सम्पादकीय : दलहरुको शक्ति मापन हुने चुनाव !

आसन्न प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिदै गर्दा कर्णाली प्रदेशमा कुल दलको पक्षमा चुनावी मतपरिणाम जाला भन्ने विषयमा सर्वत्र चासो बढेको छ । जेन–जी आन्दोलपछि पहिलो पटक कर्णालीमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एक्ला एक्लै चनावी प्रतिस्पर्धामा देखिएकाले सर्वत्र चासो बढेको छ । २०७४ र २०७९ मा गठवन्धन गरेर अघि बढेका दलहरु यस पटक आफ्नो वास्तविक शक्ति मापन गर्ने क्रममा छन् । २०७९ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको निर्वाचनमा कर्णालीका केही जिल्ला बाहेक अधिकांशमा एमाले र कांग्रेस नै अघि थिए । कर्णालीमा तीन दलले पाएको प्रत्यक्ष र समानुपातिकतर्फको मत विश्लेषण गर्ने हो भने कालीकोट, सल्यान र रुकुम पश्चिम बाहेक अन्य सात जिल्लामा तत्कालिन माओवादीको कमजोर देखिन्छ । यी जिल्लाका कांग्रेस र एमालेको पनि मतको ट्रेन रामै्र देखिन्छ ।
२०७९ को समानुपातिकतर्फ अन्य सात जिल्ला मध्ये तीन जिल्लामा कांग्रेस बलियो देखिदा चार जिल्लामा एमालेको मत बढी छ । गएको निर्वाचनबाट अस्तित्वमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मत ट्रेण्ड सुर्खेत र सल्यानमा मात्र सन्तोषजनक देखिन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मत जुम्लामा बढी देखिन्छ । अन्य जिल्लामा यी दुई दलको समानुपातिक मत राम्रो छैन । २०७९ को प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट दलहरुलाई प्राप्त मत परिणामको आधारमा भन्ने हो भने यस पटक दलहरु एक्लाएक्लै लड्दा परम्पगत भोट जोगाउन सके एमाले अगाडी आउन सक्ने देखिन्छ । तीन दलिय गठवन्धन हुँदा पनि एमालेले पाएको प्रत्यक्ष र समानुपातिको मतले यसको पुष्टि गर्छ । यद्यपी २३–२४ भदौको जेन–जी आन्दोलनपछिको राजनीतिक उतार चढावले यसमा केही तलमाथि हुनसक्ने देखिन्छ । विकास र सुशासनको माग गर्दै सडकमा उत्रिएको नवयुवामाथिको दमनले देशलाई दुई वर्षअगावै निर्वाचनमा होमिएको छ । यो निर्वाचनमा तिनै नवयुवा निर्णायक हुनसक्ने बताइन्छ । तर, यस पटकको मतपरिणाम कता ढल्किन्छ त्यो २१ फागुन पश्चात मात्रै थाहा हुनेछ । कर्णालीमा दलहरुको वास्तविक शक्ति गठवन्धन गर्ने प्रवृत्तिले झै मापन हुन सकेको छैन ।
गठवन्धनकै कारण एक दललाई स्पष्ट बहुमत नआउनाले राजीतिक अस्थिरता प्रदेशमा पनि कायमै छ । जबसम्म राजनीतिक स्थिरता कायम हुँदैन तबसम्म विकास र समृद्धि सम्भव हुँदैन । जेन–जी आन्दोलनपछि हुन लागेको चुनावले पक्कै पनि नयाँ सन्देश दिएर जाने अपेक्षा छ । यस पटकको निर्वाचनमा कुनै पनि दलले गठवन्धन नगरी एक्लाएक्लै निर्वाचनमा होमिएकाले दलहरुको शक्ति मापन हुने आँकलन कर्णालीमा छ । गएका दुवै निर्वाचनमा एमाले र कांग्रेससँग छुट्टाछट्टै गगठवन्धन गरेर आफ्नो विरासत जोगाउँदै आएको तत्कालिन माओवादी हालको नेकपाको हैसियत कर्णालीमा पहिलो पटक मापन हुँदैछ । नेकपाले कर्णालीलाई आफ्नो जनाधार बलियो भएको ठान्दछ । यस्तै, गएको निर्वाचनमा प्रतिनिधिसभातर्फ एक सिट जितेको राप्रपा र समानुपातिकतर्फ एक सिट जितेको रास्वापा पनि चुनावी मैदानमा उत्रिएको छ । विशेष गरी जेन–जी आन्दोलनपछि नयाँ दलमा देखिएको आकर्षण पुराना दलका सामु चुनौती बन्न सक्ने आँकलन छ ।




