प्रतिनिधिसभा निर्वाचनः कैलालीमा १२ मतदान केन्द्र थप

कैलाली, १५ पुस ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कैलालीमा १२ वटा मतदान केन्द्र थपिएको छ । विसं २०७९ को निर्वाचनको तुलनामा मतदाता सङ्ख्या बढेसँगै आगामी निर्वाचनका लागि मतदान केन्द्र थपिएको हो ।
वि.सं. २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा जिल्लामा ६२९ मतदान केन्द्र रहेकामा आगामी निर्वाचनका लागि १२ मतदान केन्द्र थपिएर ६४१ मतदान केन्द्र कायम भएको प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए । मतदानस्थल भने साविककै २३७ वटा रहेको उनले जानकारी दिए ।
मतदाता सङ्ख्या बढेसँगै मतदान केन्द्र थप भएको उनको भनाइ छ । जिल्लामा यस वर्ष १६ हजार ७०८ आठ मतदाता थपिएका कार्यालय प्रमुख भट्टले बताए । उनका अनुसार अघिल्लो निर्वाचनमा जिल्लामा पाँच लाख ३४ हजार ३४४ मतदाता रहेका थिए । यस वर्ष पाँच लाख ५१ हजार ५२ मतदाता रहेका उनले बताए । जसमध्ये, दुई लाख ८० हजार २४३ महिला, दुई लाख ७० हजार ७९८ पुरुष र ११ जना अन्य मतदाता रहेका छन् ।
पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा क्षेत्र नं १ मा एक लाख आठ हजार ४९१, क्षेत्र नं २ मा एक लाख सात हजार ७५७, क्षेत्र नं ३ मा एक लाख नौ हजार १२२, क्षेत्र नं ४ मा एक लाख १५ हजार १४३ र क्षेत्र नं ५ मा एक लाख १० हजार ५३९ मतदाता रहेका प्रमुख भट्टले जानकारी दिए ।






