सहरमा बढ्दै बाजुराको अर्गानिक कोदोको माग, किसान उत्साहित

बाजुरा ,१३ पुस।
बाजुराका दुर्गम गाउँबस्तीका किसानले उत्पादन गरेको अर्गानिक कोदोको सहरमा माग बढ्दै गएको छ । गाउँमा उत्पादन धेरै हुने तर बजार अभावका कारण बिक्री कम हुने गरेको कोदो पछिल्लो समय सहरमा समेत लोकप्रिय बन्दै गएपछि यहाँका किसान उत्साहित भएका छन् ।
भिरालो तथा पाखो जमिनमा प्रशस्त उत्पादन हुने कोदो अहिले सहरका विभिन्न ठाउँबाट माग आउन थालेपछि किसानहरू कोदो खेतीतर्फ थप आकर्षित हुन थालेका हुन् । बाजुरामा जेठ, असार र साउन महिनामा कोदो रोपाइँ गरिन्छ । जेठमा रोपिएको कोदो भदौमा पाक्न सुरु हुन्छ भने असार–साउनमा रोपिएको कोदो मङ्सिरमा पाक्ने गर्दछ ।
यहाँका किसानले गाई, गोरु, भैँसी तथा भेडाबाख्राको गोबरबाट बनाइएको प्राङ्गारिक मल प्रयोग गरेर कोदो उत्पादन गर्दै आएका छन् । यसरी उत्पादन गरिएको अर्गानिक कोदो स्वास्थ्यका लागि निकै लाभदायक भएकाले पछिल्लो समय देशका विभिन्न सहरबाट माग बढेको हिमाली गाउँपालिका–६ की सुरिता रोकायाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँमा पहिलेदेखि नै कोदो धेरै उत्पादन हुन्थ्यो । तर बजार नपाएकाले किसानले कम मात्र लगाउँथे । अहिले भने सहरबाटै व्यापारी कोदो किन्न गाउँमै आउन थालेपछि हामीले कोदो खेती बढाएका छौँ ।”
कोदो खेतीले स्थानीय किसानको जीविकोपार्जनमा टेवा पुग्ने देखिएपछि जिल्लाका अधिकांश पालिकाले पनि किसानलाई कोदो उत्पादनमा जोड दिन थालेका छन् । त्यति मात्र होइन, अहिले जिल्लाका धेरै विद्यालयमा बालबालिकाको दिवा खाजामा कोदोका परिकार अनिवार्य गरिएको छ ।
गाउँमै कोदो खपत हुनुका साथै सहरका व्यापारी गाउँमै आएर खरिद गर्ने भएकाले किसानलाई आर्थिक रूपमा सहज भएको रोकायाले बताउनुभयो । कोदोमा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम र आइरनजस्ता खनिज तत्व प्रशस्त मात्रामा पाइने भएकाले स्वास्थ्यका लागि उपयोगी मानिन्छ ।
गत वर्ष मात्र बाजुराको तल्लो क्षेत्रबाट झण्डै दुई ट्रकभन्दा बढी अर्गानिक कोदो अत्तरिया, धनगढी, महेन्द्रनगर, नेपालगञ्ज र काठमाडौँलगायत ठूला सहरमा बिक्री भएको बुढीगङ्गा नगरपालिका–१० फुलोटका वरिष्ठ कृषक तथा कोदो व्यापारी भोलाराम जैशीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हिमाली, जगनाथ, स्वामीकार्तिक, बुढीनन्दा, बडीमालिका, गौमुल, बुढीगङ्गा, खप्तडछेडेदह र त्रिवेणी लगायतका ठाउँमा उत्पादन हुने कोदो पूर्ण रूपमा अर्गानिक छ । हामीले किसानबाट प्रतिकिलो ३० रुपैयाँमा खरिद गरेर सहर पठाउँदै आएका छौँ ।”
पहिले सडकको पहुँच नहुँदा ढुवानी कठिन र खर्चिलो थियो । अहिले अधिकांश गाउँबस्तीमा सडक पुगेकाले गाडीमार्फत किसानकै घरसम्म पुगेर कोदो खरिद गर्न सहज भएको जैशीले बताउनुभयो ।
कोदो खेती स्थानीयको जीविकोपार्जनका लागि सहज देखिएकाले स्थानीय तहले समेत किसानलाई उत्प्रेरित गर्दै आएका छन् । जिल्लामा कुल दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर खेतीयोग्य रहेको छ । तीमध्ये पाँच हजार २३५ हेक्टरमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध छ । जिल्लाको कुल खाद्यान्न उत्पादनमा कोदोको योगदान २२.६२ प्रतिशत रहेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले जानकारी दिनुभयो ।






