प्रशासनिक चुस्ती–चाखलाग्दो सेवा अभियान : नवागन्तुक सिडिओ पौडेलको अठोट

गोल्डेन बुढा
जुम्ला,४ मंसिर ।
नव नियुक्त प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिपक पौडेलले जुम्लामा सुशासन, पारदर्शिता र जनउत्तरदायित्वलाई प्राथमिक एजेन्डा बनाउँदै ‘सेवा–सचेतना अभियान’ सुरू गर्ने घोषणा गरेका छन्।
बिहीबार आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले जिल्लाका आठै स्थानीय तहमा सरकारी सेवासम्बन्धी विस्तृत जानकारी, जनगुनासा समाधान र समन्वय अभिवृद्धिका कार्यक्रम क्रमबद्ध रूपमा सञ्चालन गरिने बताए।पौडेलका अनुसार प्रशासनको पहिलो चिन्ता सरकारी सेवाको प्रभावकारिता र जनतासम्म यसको पहुँच हो। “सरकारका सेवा जनतासम्म प्रभावकारी ढंगले पुगेका छन् कि छैनन् भन्ने हाम्रो मूल सरोकार हो,” उनले भने, “पत्रकार, कर्मचारी र स्थानीय तहसँग सहकार्य गर्दै जनताको अनुभवमा आधारित सुधार लागू गर्छौँ।”पत्रकार भेटघाटमा सहभागी सञ्चारकर्मीहरूले विकास योजनाको ढिलाइ, शान्ति–सुरक्षा, सुशासन र सेवा प्रवाहमा देखिएका चुनौतीबारे सुझाव राखेका थिए।
विशेषगरी सुरक्षा व्यवस्थाको संवेदनशील पक्षमा थप ध्यान दिनुपर्ने सुझावलाई पौडेलले गम्भीरतापूर्वक लिँदै समयमै सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।सिडिओ पौडेलले सूचना प्रवाहमा पारदर्शिता, कार्यालयीय ढिलासुस्ती अन्त्य तथा सेवा वितरणलाई छरितो बनाउन पत्रकार समुदायसँग निरन्तर सहकार्यको अपेक्षा राखे। “सकारात्मक आलोचना र सुझाव नै सुधारका आधार हुन्,” उनले भने, “यहाँबाट उठेका प्रतिपादनहरूलाई कार्यान्वयनमा प्राथमिकता दिन्छौँ।”पूर्व सिडिओ केदारनाथ शर्माको सरुवापछि जुम्लाको ४७औँ सिडिओका रूपमा दायित्व सम्हालेका पौडेलले प्रशासनमार्फत प्रदान गरिने नागरिकता, राष्ट्रिय परिचयपत्र, सिफारिस लगायत सेवालाई ‘एकै झ्यालमै छिटो–छरितो’ बनाइने उल्लेख गरे। एकै कामका लागि पुनःपुनः धाउनुपर्ने प्रचलन अन्त्य गर्ने उनले अठोट व्यक्त गरे।जिल्लाको शान्ति–सुरक्षा, अमनचयन, सुशासन र विकास–निर्माणका विषयमा सूक्ष्म र प्रभावकारी ढंगले काम गर्ने योजनासहित पौडेलले गाउँ–गाउँ पुगेर सेवा, प्रक्रिया, लागू–औषध दुव्र्यसनी न्युनिकरण तथा हिमपात पूर्वतयारीबारे सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको जानकारी गराए।
साथै जनगुनासा सुनुवाइ संयन्त्रलाई थप result-oriented बनाइने प्रशासनको योजना रहेको उनले स्पष्ट पारे।जिल्लाको विकास र समृद्धिमा ‘समन्वय र सहकार्य’लाई मुख्य उपकरणका रूपमा अघि सारेका सिडिओ पौडेलको सक्रियतासँगै जुम्लामा सेवा प्रवाह र प्रशासनिक चुस्तीले नयाँ गति लिने अपेक्षा गरिएको छ।





