“दु:खकाे बेडमा आमा आशाकाे छेउमा छाेरा”

गाेल्डेन बुढा
जुम्ला,२७ कार्तिक ।
जुम्लाको चन्दननाथ नगरपालिका–८, तलिउम गाउँकी ४० वर्षीया दर्शना दमाई करिब एक वर्षदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालको बेडमै जीवन बिताइरहेकी छन्। उनी प्रतिष्ठानकाे ३० नम्बर बेडमा छन्।घरको पुरानो भर्याङबाट लडेकी एक साँझ उनको मेरुदण्ड भाँचियो, र त्यससँगै उनको चलायमान जीवन ठप्प भयो। त्यस दिनदेखि उनी उठ्न, बस्न, वा आफ्नै शरीरका तल्ला अङ्ग हल्लाउन समेत असमर्थ छिन्।उनको वाक्य छोटो तर भिन्न पिडाले भरिएको छ।“म त जिउँदो लास सरह भएकी छु। शरीर चल्दैन, अब उठ्न सक्दिन। तर म भन्दा ठूलो चिन्ता त मेरो छोराको भविष्य हो।”उनको शैय्याको छेउमा बस्छन् ११ वर्षका छोरा विकास दमाई।सामान्य अवस्थामा यो उमेरका बालक बिहान स्कुलको झोला बोकेर कक्षाकोठातिर हिँड्ने बेला हो।

तर विकासको दिनचर्या फरक छ।ऊ बिहान आमाको हात समाएर उठ्छ, कहिले आमालाई पानी खुवाउँछ, कहिले अस्पतालको कोरिडोरमा दौडेर औषधि ल्याउँछ।रात पर्छ, ऊ आमा छेउमै सुत्छ। यही हो उसको संसार—अस्पतालको वाड।विकासले भन्छ,“बाबा मर्नुभयो, आमाको मेरुदण्ड भाँचियो। मलाई भात खान दिने मान्छे छैन, म स्कुल कसरी जानु? त्यसैले म यही अस्पतालमै बस्छु।”आमा बिरामी नहुँदासम्म उनी भगवती आधारभूत विद्यालय, जातिभिडमा कक्षा दुईमा पढ्थे।तर,आमाको दुर्भाग्यसँगै उनको पढाइ पनि बिरामी भयो।दर्शना र विकास दमाईको जीवनले राज्यको संवेदनशीलता र सामाजिक उत्तरदायित्वको वास्तविक मापन गरिरहेको छ।दर्शना आफैं खाना खान सक्दिनन्, दिशा–पिसाब पनि शरीरमै हुने गर्छ। उनको माईती पक्षका भाइहरूले कहिलेकाहीँ अस्पतालमा हेरचाह गर्छन्, तर उनीहरू पनि आफ्नै दैनिकीमा संघर्षरत छन्।“हाम्रो माईती त गरीब छ,” दर्शना भन्छिन्,“तर राज्यले हेरोस् न। मेरो छोरो पढोस्, दुःख नपाओस्,यहीँ मेरो अन्तिम इच्छा हो।”छोराको जन्मदर्ता हराइसकेको छ, उमेर करिब ११ वर्ष जति। उनीहरू दैनिक ज्यालामजदुरीमा निर्भर परिवार हुन्, अहिले त्यो पनि असम्भव छ।समाजमा जब बालबालिका स्कुलतिर लाग्छन्, त्यही समाजको एक कुनामा विकासजस्ता बालक अस्पतालको बेड छेउमा बसिरहेका हुन्छन्।
यो दृश्य केवल व्यक्तिगत दुःख होइन,राज्य र समाजको मौन असफलताको दर्पण हो।शिक्षा, पालन,पोषण र पुनःस्थापनाको जिम्मेवारी केवल परिवारको नभई राज्य र समाजकै हो।तर हाम्रो प्रणालीमा त्यस्ता बालबालिकाको भविष्य‘विपन्नता’को सिकार बनिरहेको छ।दर्शनाको उपचार कर्णाली प्रतिष्ठानले निःशुल्क गरिरहेको छ ।






