जुम्लामा कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण

गाेल्डेन बुढा

जुम्ला ,८ जेठ ।
जुम्लामा कृषकलाई हाते ट्याक्टर वितरण गर्न थालिएको छ। परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्दै उत्पादन वृद्धि, श्रम अभावको व्यवस्थापन र बाँझिँदै गएका खेतबारीलाई पुनः उपयोगमा ल्याउने उद्देश्यसहित कृषकलाई अनुदानमा हाते ट्याक्टर (मिनिटिलर) उपलब्ध गराउन थालिएको हो।राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ जुम्लाले ‘कृषि यान्त्रीकरण सहयोग कार्यक्रम’ अन्तर्गत कृषक समूह, सहकारी, कृषि फर्म तथा उद्यमीलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिरहेको छ। कार्यालय प्रमुख खेमराज शाहीका अनुसार चालु आर्थिक वर्षमा मात्रै ४६ वटा कृषि समूह, सहकारी, कृषि फर्म तथा उद्यमी छनोटमा परेका थिए। तीमध्ये ४३ जनासँग सम्झौता सम्पन्न भइसकेको छ भने हालसम्म १८ जना कृषकले हाते ट्याक्टर लगिसकेका छन्।कार्यक्रमअन्तर्गत पाँच हर्च पावर पेट्रोल इन्जिन, सात हर्च पावर पेट्रोल इन्जिन र सात हर्च पावर डिजेल इन्जिनयुक्त मिनिटिलर वितरण गरिने भएको छ। जुम्लाका आठवटै स्थानीय तहसँगै कालिकोटको रास्कोट गाउँपालिका र तिलागुफा नगरपालिकासम्म कार्यक्रम विस्तार गरिएको छ। कृषकले आफैं उपकरण खरिद गर्ने र कार्यालयले प्रमाणीकरणपछि अनुदान रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ। यस कार्यक्रमका लागि १२ लाख ४४ हजार रुपैयाँ विनियोजन गरिएको कार्यालयले जनाएको छ।हिमाली भूगोल, श्रम अभाव र परम्परागत खेती प्रणालीका कारण पछिल्ला वर्षमा जुम्लामा खेतीयोग्य जमिन निरन्तर बाँझिँदै गएको छ।

खेत जोत्न गोरु पाल्नुपर्ने, मल व्यवस्थापन गर्न कठिन हुने र युवाशक्ति विदेश पलायन हुँदै जाँदा कृषिमा श्रमिक अभाव चर्किंदै गएको छ। यही अवस्थालाई सम्बोधन गर्न कृषि यान्त्रीकरणलाई अब विकल्प होइन, आवश्यकता रूपमा लिन थालिएको कृषि विज्ञहरू बताउँछन्।कार्यालय प्रमुख शाहीका अनुसार जुम्लाको आर्थिक मेरुदण्ड कृषि भए पनि उत्पादन प्रणाली अझै परम्परागत ढाँचामै सीमित छ। “कृषि र वन पैदावारलाई औद्योगिकीकरणसँग जोड्न सके मात्र रोजगारी सिर्जना हुन्छ,” उनले भने, “अनुदानमा वितरण गरिएका मिनिटिलरले खेतबारीमा यान्त्रीकरणको प्रयोग बढाउने मात्रै होइन, उत्पादनलाई बजारसँग जोड्ने सम्भावना पनि बढाएको छ।”हाते ट्याक्टरको प्रयोगले विशेषगरी पाखोबारी र घरदेखि टाढा रहेका खेतमा सहज खनजोत गर्न सकिने किसानको अनुभव छ। परम्परागत हलो बोकेर टाढाका खेत जोत्न नसक्दा धेरै जमिन बाँझै छाड्नुपरेको अवस्था अहिले क्रमशः बदलिन थालेको छ। इन्धनबाट सञ्चालन हुने मिनिटिलरले कम समय र कम श्रममा खेत जोत्न सक्ने भएकाले कृषक आकर्षित हुन थालेका हुन्।सूचना अधिकारी पदमराज कार्कीका अनुसार हिमाली क्षेत्रमा अझै पनि आधुनिक कृषि औजारको प्रयोग न्यून छ। “बलौटे माटो, कठिन भूगोल र पुरानै शैलीको खेती प्रणालीका कारण रैथाने बालीहरू विस्थापित हुँदै गएका छन्,” उनले भने, “सयौँ रोपनी जमिन बाँझिँदै जानु केवल उत्पादन घट्नु मात्र होइन, स्थानीय खाद्य संस्कृतिमाथिको संकट पनि हो।”उनका अनुसार कृषिमा आधुनिकीकरण नहुँदा उत्पादकत्व निरन्तर घट्दो छ। खनजोतदेखि मलजलसम्म आवश्यक ज्ञान, प्रविधि र उपकरणको अभावले हिमाली कृषि अझै जोखिमपूर्ण श्रममा आधारित छ। “सडक, शिक्षा, सञ्चार र खानेपानी गाउँगाउँ पुगे पनि कृषिमा आधुनिक प्रविधि पुर्‍याउन ढिलाइ भयो,” कार्कीले भने, “अब कृषिलाई जीविकोपार्जनको साधन मात्र होइन, व्यवसायको रूपमा स्थापित गर्न आवश्यक छ।”कृषि यान्त्रीकरण कार्यक्रम नयाँ भने होइन। कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा २२ जना, २०७५/०७६ मा ४८ जना, २०७६/०७७ मा ४६ जना, २०७७/०७८ मा ४२ जना, २०७९/०८० मा ५८ जना र २०८०/०८१ मा ६० जना व्यक्ति, समूह, फर्म तथा सहकारीलाई हाते ट्याक्टर वितरण गरिएको थियो। पछिल्ला वर्षमा कृषकको आकर्षण बढ्दै गएको कार्यालयको दाबी छ।तर कृषि यान्त्रीकरणको आवश्यकता उपकरण वितरणसँग मात्र जोडिएको विषय होइन। यसको सम्बन्ध जुम्लाको घट्दो उत्पादन, बाँझिँदो जमिन र खाद्य सुरक्षासँग प्रत्यक्ष रूपमा गाँसिएको छ। कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लाको कुल क्षेत्रफल २ लाख ५३ हजार १ सय हेक्टरमध्ये ३८ हजार ४ सय ८६ हेक्टर जमिन खेतीयोग्य छ। यो कुल भूभागको १५.२१ प्रतिशत हो।त्यसमध्ये १२ हजार ५१ हेक्टर अर्थात ३१.३१ प्रतिशत खेतीयोग्य जमिन बाँझो रहेको तथ्यांकले देखाउँछ। सिंचित जमिन ३ हजार ६ सय ५० हेक्टर अर्थात १३.८१ प्रतिशत मात्र छ भने २२ हजार ७ सय ८५ हेक्टर अर्थात ८६.१९ प्रतिशत खेती अझै आकाशे पानीमा निर्भर छ।जुम्लामा परापूर्वकालदेखि धान, गहुँ, मकै, जौँ, कोदो, चिनो, कागुनो, फापर र आलु प्रमुख बालीका रूपमा उत्पादन हुँदै आएका छन्। चालु आर्थिक वर्ष २०८०/०८१ को तथ्यांकअनुसार जिल्लामा १४ हजार ५ सय ३३ हेक्टर क्षेत्रफलमा खाद्यान्न बाली खेती भइरहेको छ भने कुल उत्पादन २४ हजार २ सय ३१ मेट्रिकटन पुगेको छ।धान २ हजार ८ सय ९० हेक्टरमा खेती भई ५ हजार ९ सय ८७ मेट्रिकटन उत्पादन भइरहेको छ। मकै ४ हजार ४ सय ५० हेक्टरमा खेती भई १० हजार ५ सय मेट्रिकटन उत्पादन भइरहेको सूचना अधिकारी दिपक सिंह धामीले बताए। त्यसैगरी कोदो २ हजार ७ सय ४० हेक्टरमा खेती भई ३ हजार ८ सय ५० मेट्रिकटन, जौँ १ हजार ९ सय ३५ हेक्टरमा खेती भई ३ हजार ५ सय १५ मेट्रिकटन उत्पादन भइरहेको छ।फापर ९५ हेक्टरमा खेती भई १ सय १० मेट्रिकटन, उवा १० हेक्टरमा खेती भई १५ मेट्रिकटन, चिनो २ सय हेक्टरमा खेती भई २ सय ४० मेट्रिकटन तथा कागुनो १३ हेक्टरमा खेती भई १४.३ मेट्रिकटन उत्पादन भइरहेको तथ्यांकमा उल्लेख छ। खेतमा पसिना बगाउने हात घटिरहेका छन्। गाउँका युवा रोजगारीका लागि विदेश पलायन भइरहेका छन्। बाँकी रहेका वृद्ध, महिला र बालबालिकाले परम्परागत औजारकै भरमा खेती धान्नुपर्ने अवस्था छ।

जुम्लामा कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण

‘देउता आयो’ भन्दै स्कुलमै कराउन थाले विद्यार्थी

Leave a comment

Your email address will not be published. Required fields are marked *