बर्दियामा चितुवाको आक्रमण जारी, बारबर्दियामा दुई जना घाइते

बर्दिया ,१७ पुस।
बर्दियाको बारबर्दिया नगरपालिका–६ मनिकापुरमा बिहीबार बिहान चितुवाको आक्रमणमा दुई जना स्थानीय घाइते भएका छन्। नगर अस्पताल नजिकै बाटोमा हिँडिरहेको समयमा चितुवाले आक्रमण गरेपछि स्थानीयमा त्रास फैलिएको छ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका डिएसपी देवेन्द्र कुमार मल्लका अनुसार बिहीबार बिहान करिब साढे ७ बजे सोही स्थानका ५३ वर्षीय जलविर थारु र २५ वर्षीय ईश्वर थारु चितुवाको आक्रमणमा परेर घाइते भएका हुन्। बाटो हुँदै गन्तव्यतर्फ जाँदै गर्दा बस्ती नजिक रहेको जनजागृति सामुदायिक वनबाट आएको चितुवाले अचानक आक्रमण गरेको प्रहरीको भनाइ छ।
आक्रमणबाट ईश्वर थारुको बाँया खुट्टाको पाइताला र जलविर थारुको ढाडमा चोट लागेको डिएसपी मल्लले जानकारी दिनुभयो। दुवै घाइतेको अवस्था सामान्य रहेको र उपचार भइरहेको जनाइएको छ।
बर्दियामा पछिल्ला वर्षहरूमा चितुवाको आक्रमणका घटनाहरू निरन्तर बढ्दै गएपछि स्थानीयवासीहरू त्रसित बनेका छन्। बस्ती आसपासमै वन्यजन्तु देखिन थालेपछि दैनिक आवतजावत र बालबालिका तथा वृद्धवृद्धाको सुरक्षालाई लिएर स्थानीयमा चिन्ता बढेको छ।
प्रहरी र स्थानीयका अनुसार बर्दियामा विगत पाँच वर्षयता चितुवाको आक्रमणबाट ११ जनाले ज्यान गुमाइसकेका छन्।
चालु आर्थिक वर्षमा मात्र चितुवाको आक्रमणमा ६ जनाको मृत्यु भइसकेको छ भने १० जनाभन्दा बढी घाइते भएका छन्।
लगातार भइरहेका घटनापछि स्थानीयवासीहरूले वन्यजन्तु नियन्त्रण तथा बस्ती सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सम्बन्धित निकायसँग माग गरेका छन्। वन क्षेत्र नजिकका बस्तीमा निगरानी बढाउन, चेतनामूलक कार्यक्रम सञ्चालन गर्न र जोखिम न्यूनीकरणका उपाय तत्काल लागू गर्नुपर्ने आवश्यकता देखिएको स्थानीयको भनाइ छ।
बर्दियामा चितुवाको आक्रमण जारी, बारबर्दियामा दुई जना घाइते

गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

Leave a comment

Your email address will not be published. Required fields are marked *