हिमाकाे कस्तुरी भिडमा फाेरजी सहित नेपाल टेलिकमकाे टावर सञ्चालनमा

काली बहादुर परियार
जुम्ला,१४ पुस।
जुम्ला जिल्लाको हिमा गाउँपालिका वडा नं. ५ स्थित कस्तुरी भिडमा नेपाल टेलिकमको फाेरजी सेवा सहितको टावर आज देखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। लामो समय देखि सञ्चार र इन्टरनेट सेवाको अभाव झेल्दै आएका हिमा गाउँपालिका वासीका लागि यो टावर सञ्चालन एक ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ।
नयाँ टावर सञ्चालनमा आएसँगै हिमा गाउँपालिकाका वडा नं. १, २, ३, ४, ५, ६ र ७ का नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास गरिएको छ । यस क्षेत्रका बासिन्दाहरू यसअघि कमजोर नेटवर्क, फोन नलाग्ने समस्या र इन्टरनेट सेवाको पहुँच नहुँदा दैनिक जीवनमा अनेकौँ कठिनाइ भोग्दै आएका थिए । विशेषगरी आपतकालीन अवस्थामा सम्पर्क गर्न, अनलाइन सेवा लिन तथा सूचना आदान–प्रदान गर्न समस्या हुँदै आएको थियो ।
हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले टावर सञ्चालन सँगै गाउँपालिकाको समग्र विकासमा सकारात्मक प्रभाव पर्ने बताए । उनले भने, आजको युगमा सञ्चार सेवा आधारभूत आवश्यकता मध्येकाे एक हो । कस्तुरी भिडमा टेलिकम टावर सञ्चालन भए पछि शिक्षा, स्वास्थ्य, व्यापार र प्रशासनिक सेवामा सहजता आउने अध्यक्ष शाहीकाे भनाइ छ ।
स्थानीय विद्यालयका विद्यार्थीहरू अनलाइन कक्षा र शैक्षिक सामग्रीमा पहुँच नपाउँदा पछाडि परिरहेको अवस्थामा अब सहज रूपमा इन्टरनेट प्रयोग गर्न सक्ने भएका छन् । त्यसैगरी स्वास्थ्य संस्थाहरूले डिजिटल रिपोर्टिङ, परामर्श तथा सूचना आदान–प्रदान गर्न सक्ने हुँदा सेवा प्रभावकारी हुने अपेक्षा गरिएको अध्यक्ष शाहीले बताए ।
स्थानीय व्यवसायी तथा उद्यमीहरूले सामाजिक सञ्जाल र अनलाइन माध्यमबाट आफ्नो व्यवसाय प्रवर्द्धन गर्न पाउने विश्वास लिएका छन् । यस क्षेत्रका धेरै युवाहरू वैदेशिक रोजगारीमा रहेका कारण परिवारसँग सम्पर्क राख्न कठिनाइ हुँदै आएको थियो । नयाँ फाेरजी सेवाले भिडियो कल, सामाजिक सञ्जाल र अन्य डिजिटल माध्यम प्रयोग गर्न सहज बनाएपछि पारिवारिक सम्पर्क अझ सुदृढ हुने स्थानीयको भनाइ छ ।
स्थानीय बासिन्दाले टावर सञ्चालन प्रति खुशी व्यक्त गर्दै यसलाई विकासको ढोका खुलेको संज्ञा दिएका छन् । अब नेटवर्क खोज्दै डाँडा उक्लिनु पर्ने दिन सकिएको एक स्थानीयले भने । गाउँमै बसेर सहर जस्तै सुविधा पाउने आशा जागेको छ ।
गाउँपालिकाले आगामी दिनमा नेटवर्कको गुणस्तर थप सुधार गर्न र बाँकी दुर्गम बस्तीहरूमा पनि सञ्चार पहुँच विस्तारका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने जनाएको छ। कस्तुरी भिडमा सञ्चालनमा आएको नेपाल टेलिकमको फाेरजी टावरले हिमा गाउँपालिकालाई सूचना, सञ्चार र प्रविधिको पहुँचमा नयाँ युगतर्फ डोर्याउने विश्वास गरिएको छ।






