दैलेखका वरिष्ठ लेखा अधिकृत टंक बहादुर कार्की माथि घुस लिएको आरोपमा विशेष अदालतमा मुद्धा दायर

दैलेख,१३ कार्तिक।
दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकामा कार्यरत वरिष्ठ लेखा अधिकृत टंक बहादुर कार्कीमाथि घुस लिएको अभियोगमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार कार्कीले गाउँपालिकाको सडक स्तरोन्नती तथा निर्माण सम्पन्न भइसकेको योजनाको अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस मागी लिएको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
मिति २०८२ साल कार्तिक १३ गते टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले कार्कीलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो।
अनुसन्धानपछि कार्कीले डुङ्गेश्वर गाउँपालिकाको वडा नं. १, २, ३, ४ र ५ भित्र पर्ने जर्सीचोक–देउली–जडी सडक स्तरोन्नती योजनाको अन्तिम बिल भुक्तानी प्रक्रिया सहज गरिदिने नाममा घुस रकम लिएको प्रमाणित भएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम मुद्दा दर्ता गरी बिगो एक लाख रुपैयाँ कायम राख्दै सोही बराबर जरिवाना र कैद सजायको मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।






