जुम्लाका स्याउ बिमित किसान आन्दोलित

गाेल्डेन बुढा

जुम्ला,१३ पुस।

आकाशले पानी थाम्यो,स्याउका रुखमा फूल फक्रिए, तर फल बन्न नपाउँदै झरे।खडेरीले बगैँचा सुकायो, किसानकाे आशा मर्‍यो।जुम्लाका किसानका लागि अन्तिम सहारा थियो, स्याउ बिमा। तर त्यही बिमा आज उनीहरूकै लागि अर्को विपद् बनेर उभिएको छ।प्राकृतिक खडेरीपछि गरिएको विवादास्पद क्षति मूल्यांकनले किसानको भरोसा मात्र होइन, जीवनधार नै हल्लाइदिएको छ। यही आक्रोशकाे विस्फोटस्वरूप आइतबार जुम्लाका स्याउ किसानहरूले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको जुम्ला शाखा कार्यालयमा दोस्रो पटक तालाबन्दी गरे।आर्थिक वर्ष २०८०÷८१ मा शिखर इन्स्योरेन्सले जुम्लाका सयौँ किसानका स्याउ बगैँचा बिमा गरेको थियो। तर २०८० चैत १५ देखि २०८१ वैशाख मसान्तसम्म पानी नपर्दा स्याउका फूल फुलेकै अवस्थामा सुक्दै झरे।

फल लाग्ने प्रारम्भिक चरणमै बगैँचा नष्ट भएपछि किसानहरू पूर्ण रूपमा बिमा क्षतिपूर्तिमा निर्भर बने।सबैभन्दा ठूलो क्षति तातोपानी गाउँपालिकामा देखियो। यहाँ ६ सय ११ किसानका ९७ हजार २ सय २० स्याउका बोट बिमा गरिएको थियो। स्थानीय सरकार, सञ्चारमाध्यम र सरोकारवाला निकायले यस अवस्थालाई ‘गम्भीर खडेरीजन्य विपद्’का रूपमा अभिलेख गरे।

तर बिमा कम्पनीको मूल्यांकन किसानको अपेक्षाभन्दा निकै तल रह्यो।किसानका अनुसार बिमा गर्दा प्रति बोट ३८ रुपैयाँ प्रिमियम तिराइएको थियो। तर क्षति मूल्यांकन गर्दा प्रति बोट २४ रुपैयाँ मात्र तोकियो।“पूरै फूल झरेर बाँझिएको बोट र सामान्य असर परेको बोटलाई एउटै दरमा मूल्यांकन गरियो,” तातोपानी–६ का किसान राजबहादुर रोकाया आक्रोश पोख्छन्, “यो बिमा होइन, किसान ठग्ने धन्दा हो।”किसान र जनप्रतिनिधिले तातोपानी र कनकासुन्दरी गाउँपालिकामाथि विभेद गरिएको गम्भीर आरोप लगाएका छन्। समान प्रकृतिको क्षतिमा अन्य स्थानीय तहभन्दा यहाँ अत्यन्तै कम क्षतिपूर्ति तोकिएको उनीहरूको दाबी छ। यो व्यवहार बिमा ऐनको मर्मविपरीत भएको किसानको भनाइ छ।स्याउ बिमा पीडित संघर्ष समिति र तातोपानी गाउँपालिकाले प्रमुख जिल्ला अधिकारीमार्फत पटक-पटक ध्यानाकर्षण गरायाे। जिल्ला प्रशासन कार्यालयको पत्राचारपछि शिखर इन्स्योरेन्सका महाप्रबन्धक उदितप्रसाद काफ्लेसहितको टोली जुम्ला आइपुग्यो।पुनः तर, आइतबार जिल्ला प्रशासन कार्यालयमै भएको करिब तीन घण्टा लामो त्रिपक्षीय वार्ता पनि निष्कर्षविहीन रह्यो।

तातोपानी -४ का वडा अध्यक्ष अमरबहादुर राेकाया अनुसार कम्पनीले क्षति मूल्यांकनको आधार, वैज्ञानिक मापदण्ड र विभेदको आरोपबारे स्पष्ट जवाफ दिन सकेन। आलटाल र गैरजिम्मेवार प्रस्तुतिपछि बैठक स्थगित भयो।लगत्तै वार्ताबाट निराश भएका किसानहरू बैठक कक्षबाट सिधै शिखर इन्स्योरेन्सको जुम्ला शाखा कार्यालय पुगे। नाराबाजीसहित गरिएको तालाबन्दी शान्तिपूर्ण भए पनि किसानको पीडा र आक्रोश स्पष्ट थियो।यतातातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईं र – ४ नम्बर वडाका अध्यक्ष अमरबहादुर रोकायालगायत जनप्रतिनिधिले प्रमुख जिल्ला अधिकारी दीपक पौड्याल र प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीसमक्ष चारबुँदे शर्त राख्दै बैठक बहिष्कार गरे।उचित निर्णय नभएसम्म केन्द्रीय प्रतिनिधिलाई जिल्ला बाहिर जान नदिने, पौष १४ गतेभित्र (साेमबार) किसानका माग सम्बोधन गर्ने, तालाबन्दी खोल्न बल प्रयोग नगर्ने र आगामी आन्दोलनमा हस्तक्षेप नगर्ने लगायतका शर्त राखेका छन्।

“करिब एक हजार बिमा पीडित किसानको अभिभावक स्थानीय सरकार हो,” अध्यक्ष चौलागाईं भन्छन्, “यदि बिमा कम्पनीले अटेरी गरिरह्यो भने हामी सडकदेखि कानुनी लडाइँसम्म जान बाध्य हुनेछौँ।”चन्दननाथ नगरपालिकाबाहेक सात गाउँपालिकाका स्याउ किसानले आफूहरू ठगिएको आरोप लगाएका छन्। जुम्लामा कुल ५ हजार ३ सय ७९ जनाले स्याउ बिमा गरेका थिए। हालसम्म ६ सय ५५ जनाले मात्र क्षतिपूर्ति पाएका छन्। ९ सय ४७ जनाको प्रक्रिया पूरा भए पनि भुक्तानी बाँकी छ। २ सय ९४ किसानको हस्ताक्षर नहुँदा प्रक्रिया रोकिएको कम्पनीले जनाएको छ।शिखर इन्स्योरेन्स शाखा कार्यालय, जुम्लाका अनुसार मौसम केन्द्रको रिपोर्टका आधारमा नगरपालिकाभित्रका किसानले प्रति विरुवा ६ सय ३८ रुपैयाँ, गुठिचौर २ सय १९, तिला र हिमा ३ सय ३८, सिंजा १ सय ७४, कनकासुन्दरी र तातोपानीमा २४ रुपैयाँ पाउनेछन्।जुम्लामा कुल १२ लाख १२ हजार ,७ सय ७ वटा स्याउका विरुवा बिमित छन्। जसमध्ये कनकासुन्दरीमा ३ सय ९९, सिंजा ५ सय ७१, हिमा ५ सय २५, तिला ३ सय ८६, तातोपानी ६ सय ११, चन्दननाथ नगरपालिका ६ सय ७२, गुठिचौर ५ सय ३७ र पातारासी ८ सय १६ जना छन्।

जुम्लाका स्याउ बिमित किसान आन्दोलित

सङ्कटमा पुर्ख्यौली पहिचान र लोक-संस्कृति

जुम्लाका स्याउ बिमित किसान आन्दोलित

हिमाकाे कस्तुरी भिडमा फाेरजी सहित नेपाल टेलिकमकाे

Leave a comment

Your email address will not be published. Required fields are marked *