कोसेबाली ओझेलिँदा तराईको माटो कमजोर बन्दै 

बर्दिया, २४ पुस ।

माटोको प्राकृतिक उपचार र उर्वराशक्ति वृद्धिका लागि महत्वपूर्ण मानिने कोसेबाली खेती बर्दिया लगायतका तराईका जिल्लामा क्रमशः घट्दै गएको छ । तीनै तहका सरकारले कोसेबाली खेती प्रणालीलाई प्राथमिकतामा नराख्दा यसको अभ्यास कमजोर बन्दै गएको सरोकारवालाहरूले बताएका छन् ।

बर्दियाको गुलरिया, मधुवन र ठाकुरबाबा नगरपालिकाका अगुवा किसानहरूले कोसेबाली खेतीका लागि स्थानीय तहबाट कुनै ठोस कार्यक्रम नआएको गुनासो गरेका छन् । अन्य खाद्यान्न बालीलाई प्राथमिकता दिँदा कोसेबाली उपेक्षित बन्दै गएको उनीहरूको भनाई छ ।

मधुवन नगरपालिकाका अगुवा किसान गजेन्द्रराज पोखरेलले पछिल्लो समय किसानहरू धान, गहुँ, उखुजस्ता बालीमा केन्द्रित हुँदा कोसेबाली खेती घट्दै गएको बताए । “नगरपालिकाले अरू बालीका लागि अनुदान र प्रवर्धनका कार्यक्रम ल्याए पनि कोसेबालीलाई खासै महत्व दिएको देखिँदैन” उनले भने, “यसले दीर्घकालमा माटोको उर्वराशक्ति कमजोर बनाउँदै लगिरहेको छ ।”

कोसेबाली अनुसन्धान कार्यक्रम खजुरा, बाँकेको आयोजनामा सम्पन्न कोसेबाली खेती तथा बिउ उत्पादनसम्बन्धी उन्नत प्रविधिको स्थलगत तालिममा सहभागी किसानहरूले कोसेबाली खेती घट्नुको प्रत्यक्ष असर माटोको उर्वराशक्तिमा देखिन थालेको बताएका छन् । उनीहरूका अनुसार रासायनिक मलको अत्यधिक प्रयोगले उत्पादन लागत बढ्नुका साथै माटोको स्वास्थ्यसमेत बिग्रँदै गएको छ ।

गुलरिया नगरपालिका–१, खैरापुरका कृषक दीपक पौडेलले खेती प्रणालीमा वर्षमा कम्तीमा एक पटक कोसेबाली समावेश गरे माटोको उर्वराशक्ति बढ्ने र रासायनिक मलको प्रयोग घटाउन सकिने बताए । “कोसेबाली खेतीले माटो सुधार्नुका साथै किसानलाई आर्थिक रूपमा पनि फाइदा हुन्छ,” उनले भने, “तर किसानहरूमा यसबारे पर्याप्त जानकारी र सचेतनाको कमी छ ।”

मधुवन नगरपालिकाका कृषि विकास शाखा प्रमुख एकराज वलीले यस वर्ष पहिलो पटक कोसेबाली खेती प्रवर्धनका लागि बजेट विनियोजन गरिएको जानकारी दिए । उनका अनुसार आगामी वर्षहरूमा अन्य खेती प्रणालीभन्दा कोसेबालीलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याउने योजना छ ।

कोसेबाली अनुसन्धान कार्यक्रम खजुराका कार्यक्रम संयोजक डा. अनिल पोखरेलले राज्यको पर्याप्त ध्यान नपुगे पनि किसानहरूले परम्परागत रूपमा कोसेबाली खेती अपनाउँदै आएको बताए । “अरू बालीको तुलनामा आम्दानी राम्रो हुनुका साथै माटोको उर्वराशक्ति बढाउने भएकाले किसानले कोसेबाली खेती गर्दै आएका छन्,” उनले भने ।

तर कोसेबालीलाई अझै पनि मुख्य बालीको रूपमा नलिइएकै कारण यसको खेती घट्दै गएको डा. पोखरेलको भनाई छ । बर्दियामा उखु, धान र गहुँ खेती विस्तार हुँदै जाँदा कोसेबाली ओझेलमा परेको छ । कोसेबाली घट्दै जाँदा माटोको उर्वराशक्ति कमजोर भई रासायनिक मलको माग बढ्दै गएको किसान र विज्ञहरूको निष्कर्ष छ । किसान र विज्ञहरूले दीर्घकालीन कृषि उत्पादन र माटो संरक्षणका लागि तीनै तहका सरकारले कोसेबाली खेतीलाई प्राथमिकतामा राखेर प्रवर्धन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

कोसेबाली ओझेलिँदा तराईको माटो कमजोर बन्दै 

कर्णालीमा छाँया प्रतिवेदन तयारी कार्यशाला सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds