२०८२ माघ १२ गते
×

Now Playing

संघीय सरकारका कारण फेरी  अन्यौल बन्यो १० औं राष्ट्रिय खेलकुद

ओम शाही
सुर्खेत, ३० पुस ।
मुख्य आयोजक रहेको संघीय सरकारका कारण १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता पुनः अन्यौल बनेको छ । चौथो पटक गएको १९ कार्तिकमा जेन–जी आन्दोलनपछि बनेको पूर्वप्रधानन्याधिस सुशीला कार्की नेतृत्वको सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आगामी १–७ फागुनसम्म चौथो पटक प्रतियोगिताको मिति तय गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्का अध्यक्षसमेत रहेका मन्त्री गुप्ताको अध्यक्षतामा बसेको १३२औं बोर्ड बैठकले चौथो पटक प्रतियोगिताको मिति तय गरेको थियो । पछिल्लो पटक तय भएको मितिमा प्रतियोगिता सञ्चालन गर्न सकिने प्रसस्त आधार रहेपनि युवा तथा खेलकुद मन्त्रालयको ढिलासुस्तीले प्रतियोगिता अनिश्चित बनेको छ । बुधबार सुर्खेत पुगेका युवा तथा खेलकुद मन्त्री गुप्ताले तोकिएकै समयमा प्रतियोगिता नहुने आशयका बीच तयारी भने तीव्र पारेको दावी गरे । खेलकुदको मिति तय भएर आवश्यक तयारी थाल्ने बेला चुप लाग्ने तर समय घर्किसकेपछि मन्त्री गुप्ताले प्रतियोगितापूर्वका खरिद प्रक्रिया बल्ल अघि बढाउन लागेको बताए ।
‘खेलकुद प्रतियोगिता सञ्चालन गर्ने विषय सामान्य होइन । म जिम्मेवारीमा आइसकेपछि प्रतियोगिताका लागि बजेट सुनिश्चितदेखि विभिन्न समिति, उपसमिति गठन गरेर अघि बढको हो,’ मन्त्री गुप्ताले भने, ‘प्रतियोगिता सफल बनाउन संघ र प्रदेश सरकारबीच समन्व्य र सहकार्य हुन आवश्यक छ ।’ उनले तोकिएको मितिमा नभएपनि फागुनभित्रै प्रतियोगिता सञ्चालन गर्ने गरी अघि बढेको दावी गरे ।
कर्णालीमा कति खेल खेलाउन सकिन्छ भन्ने विषयमा पनि मन्त्री गुप्ता अनविज्ञ छन् । मन्त्री गुप्ताले दावी गरे अनुसार आगामी फागुनमा अहिलेकै अवस्थामा प्रतियोगिता सञ्चालन गर्न कानुनी बाटो खुल्ने देखिदैन । किनभने प्रतियोगिता सञ्चालनका लागि खेलकुद सञ्चालन निर्देशिका परिमार्जन गर्नुपर्ने हुन्छ । तर, निर्देशिका अहिलेसम्म परिमार्जन भएको छैन ।
अर्थ मन्त्रालयले रोक्का राखेको बजेट फुकुवा अझै नभएको अवस्थामा प्रतियोगिताका लागि आवश्यक खरिद प्रक्रिया अघि बढाएर फागुन पहिलो साता कुनैपनि हालतमा खेलकुद सञ्चालन गर्न सकिने अवस्था छैन । परिषद्को सार्वजनिक खरिद ऐन अनुसार कुनै पनि खेलकुद गतिविधि सञ्चालन गर्न आवश्यक पर्ने सेवा तथा सामग्री खरिद गर्न ३५ दिन अवधिसम्मको बोलपत्र आह्वान गर्नुपर्ने हुन्छ ।
त्यसपश्चात आएका बोलपत्र उपर मूल्यांकन गरी आपूर्तिकर्ता छनौट गर्न थप समय लाग्छ । तर, प्रतियोगिताको मिति आउन अब एक महिनामात्र बाँकी छ । ३ माघबाट २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता लागु हुँदैछ । प्राविधिकरुपमा मन्त्री गुप्ताले नेतृत्व गरेको मन्त्रालयको आयु २१ फागुनसम्म मात्रै हो । यसै कारण पनि मन्त्री गुप्ताले दावी गरेअनुसार फागुनको पहिलो साता त के चैत महिनामा पनि प्रतियोगिता नुहने निश्चि छ ।
कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलसँगको भेटमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहताले पनि तोकिएको मितिमा प्रतियोगिता सञ्चालन गर्न शैद्धान्तिरुपले सम्भव नहुने बताए ।
सदस्य सचिव मेहताले भने, ‘कुन खेल कसरी खेलाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न हामी यहाँ आएका हौं । खरिद प्रक्रियामा सहआयोजक रहेको प्रदेशसँग छलफल नगरी टेण्डरमा जान मिल्दैन । त्यहि मिति नरहला, यहाँहरुसँग छलफल गरेर अर्को मिति प्रस्ताव गरेर जाउँ भन्ने छ । शैद्धान्तिक हिसावले नियमित मितिमा प्रतियोगिता हुने निश्चय छैन ।’ मन्त्री र सदस्य सचिवका यी अभिव्यक्तिले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता कहिले हुने हो एकिन भन्न सकिने अवस्था छैन ।
३ कात्तिक २०७९ मा पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समापन समारोहबाट १०औँ प्रतियोगिता आयोजनाको जिम्मेवारी कर्णालीले पाएको थियो । तर, कर्णालीमा पहिलोपटक आयोजना हुन लागेको ‘खेलकुदको महाकुम्भ’ मानिने राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति यसअघि तीनपटक घोषणा भइसकेको छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट १० औँ को झण्डा पाएको कर्णालीमा २–८ मंसिर २०८१ मा प्रतियोगिताको पहिलो मिति तय भएको थियो । तर, प्रतियोगिताको उद्घाटन र अधिकांश खेल सञ्चालन हुने मुख्य पूर्वाधार कर्णाली प्रादेशिक रंगशाला निर्माण सम्पन्न नभएपछि पहिलो मितिमा प्रतियोगिता हुन सकेन । त्यसपश्चत २३–३० चैत २०८१ मा दोस्रोपटक, ३–१० जेठ २०८२ मा तेस्रोपटक १० औँ राष्ट्रिय खेलकुदको मिति तय भएको थियो । मौसमी प्रतिकूलता र पूर्वाधार अभाव देखाएर तेस्रोपटक तय भएको मिति पनि स्थगित भएको थियो ।
मन्त्री गुप्तासँग मुख्यमन्त्रीको असन्तुष्टि
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले १०औं राष्ट्रिय खेलुकदको तयारी गरेको खण्डमा प्रदेशले सहयोग गर्ने बताएका छन् । मुख्यमन्त्री कार्यालयमा मंगलबार संघीय सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईसँगको भेटमा मुख्यमन्त्रीले खेलकुद प्रतियोगिताका लागि संघ सरकारले अहिलेसम्म तयारीका कामहरु अघि नबढाएकोमा ध्यानाकर्षण गराए ।
उनले पछिल्लो पटक मिति तोकिसकेपछि संघीय सरकार र राष्ट्रिय खेलकुद परिषद्ले किन आवश्यक तयारी नगरेको भनि प्रश्न गरे । उनले प्रतियोगितापूर्वका आवश्यक तयारी पुरा गरे प्रदेश सरकारले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जनाए ।
‘अझै तपाईहरुले प्रतियोगिताका लागि आवश्यक पर्ने खरिदको प्रक्रिया अघि बढाउनु भएको छैन,’ कँडेलले भने, ‘खरिद प्रक्रिया पुरा समय लाग्छ । तपाई नहुने प्रतियोगिताका बारेमा जनतामा अनावश्यक भर्म छर्ने काम बन्द गुर्नस् । प्रतियोगिता हुने निश्चित भए प्रदेशले पूर्ण सहयोग गर्छ ।’
संघीय सरकारका कारण फेरी  अन्यौल बन्यो १० औं राष्ट्रिय खेलकुद

अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीन

Leave a comment

Your email address will not be published. Required fields are marked *