चुनावी कारण एसईई परीक्षा सरे पनि तयारी नछोड्न राष्ट्रिय परीक्षा बोर्डको आग्रह

ओम शाही 
सुर्खेत, २५ पुस।
यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा निर्धारित समयमा नहुने भएको छ । २३–२४ भदौको जेन–जी आन्दोलनपछि गठित पूर्वप्रधानन्याधिस सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी २१ फागुनमा तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण एसईई प्रभावित हुने भएको हो ।
निर्वाचनका कारण परीक्षा प्रभावित हुने भएपछि राष्ट्रिय परीक्षा बोर्डले आगामी चैतको पहिलो साता हुने एसईई परीक्षा सार्ने तयारी गरेको छ । माघको पहिलो साता बोर्ड बैठक राखेर औपचारिक निर्णय गर्ने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए ।
‘अहिले नै निर्णय भइसकेको छैन, तर चुनावले परीक्षा प्रभावित हुने निश्चित भएकाले अब माघ पहिलो साता बोर्ड बैठक बस्ने तयारी छ,’ नियन्त्रक अधिकारीले भने, ‘बोर्ड बैठकपछि औपचारिक निर्णय सार्वजनिक गर्छौं ।’ एसईईको प्रश्नपत्र र चुनावी मतपत्र दुवै जनक शिक्षा सामग्री केन्द्रले छाप्ने भएकाले बोर्डले प्रश्नपत्र छपाइको सन्दर्भमा जनक शिक्षासँग पनि थप छलफल र समन्वय गरेर निर्णय लिने जनाएको छ ।
अहिलेसम्म बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको छैन । त्यसैले परीक्षा तालिका पनि बोर्ड बैठकपछि माघ पहिलो साता नै सार्वजनिक हुने नियन्त्रक अधिकारीले जानकारी दिए । ‘अधिकांश शिक्षकहरू चुनावमा खटिने गर्छन् । मतदान केन्द्रसमेत धेरैजसो विद्यालयहरूमा नै हुने गर्छन् । बोर्डको वार्षिक तालिकाअनुसार आउँदो चैतमा परीक्षा हुँदा पनि पर्न त चुनावपछि नै पर्छ,’ नियन्त्रक अधिकारी भन्छन्, ‘प्रश्नपत्र छपाइसँगै त्यसको वितरण र सुरक्षाको कारणले पनि चुनौतीपूर्ण हुने भएकाले अब कस्तो खालको तयारी गर्ने भन्ने कुरा बोर्डमा नै छलफल हुन्छ ।’
त्यसैले पनि एसईई परीक्षा केही हप्तापछिलाई सार्ने बोर्डको तयारी छ । चुनावका कारण परीक्षा केही दिन पछि सरे पनि आफ्नो तयारी भने नछोड्न बोर्डले सबै विद्यार्थीलाई अनुरोध गरेको छ । यसले परीक्षाको तयारीमा कुनै पनि बाधा नपर्ने बोर्डले स्पष्ट पारेको छ ।
कर्णालीबाट ४५ हजार विद्यार्थी सहभागी हुने
यस वर्षको एसईई परीक्षामा कर्णालीबाट नियमित र पुरक गरी ४५ हजार विद्यार्थी सहभागी हुँदैछन् । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालय सुर्खेतका अनुसार यसवर्ष कर्णालीबाट ३७ हजार सात सय ३९ नियमित र पुरकतर्फ सात हजार ६ सय ४३ विद्यार्थीले एसईई परीक्षा दिनेछन् ।
शिक्षा विकास निर्देशनालय सुर्खेतका सूचना अधिकारी वरिष्ठ शिक्षा अधिकृत खिमप्रसाद ढकालका अनुसार यो तथ्यांक १० वटै जिल्लाका विद्यालयमा भर्ना भई अध्ययनरत विद्यार्थीको हो । उनले यसमा केही थपघट हुनक्सने बताए ।
‘यसवर्ष कर्णालीबाट ४५ हजार बढी विद्यार्थी एसईई परीक्षामा सहभागी हुने प्रारम्भिक तथ्यांक जिल्लाबाट प्राप्त भएको छ,’ ढकालले भने, ‘यसमा नियमिततर्फका विद्यार्थीसँगै गत साल अघिल्लो कक्षा पढ्न पाउने गरी ग्रेड प्राप्त नगरेका विद्यार्थीहरु पनि समावेश हुनुहुन्छ ।’ उनले परीक्षाको मिति सरे पनि आन्तरिक तयारीमा भने कुनै असर नपर्ने बताए ।
उनका अनुसार यस वर्षको एसईई परीक्षामा सबैभन्दा धेरै विद्यार्थी सुर्खेत जिल्लाबाट सहभागी हुनेछन् । त्यस्तै, सबैभन्दा कम विद्यार्थी डोल्पाबाट एसईई परीक्षामा सहभागी हुने ढकालले बताए । जसमा सुर्खेतबाट नौ हजार ६ सय ३५ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदा डोल्पाबाट ६ सय ८६ विद्यार्थी छन् ।
त्यस्तै, रुकुमपश्चिमबाट तीन हजार आठ सय ५१ विद्यार्थी एसईई परीक्षमा सहभागी हुनेछन् । जुम्लाबाट दुई हजार दुई सय, कालिकोटबाट तीन हजार एक सय १०, हुम्लाबाट एक हजार १०, दैलेखबाट ६ हजार सात सय विद्यार्थी एसईईमा सहभागी हुने शिक्षा विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार यसवर्ष जाजरकोटबाट चार हजार सात सय ६७, सल्यानबाट चार हजार तीन सय र मुगुबाट एक हजार चार सय ८० विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् ।
चुनावी कारण एसईई परीक्षा सरे पनि तयारी नछोड्न राष्ट्रिय परीक्षा बोर्डको आग्रह

विचार :  नेपाल र कोरियाबीच सम्बन्धका एक

चुनावी कारण एसईई परीक्षा सरे पनि तयारी नछोड्न राष्ट्रिय परीक्षा बोर्डको आग्रह

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds