जाडो बढेसँगै डोल्पाका सामुदायिक विद्यालयहरू बन्द

डोल्पा ,१५ पुस।
हिमाली जिल्ला डोल्पामा अत्यधिक जाडो बढ्दै गएपछि सामुदायिक विद्यालयहरू बन्द हुन थालेका छन् । चिसो मौसमका कारण विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै जिल्लाका भित्रका विद्यालयहरू बन्द हुने भएका हुन् ।
डोल्पाको मुड्केचुला गाउँपालिका भित्र सञ्चालित सबै सामुदायिक विद्यालयहरू हिजो ( सोमबार) देखि बन्द गरिएको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाका अनुसार पछिल्लो समय तापक्रम निकै घटेको र बालबालिकाहरू चिसोबाट प्रभावित हुन थालेपछि सावधानी स्वरूप सदाझैं यो पटकपनि विद्यालय बन्द गरिएको हो ।
गाउँपालिकाले दिएको जानकारीअनुसार पालिका भित्रका सामुदायिक विद्यालयहरू आगामी फागुन १० गतेसम्म करिब दुई महिनासम्म बन्द रहनेछन् । त्यस्तै जिल्लामा जाडोको प्रभाव बढ्दै गएसँगै त्रिपुरासुन्दरी नगरपालिका भित्रका सामुदायिक विद्यालयहरू पनि बन्द गर्ने तयारी गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिकाका शिक्षा शाखा प्रमुख यमप्रसाद शर्माका अनुसार हाल पालिका भित्रका सामुदायिक विद्यालयहरूमा शैक्षिक सत्रको वार्षिक परीक्षा सञ्चालन भइरहेको छ ।
उनले परीक्षा सम्पन्न भएलगत्तै जाडोको अवस्थालाई मध्यनजर गर्दै आगमी पुस २० गते भित्र विद्यार्थीहरूको वार्षिक नतिजा प्रकशित गरेर विद्यालय बन्द गरिने जानकारी दिए । त्रिपुरासुन्दरी र मुड्केचुला मात्रै नभई जिल्लामा चिसो बढ्दै गएपछि डोल्पाका सबै पालिकाले विद्यालय बन्द गर्ने भएका छन् । तल्लो डोल्पाका सामुदायिक विद्यालयहरु बन्द हुने तयारीमा गरिरहँदा माथिल्लो डोल्पाका विद्यालयहरू भने छ महिनाको लागि बन्द भै सकेका छन् ।






