जुम्लामा निर्वाचन तयारी तिव्र

गाेल्डेन बुढा
जुम्ला,२४ कार्तिक ।
आउँदो फागुन २१ गते हुने संघीय निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय जुम्लाले तयारीका काम तीव्र पारेको छ।फोटो सहितको मतदाता नामावली संकलनदेखि मतदान स्थल र मतदान केन्द्र निर्धारणसम्मका विषयमा छलफल सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।निर्वाचन कार्यालयका निमित्त प्रमुख नारायणी चौलागाईं (आचार्य)का अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठन गरिएको मतदान स्थल तथा केन्द्र सिफारिस समितिका दुई बैठक भइसकेका छन्।
‘जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गर्दै तयारीका काम अघि बढाइएका छन्,’उनले भनिन्।आगामी कार्तिक ३० गते तेस्रो बैठक बसेर मतदान स्थल र केन्द्रको टुंगो लगाइने तयारी भइरहेको उनले जानकारी दिइन्।गतअसोज १० गतेदेखि हालसम्म ३ सय ५२ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।जसमध्ये २ सय २१ पुरुष र १ सय २१ महिला रहेका छन्। साथै, जिल्लाबाहिरका १६ जनाले पनि दर्ता गराएका छन् (१३ पुरुष, ३ महिला)दर्ता प्रक्रिया विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ। तर, इन्टरनेट सेवा अवरुद्ध हुने समस्या र चिसो मौसमले कार्यमा कठिनाइ भएको निमित्त प्रमुख चौलागाईंको भनाइ छ।‘निर्वाचन तालिका अनुसारका काम भइरहेका छन्, तर चिसोले साथ दिइरहेको छैन,’ उनले भनिन्।हिमाली जिल्ला जुम्लामा चैत महिनासम्म हिमपात हुने भएकाले फागुनमा निर्वाचन मिति प्रतिकूल हुने जनप्रतिनिधि र स्थानीयले बताएका छन्।चन्दननाथ नगरपालिका–७ महतगाउका कालीबहादुर महतका अनुसार, ‘फागुनमा यहाँ हिउँले गाउँ पुरै ढाक्छ। अर्कोतर्फ, रोजगारीको सिलसिलामा भारत र तराई झर्नेहरू चैततिर मात्रै फर्किन्छन्, जसले मत खसाउने दर घट्ने सम्भावना छ।’अहिले सिंजा क्षेत्रमा महिला, बालबालिका र वृद्धवृद्धामात्र देखिन्थे, उनले बताए। स्थानीय अनुमानअनुसार यसपालि ५० प्रतिशतभन्दा कम मत खस्न सक्ने सम्भावना छ।जिल्लामा हाल ८३ मतदान स्थल र १ सय ८ मतदान केन्द्र (२ अस्थायीसहित) निर्धारण गरिएको छ। अस्थायी जिल्ला कारागार र साल्ट्रेङिमा ताेकिएकाे छ।कुल मतदाता संख्या ६९ हजार ४ सय ५६ रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्यांकमा उल्लेख छ।मतदाता नामावली दर्ताका लागि दैनिक भीड बढ्दै गएको कार्यालयले जनाएको छ।
नाम दर्ता गर्नका लागि कार्तिक ३० गतेसम्म समय खुला गरिएको छ।हालै सम्पन्न बैठकमा नेपाली कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र) नेमकिपा लगायतका दलहरूको सहभागिता रहेको थियो।बैठकमा सहभागी जनप्रतिनिधिहरूले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले भने,‘निर्वाचन कार्यालयले प्रस्तुत गरेको मतदाता र मतदान केन्द्रसम्बन्धी प्रस्तावमा सबै दल सहमत छन्। निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सबै पक्ष एकजुट भएका छन्।’






