‘देउता आयो’ भन्दै स्कुलमै कराउन थाले विद्यार्थी

गाेल्डेन बुढा

जुम्ला,८ जेठ।
जुम्लाकाे पातारासी गाउँपालिका–२ स्थित ऋणोमक्ष माध्यमिक विद्यालय शुक्रबार बिहानदेखि असामान्य घटनाले तनावग्रस्त बन्यो। नियमित प्रार्थना लाइन चलिरहेका बेला एक छात्रा अचानक ठूलो स्वरमा कराउन थालिन्। केही क्षणमै अर्को छात्रा ढलिन्। त्यसपछि एकपछि अर्को गर्दै विद्यार्थीहरू रुने, चिच्याउने, शरीर काम्ने र “देउता आयो” भन्दै कराउन थालेपछि विद्यालय परिसरमा भय, त्रास र अन्योल फैलियो।घटना बढ्दै गएपछि विद्यालय प्रशासनले पठनपाठन नै बन्द गर्नुपरेको छ। प्रधानाध्यापक कृष्ण बुढाका अनुसार अवस्था नियन्त्रणबाहिर जान थालेपछि विद्यार्थीलाई घर पठाइएको हो।“शिक्षकले सम्हाल्नै कठिन भयो,” उनले नागरिकसँग भने, “एक जना कराउन थालेपछि अर्कोमा पनि उस्तै समस्या देखिन थाल्यो। बालबालिका डराए, अभिभावक पनि विद्यालयतिर दौडिए।”विद्यालयका अनुसार शुक्रबार मात्रै १८ जना छात्रा र एक जना छात्रमा यस्तो समस्या देखिएको थियो। केही विद्यार्थी बेहोसजस्तै हुने, केही निरन्तर रोइरहने र केहीले अस्वाभाविक व्यवहार देखाएको विद्यालयले जनाएको छ।बिहीबारदेखि सुरु भएको यो क्रम शुक्रबार बिहान झन् तीव्र बनेपछि गाउँपालिकाको शिक्षा शाखासँग समन्वय गरेर विद्यालय बन्द गरिएको हो।“आज त घर पठायौँ,” विद्यालयका शिक्षकहरूले भने, “तर फेरि यस्तो भए के गर्ने भन्ने चिन्ता छ।

बालबालिका मात्र होइन, शिक्षकसमेत मानसिक दबाबमा छन्।”यस्तै प्रकृतिको घटना केही दिनअघि सिंजा गाउँपालिका–६ स्थित शान्तिजन आधारभूत विद्यालय, काडागाउँमा पनि देखिएको थियो। त्यहाँका विद्यार्थी रुने, कराउने र बेहोस हुने भिडियो सामाजिक सञ्जालमा व्यापक फैलिएको थियो। भिडियो भाइरल बनेपछि घटनालाई ‘देउता लागेको’ भन्दै गाउँघरमा विभिन्न अड्कलबाजी सुरु भएका थिए।स्थानीय स्तरमा यस्ता घटनालाई अझै पनि घटना हुनेबित्तिकै धामीझाँक्री बोलाउने, पूजा गर्ने र धार्मिक व्याख्या गर्ने क्रम दोहोरिने गरेको स्थानीय बताउँछन्।तर स्वास्थ्य क्षेत्रका विज्ञहरूले भने यस्ता घटनालाई अन्धविश्वासको दृष्टिले नभई मनोवैज्ञानिक समस्याका रूपमा बुझ्नुपर्नेमा जोड दिएका छन्।जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका मनोपरामर्शदाता नन्दराज आचार्यका अनुसार यो अवस्था ‘मास कन्भरजन डिसअर्डर’ अर्थात् सामूहिक मनोवैज्ञानिक प्रभावसँग सम्बन्धित हुन सक्छ।“डर, तनाव, सामाजिक प्रभाव र भावनात्मक असुरक्षाले विशेषगरी किशोरावस्थाका बालबालिकामा यस्तो प्रतिक्रिया देखिन सक्छ,” उनले भने, “एक जनामा देखिएको व्यवहार अर्कोमा पनि सर्ने सम्भावना हुन्छ। विशेषगरी भीडभाड, अत्यधिक गर्मी, मानसिक दबाब र डरको वातावरणमा यस्तो समस्या बढ्न सक्छ।”कर्णालीका अधिकांश विद्यालयमा नियमित मनोसामाजिक परामर्शको व्यवस्था छैन। ग्रामीण क्षेत्रमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना कमजोर हुँदा यस्ता घटनालाई अझै पनि ‘देउता’, ‘भूतप्रेत’ वा ‘अलौकिक शक्ति’सँग जोडेर बुझ्ने प्रवृत्ति कायमै छ।

‘देउता आयो’ भन्दै स्कुलमै कराउन थाले विद्यार्थी

जुम्लामा कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *