अधिकार खोज्दा पेशागत कर्तव्य र जिम्मेवारी बिर्सेका शिक्षक
शिक्षक आन्दोलनका कारण नयाँ शैक्षिक भर्ना अभियान मात्रै प्रभावित बनेको छैन, पुराना विद्यार्थीको अभिलेखिकरणसँगै बिहिबारबाट सञ्चालन हुन लागेको कक्षा १२ को परीक्षा स्थगित भएको छ । एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण प्रभावित बनेको छ । जसका कारण उच्च शिक्षाको ढोका खोल्ने मार्गमा उभिएका विद्यार्थीसँगै नयाँ भर्ना हुने विद्यार्थीको भविष्यमाथि गम्भीर खेलबाड भइरहेको अभिभावकको गुनासो छ ।
सुर्खेतको बराहताल गाउँपालिका–८, कि झरना मल्ल कक्षा–१२ को परीक्षा दिन तीन महिना अघि वीरेन्द्रनगर आएकी थिइन । गत वर्षको परीक्षामा एक विषयमा ग्रेड नपुगेपछि झरना यस वर्षको परीक्षाबाट ग्रेड बृद्धि गरी उच्च शिक्षा अध्ययन गर्ने तयारीका साथ वीरेन्द्रनगरमा तयारी कक्षा लिइरहेकी थिइन ।
निकै मेहनतका साथ परीक्षामा सहभागी हुने तयारी गरेकी झरनाको उत्साह भने निराशामा परिणत भएको छ । कारण हो– २२ दिनदेखि जारी शिक्षक आन्दोलन । शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखि शैक्षिक अड्तालमा उत्रिएका शिक्षकका कारण झरना मात्रै होइनन् कर्णालीका ३१ हजार तीन सय १९ सँगै देशभरका पाँच लाख विद्यार्थी निराश बनेका छन् । ‘तीन महिनाअघि वीरेन्द्रनगर बसेर तयारी कक्षा लिइरहेकी थिए,’ झरना भन्छिन्, ‘एक्कासी आएर परीक्षा रद्द भएको थाहा पाएँ । परीक्षा सकेर सीपमुलक काम सिक्ने योजना थियो । परीक्षा नै रद्द भएपछि अब के गर्ने अन्यौलमा परेकी छु ।’
परीक्षा दिनकै लागि वीरेन्द्रनगरमा भाडामा बस्दै आएको उल्लेख गर्दै उनले परीक्षा दिन नपाउदा निराश हुनु परेको बताइन । कक्षा १२ को परीक्षा दिने विद्यार्थी मात्रै होइनन् अभिभावक पनि सामुदायिक विद्यालय बन्धक बन्दा अन्यौलमा परेका छन् । वीरेन्द्रनगर–३, इटौराका जयबहादुर थापाका दुई छोरी शिव माध्यमिक विद्यालय लाटिकोइलीमा अध्ययनरत छन् । यस वर्ष थापाका एक छोरी कक्षा ८ र अर्को छोरी कक्षा–९ मा पढ्दै छिन् ।
तर, थापाले शिक्षक आन्दोलनकै कारण छोरीहरुलाई विद्यालयमा भर्ना गर्न पाएका छैनन् । यति मात्रै होइन उनले छोरीहरुका लागि पाठ्यपुस्तकसमेत लिन पाएका छैनन् । थापालाई शिक्षकले विद्यालय बन्धक राखेर गरेको आन्दोलन चित्त बुझेको छैन । थापाले भने, ‘शिक्षकले यसरी विद्यालय नै बन्द गरेर आन्दोलन गर्नु गलत छ । उनीहरुले राखेका माग जायज छन् । उनीहरुका माग सरकारले यथासक्य सम्बोधन गर्नुपर्छ । तर, आन्दोलनका नाममा यसरी विद्यालयलाई बन्धकमा राखिनु उचित होइन ।’
थापाले शिक्षकहरु विद्यार्थीको भविष्य र शिक्षाको गुणस्तरभन्दा पनि आफ्नो सेवा सुविधाका लागि राजनीतिक दलका कार्यकर्ता बन्ने परिपाटीले समस्या आएको उल्लेख गर्दै उनले भने, ‘पार्टी पिच्छेका शिक्षक छन् । अधिकार माग्दा शिक्षकले कर्तव्य र जिम्मेवारी बिर्सेका छन् । शिक्षक राजनीतिक दलको सदस्य हुनु भएन । आन्दोलनका कारण विद्यार्थीहरु भर्ना हुन पाएका छैनन् । यसले विद्यार्थीको भविष्यमाथि गम्भीर खेलबाड हुने काम भइरहेको छ ।’
