ब्रोडवे इन्फोसिसलाई ताइपेईमा अन्तर्राष्ट्रिय डिजिटल प्रतिभा विकास पुरस्कार

काठमाडौं,९ भदौ।
नेपालको अग्रणी कम्प्युटर तालिम संस्था ब्रोडवे इन्फोसिसले अन्तर्राष्ट्रिय डिजिटल प्रतिभा विकास पुरस्कार प्राप्त गरेको छ।
ताइवानको ताइपेईमा आयोजित समारोहमा वर्ल्ड इन्नोभेशन, टेक्नोलोजी एण्ड सर्भिसेस एलायन्स (WITSA) ले ब्रोडवे इन्फोसिसलाई यो प्रतिष्ठित पुरस्कार प्रदान गरेको हो।
क्यान महासंघका पूर्वअध्यक्ष रञ्जित पोदारका अनुसार सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको योगदानको कदरस्वरूप ब्रोडवे सम्मान दिइएको हो। उनका अनुसार, ब्रोडवे डिजिटल प्रतिभालाई नवीनता र सीप विकासमार्फत विश्वस्तरको जनशक्ति बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।
यो पुरस्कार १३ क्याटेगोरीमा प्राप्त १३० उत्कृष्ट प्रस्तावहरूमध्येबाट छनोट गरिँदा ब्रोडवे इन्फोसिसलाई विजेता घोषित गरिएको हो।
पुरस्कार प्राप्त भएपछि संस्थाका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारीले यसलाई नेपालको सूचना प्रविधि विकासमा कोसेढुंगाको रूपमा लिएको बताए। उनले भने, “हामीले प्रविधिको दुनियाँमा डिजिटल शिक्षा, सीप विकास र नवीनतालाई प्राथमिकता दिएर विश्वस्तरको दक्ष जनशक्ति उत्पादनमा निरन्तर काम गरिरहेका छौं।”
उनका अनुसार डिजिटल शिक्षामा उच्च गुणस्तरीय, उद्योग–अनुकूल सूचना प्रविधि शिक्षाको विकास र नेपाल बाहिर डिजिटल जनशक्तिहरूको व्यवस्थापन नै ब्रडवे इन्फोसिसको दीर्घकालीन प्रतिबद्धता हो।






