जुम्लाका स्याउ किसान र बीमा कम्पनीबीच किन भइरहेको छ विवाद ?

जुम्ला, १५ पुस ।
जुम्लाका स्याउ किसान र शिखर इन्स्योरेन्स कम्पनीबीच पछिल्ला केही महिना यता टकराव चलिरहेको छ । कम्पनीले पाँच वर्षअघि सुरु गरेको मौसमी सूचकांकको आधारमा गरिने बीमाको भुक्तानीलाई लिएर जुम्लाका स्याउ किसान आन्दोलनमै उत्रिन बाध्य बनेका छन् ।
मौसमजन्य प्रकोपबाट स्याउमा क्षति पुगेपछि किसानहरुले पटक–पटक आफुहरुले तिरेको मूल्य बराबरको भुक्तानी पाउनुपर्ने माग गर्दै आएका छन् । बीमावापतको रकम भुक्तानीमा आनाकानी गरेपछि किसानहरुले शिखरको जुम्लास्थित शाखा कार्यालयमा पुनः ताला लगाइदिएका छन् ।
बीमा रकम भुक्तानीको विषयमा आइतबार जिल्ला प्रशासन कार्यालय जुम्लामा भएको छलफल निष्कर्षबिहीन बनेपछि आक्रोशित तातोपानी, कनकासुन्दरी र पातारासी गाउँपालिकाका किसानहरूले शिखरको शाखा कार्यालयमा ताला लगाएका हुन् । लामो समयदेखि स्याउ बिमावापतको रकम नपाएको गुनासो गर्दै आएका किसानले पटक–पटक लिखित तथा मौखिक अनुरोध गर्दा पनि कम्पनीले बेवास्ता गरेको आरोप लगाउँदै आएका छन् ।
किसान र बीमा कम्पनीबीच टकराव हुनुको मुख्य कारण खडेरी र असिना पानी हो । शिखरले किसानलाई मौसमी फेरबदलबाट पुगेको क्षतिवापत बीमा रकम उपलब्ध गराउने गरी बीमा पोलिसी जारी गरेको छ । सोही बमोजिम दुई वर्षअघि स्याउको बीमा गर्न जुम्लाका पालिकाले सूचना आह्वान गरेका थिए ।
उति बेला प्रति बोट ३६ रुपैयाँ २० पैसाका दरले किसानले स्याउको बीमा गरेका थिए । असिना र खडेरीका कारण स्याउ खेतीमा क्षति पुगेपछि किसानहरुले पहिलो पटक भुक्तानी दावी गरे । सुरुमा भुक्तानी दिन आलटाल गरेपछि चन्दननाथ नगरपालिकाका किसानले विरोध जनाएका थिए । किसानको आन्दोलनपछि जिल्ला प्रशासन कार्यालयमा भएको सम्झौता अनुसार खडेरीबाट क्षति शिर्षकमा किसानले तिरेको कुल मूल्यमा १२ रुपैयाँ घटाएर भुक्तानी दिएसँगै विवाद सिर्जना भएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईँ बताउँछन् ।
कम्पनीले मौसम कार्यालयको राडारमा असिनापानी र खडेरी नदेखाएको भन्दै किसानले तिरेको प्रिमियम मूल्यभन्दा १२ रुपैयाँ घटाएर दिन लागेको भुक्तानीका विरुद्ध किसानहरु आन्दोलनमा उत्रिएको उनले बताए । उनका अनुसार बीमा कम्पनीले आफुखुशी खडेरी र असिनापानीबाट क्षति पुगेको भन्दै मूल्य निर्धारण गरेपछि विवाद उत्पन्न भएको हो । ‘जुम्लाको भुगोल र हावापानी एकै किसिमको छ,’ उनले भने, ‘तर, बीमा कम्पनीले कतै खडेरी त कतै असिनापानीले क्षति पुगेको रिपोर्ट बनाएर १२ रुपैयाँ घटाएर भुक्तानी दिन खोजेपछि किसान आन्दोलित बनेका हुन् ।’