सरकारले यथासिंघ्र नयाँ शिक्षा ऐन जारी गरी पर्याप्त शिक्षक दरवन्दी सिर्जनामार्फत योग्य शिक्षक भर्ना नगरेसम्म राजनीतिक पावरमा जागिर खाएकाहरुको हालिमुहाली रहि रहने उनको बुझाई छ । राजनीतिक पावरका आधारमा शिक्षक बनाइएकाहरुकै कारण सामुदायिक विद्यालयको गुणस्तर ध्वस्त हुँदै गएको थापाको दावी छ । थापाले कतिपय सामुदायिक विद्यालयका शिक्षकको भुमिकाप्रति प्रश्न उठाउने बेला भएको बताए ।
प्रदेश राजधानी भएकै कारण वीरेन्द्रनगरमा विद्यार्थीको निकै चाप हुने गर्दछ । यहाँ सामुदायिक विद्यालयसँगै निजी विद्यालयहरुको संख्या उल्लेख्य छ । तर, आजभोली निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी मात्रै सडकमा देखिएका छन् । निजी विद्यालयहरुले धमाधम नयाँ भर्ना गरेर कक्षा सञ्चालन गर्न थालेका छन् । निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र उनीहरुलाई बोक्ने गाडी घर अगाडि पुग्दा आफ्ना छोराछोरी भने निराश बन्ने गरेको बताउछिन वीरेन्द्रनगर–३, कि मनिषा शाही ।
वीरेन्द्रनगरस्थित एक सामुदायिक विद्यालयमा अध्ययनरत उनका छोराछोरीले दिनहुँ जसो विद्यालयका बारेमा सोधेर हैरान गर्ने गरेको उनले सुनाइन । विगतमा सामुदायिक विद्यालयमा भर्ना अभियान सुरु हुँदा शिक्षकहरु घरघरै आउने गरको बताउदै यस वर्ष बैशाख महिना सकिनै लाग्दा अब के गर्ने भन्नेमा अन्यौलता छाएको शाहीले बताइन । शिक्षक आन्दोलनका कारण नयाँ शैक्षिक वर्षको भर्ना अभियान मात्रै प्रभावित बनेको छैन, पुराना विद्यार्थीको अभिलेखिकरणसँगै बिहिबारबाट सञ्चालन हुन लागेको कक्षा १२ को परीक्षा स्थगित भएको छ ।
एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण प्रभावित बनेको छ । जसका कारण उच्च शिक्षाको ढोका खोल्ने मार्गमा उभिएका विद्यार्थीसँगै नयाँ भर्ना हुने विद्यार्थीको भविष्यमाथि गम्भीर खेलबाड भइरहेको अभिभावकको गुनासो छ । सरकारले आगामी बजेट अधिवेशनबाट शिक्षा ऐन पास गर्ने प्रतिवद्धता जनाउदै विद्यालय फर्कन अुनरोध गरेपनि शिक्षकहरुले आन्दोलनलाई थप पेचिलो बनाउदै लगेका छन् ।
शिक्षकहरुले पेशगतरुपमा उठाएका मागहरु जायज भएपनि शैक्षिक गतिविधि ठप्प हुनु बालबालिकाको भविष्यमाथि गम्भीर खेलबाड भइरहेको बताउछिन् महिला अधिकारकर्मी टिका विष्ट । ‘पेशागत संगठनको अगुवाईमा भएको आन्दोलनका माग जायज छन्, सरकारले जायज मागलाई पुरा गर्नु पर्दछ,’ उनी भन्छिन्, ‘तर, पेशागत हकअधिकार माग्ने सन्दर्भमा आम मान्छेको भविष्यसँग जोडिएको विषयमा खेलाची गरिनु राम्रो होइन ।’
शिक्षकहरुले आप्mना हकअधिकारसँगै पेशागत दायित्व र कर्तव्य भुल्न नहुने उनले बताइन । ‘शिक्षा महङ्गो भयो, वर्गीय भयो भन्दै गर्दा विद्यालय भर्ना अभियानको समयमा भएको आन्दोलनले देख्यौ नि सरकारी विद्यालयको हालत भन्ने परिस्थीति बनेको छ,’ उनले भनिन्, ‘यसले निजी विद्यालयलाई प्रसय गराउन सघाउ पुग्ने देखिएको छ ।’ विद्यार्थी भर्ना तथा परीक्षा जस्ता शैक्षिक क्रियाकलापको व्यवस्थापनमा शिक्षकहरु जिम्मेवार बन्नुपर्नेमा उनको जोड छ ।
शिक्षकहरुले कस्काविरुद्ध आन्दोल गरेका हुन् भन्ने विषय प्रष्ट नरहेको दावी गर्दै विष्टले शिक्षामन्त्रीसँग नभई सिधैं प्रधानमन्त्रीसँग बार्ता गर्ने अडान राख्नुले यसको पुष्टि गर्ने बताइन । विभागीय मन्त्रालयले अपनत्व लिने विषयमा शिक्षकहरुले अड्डि कस्नु उचित नरहेको उनको धारणा छ ।
पेशागत हकहित, जागिरको स्थायित्व, सेवासुविधा, मानसम्मान र दिगोपना लगायतका मागहरु जायज भएको भएपनि भर्ना अभियान तथा परीक्षामा अवरोध सिर्जना गरेर विद्यार्थीको मनोबलसँगै भविष्यमाथि खेलबाड गरिनुलाई कुनै पनि हालतमा राम्रो मान्न नसकिने विष्टले तर्क गरिन ।
त्यस्तै, शिक्षकहरुले उठाएका मागहरु भर्खरै नयाँ आएका वा ल्याइएका नभई सरकारी असक्षमताका कारण अहिलेको अवस्था सिर्जना भएको बताउछन् मध्यपश्चिम विश्वविद्यालयका पूर्वडीन एवम् नागरिक समाजका अगुवा पीताम्बर ढकाल । २०२८ मा बनेको शिक्षा ऐनले शिक्षकका माग सम्बोधन गर्न नसक्ने भन्दै सरकारले तत्काल नयाँ ऐन जारी गरेर शिक्षकहरुलाई तत्काल विद्याय फर्कने वातावरण तय गर्नुपर्ने उनले बताए ।
‘शिक्षकहरुका माग आजका होइनन्, सरकार र शिक्षकसँग पटक–पटक सहमती हँुदै आएको छ । तर, सरकारको अदुरदर्शिताका कारण अहिलेको अवस्था आएको हो,’ उनले भने । सरकारले ऐन ल्याउन गरेको ढिलाईले बालबालिको सिकाईमा असर पर्ने उल्लेख गर्दै उनले भने, ‘ऐन भन्ने विषय भन्ने वित्तिकै आउने कुरा होइन ।
शिक्षकले कुरा उठाएको बेला सम्बोधन गर्ने प्रयास सरकारले गरेन । अहिले विद्यालय खालि भइसके । बालबालिकाहरु अन्यत्र पुग्ने स्थितीले भोली विद्यालय खाली भए यसको भविष्य र शिक्षकको पनि के काम होला र ?’ आन्दोलनको स्वरुप फेरेर विद्यालयलाई बन्धक हुने अवस्थाबाट मुक्त गराउन शिक्षकहरुले ध्यान दिनुपर्ने ढकालको जोड छ ।
कक्षा–१२ को परीक्षा २१ बैशाखमा
शिक्षक आन्दोलनका कारण स्थगित भएको कक्षा १२ को परीक्षा २१ बैशाखबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ११ वैशाख (बिहिबार) देखि २४ गतेसम्म माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) सञ्चालन गर्ने गरी समयतालिका सार्वजनिक गरेको थियो । शिक्षक आन्दोलनका कारण परीक्षा केन्द्रको व्यवस्था र सञ्चालनमा आउन सक्ने प्राविधिक कठिनाइसमेतलाई दृष्टिगत गरी परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ ।
स्थगित भएको परीक्षा २१ बैशाख बिहान ८ बजेबाट सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डको कर्णाली प्रादेशिक कार्यालय सुर्खेले जनाएको छ । बोर्डले परीक्षाको मिति संशोधन गर्दा विद्यार्थी र अभिभावकमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै परीक्षार्थीमा परीक्षाको तयारीलाई निरन्तरता दिन अनुरोध गरेको छ ।
परीक्षालाई मर्यादित रूपले सम्पन्न गर्न प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति, जिल्ला परीक्षा समन्वय समिति, स्थानीय तह, केन्द्राध्यक्ष, शिक्षक तथा सुरक्षा निकायलगायत सम्पूर्ण सरोकारवालामा बोर्डले अपिल गरेको छ ।