दाङमा कोब्रा सर्पको टोकाइबाट एक पुरुषको ज्यान गयो

दाङ ,१२ साउन।
दाङको राजपुर गाउँपालिका–३ खरदरियामा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५५ वर्षीय शालिकराम यादव रहेका छन्।
घरपरिवारका अनुसार यादवलाई सोमबार बिहान करिब ५ बजेतिर घरमै योगा गर्दै गर्दा कोब्रा सर्पले टोकेको थियो। सर्पले टोकेको तुरुन्तै उनलाई गढवा स्थित सर्प दंश उपचार केन्द्रमा लगिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएको थियो।
तर, उपचारको क्रममा घोराहीमै यादवको ज्यान गएको हो। घटनाबारे जानकारी दिँदै मृतकका छोरा ओम नारायण यादवले उपचारकै क्रममा बाबुको मृत्यु भएको पुष्टि गर्नुभयो।
स्थानियहरूका अनुसार गाउँमा हालसालै सर्प देखिने घटनाहरू बढ्दै गएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।