प्राकृतिक प्रकोप र खडेरीका कारण स्याउ बालीमा ठूलो क्षति भएपछि नियमानुसार बीमाबापतको रकम दावी गर्दापनि भुक्तानीमा आलटाल भइरहेको उनले बताए । चौलागाई भन्छन्, ‘मौसमी विवरणको स्पष्ट रिपोर्ट उहाँहरुले देखाउँनु भएको छैन । मौसममा आएको फेरबदलपछि हामीले खडेरी घोषणा गर्दा उहाँहरुले फिल्ड भिजिट गर्नु भएन । अर्को कुरा उहाँहरुले आफुखुशी बीमाको रकम निर्धारण गर्नु भएको छ ।’
कम्पनीले स्याउ बीमा गरेका अधिकांश किसानका बगैंचा अनुगमन नगरी भुक्तानी प्रक्रियामा चरम लापरवाही गरिरहेको उनको आरोप छ । उनका अनुसार दुई वर्षअघि क्षति पुगेका किसानले बीमावापतको रकम पाउन सकेका छैनन् ।
कम्पनीले केही महिना अघि किसानका बगैंचामा पुगेर क्षतिको लगत संकलन गरेको थियो । लागत संकलन गरेका र बीमा पोलिसीअनुसार सबै कागजात पुगेका किसानले समेत भुक्तानी नपाएको अध्यक्ष चौलागाईले बताए । उनका अनुसार जुम्लाका पाँच हजार तीन सय ७९ किसानले स्याउको बीमा गरेकोमा हालसम्म ६ सय ५५ जनाले मात्र क्षतिपूर्ति पाएका छन् ।
उनले नौ सय ४७ किसानको प्रक्रिया पूरा भएपनि कम्पनीले भुक्तानी रोकेको बताए । शिखर इन्स्योरेन्स शाखा कार्यालय जुम्लाका अनुसार मौसम केन्द्रको रिपोर्टका आधारमा नगरपालिकाभित्रका किसानले प्रति विरुवा ६ सय ३८ रुपैयाँ, गुठिचौरमा दुई सय १९, तिला र हिमामा तीन सय ३८, सिंजामा एक सय ७४, कनकासुन्दरी र तातोपानीमा २४ रुपैयाँ पाउँन बाँकी छ । जुम्लामा कुल १२ लाख १२ हजार सात सय सात स्याउका विरुवाको बीमा गरिएको जनाइएको छ ।
के भन्छ शिखर ?
स्याउ किसानले आफुहरु ठगिएको दावी गरिरहदा शिखर इस्योरेन्स कम्पनीले सरकारी निकायको आधिकारिक रिपोर्टभन्दा बाहिर गएर भुक्तानी दिन नसकिने बताउँदै आएको छ । कम्पनीका कर्णाली प्रदेश प्रमुख गणेश जोशीले जुम्लाको हावापानी तथा मौसम कार्यालयको रिपोर्टअनुसार बीमा रकम निर्धारण गरिएको विषयमा विवाद सिर्जना भएको बताए ।
यो विषयमा किसानहरुसँग छलफल भइरहेको उल्लेख गर्दै उनले भने, ‘बीमाको सर्त र नियमानुसार भुक्तानी दिने हो । बीमा गरिएका स्याउका बोटमा के कारण क्षति भएको भन्ने विषय मौसम कार्यालयको रिपोर्टका आधारमा तय हुने हो । तर, उहाँहरुले सरकारी निकायको तथ्यांकलाई मान्दैनौ भन्दा विवाद देखिएको छ ।’ क्षतिवापतको रकम दावी गर्ने विषयमा बीमा पोलिसीमै स्पष्ट खोलिएको हुने उल्लेख गर्दै उनले मौसम कार्यालयको रिपोर्ट नै नमान्ने भनेपछि विवाद आएको दावी गरे ।






