपद्का घटनामा तत्काल उद्धार र व्यवस्थापनमा खटिनेछौँ ।

उनले सिकेको ज्ञान समुदाय स्तरमा फैलाउँदै थप युवालाई तयार पार्ने प्रतिबद्धता समेत जनाए । आगलागी, बाढी,पहिरो, भूकम्प जस्ता विपद् आउँदा नागरिक जोगाउने भूमिकामा सक्रिय हुने बताए ।

चन्दननाथ–५ कि पशुपति सुनारले तालिमलाई सीपको पुनर्ताजगीका रूपमा लिएकाे बताइन् । केही कुरा बिर्सिएका रहेछौँ, यो तालिमले फेरि सम्झायो र आत्मविश्वास बढाएकाे उनकाे भनाइ छ ।

उनले भनिन्, रेडक्रसद्वारा प्रदान गरिएको क्याड्रे तालिमले विपद् प्रतिकार्यमा संगठित रूपमा परिचालन हुन सिकाएको उल्लेख गर्दै उनले विपद् आएमा सिकेका सबै सीप प्रयोग गरी राहत र उद्धारमा अग्रपंक्तिमा खटिने बताइन् ।

नगर प्रहरी प्रमुख जंगबहादुर खत्रीले नगर क्षेत्रमा विपद्का घटना बढ्दै गएको सन्दर्भमा यस्तो तालिम अत्यन्त आवश्यक रहेको बताए । जोखिम बढिरहेको अवस्थामा युवा र नगर प्रहरी दुवै तयार हुनु सकारात्मक संकेत रहेकाे बताए । यसले राहत उद्धारमा छिटो र प्रभावकारी प्रतिक्रिया दिन सहयोग पुर्‍याउँछ।

प्रशिक्षक खगेन्द्रराज जोसी नेतृत्वको टोलीले दुई वर्ष अघि सुपर परियोजना मार्फत सुरु गरिएको क्याड्रे तालिमको निरन्तरता स्वरूप यो कार्यक्रम आयोजना गरिएको जानकारी दियो ।

विपद् पर्दा पहिलो प्रतिक्रिया समुदायमै हुन्छ, जोसीले भने, त्यसैले प्रत्येक टोल समुदायमा दक्ष युवा उद्धारकर्ता आवश्यक छन् । रेडक्रसले प्रदान गर्ने यस्तो तालिमलाई उनले समुदायका लागि अत्यन्त महत्वपूर्ण रहेकाे बताए ।

यस्तै नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा जुम्लाकि सुपर परियाेजना अधिकृत ईश्वर सुवेदीले स्थानीय तहलाई पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणमा सक्रिय हुन आग्रह गरिन् ।

विपद् जोखिम व्यवस्थापन प्रभावकारी बनाउन स्पष्ट योजना अनिवार्य छ, उनले भनिन् । जिम्मेवारी लिएका स्वयंसेवकले पूर्ण समर्पणका साथ काम गर्नुपर्नेमा जोड दिँदै उनले समुदाय आधारित विपद् व्यवस्थापनलाई संस्थागत बनाउनुपर्ने आवश्यकता औँल्याइन् ।

तालिमले चन्दननाथका युवालाई केवल सहभागी होइन, संकटका बेला अग्रपंक्तिमा उभिने उद्धारकर्ता बनाउने लक्ष्य लिएको रेडक्रस साेसाइटी जिल्ला शाखा जुम्लाकाे दाबी छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *