सम्पादकीय : विषादी न्यूकिरणमा ध्यान देऊ

कर्णाली प्रदेश सरकार स्थापना भएदेखि नै चर्चामा आएको विषय हो– विषादीमुक्त प्रदेश । २०७५ मा तत्कालिन प्रदेश सरकारले कर्णालीलाई अग्र्यानिक प्रदेशका लागि रासायनिक विषादीमुक्त बनाउने योजना अघि सारेको थियो । उक्त योजना अन्तर्गत कर्णाली भित्रिने नाकामा तरकारी तथा फलफूलमा राखिएको विषादी परीक्षण गर्ने प्रयोगशालादेखि सबै जिल्लामा प्रयोगमा रोक लगाउने लगायतका विषय समेटिएका छन् । तर, कर्णालीलाई विषादीमुक्त बनाउन प्रयास थालिएको लामो समयसम्म पनि जनस्वास्थ्यका दृष्टिकोणले उपभोग गर्नै नमिल्ने तरकारीहरू निर्वाध उपभोक्ताको भान्सासम्म पुग्न छाडेको छैन, जसले अग्र्यानिक प्रदेशको नारालाई नै चुनौती दिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाले गर्ने नियमित बजार अनुगमनका क्रममा प्रदेश राजधानीमा तरकारीको आपूर्ति हुने मुख्य क्षेत्रमै अत्याधिक विषादी हालिएको तरकारी फेला पर्ने गरेका छन् । कृषि प्राविधिकहरूका अनुसार तरकारी तथा फलफूलमा विषादीको मात्रा ३५ प्रतिशतभन्दा माथि भए मानव स्वास्थ्यका दृष्टिकोणले घातक मानिन्छ । तर, वीरेन्द्रनगरस्थित बुलबुले कृषि थोक बजारमा सल्यानबाट आयात गरिएको ८७० क्विन्टल काउलीमा ९९.३४ प्रतिशत ओर्गानो फसफेट नामक विषादी फेला परेको छ । यसले जनस्वास्थ्यमा गम्भीर चुनौती थपेको छ ।

हामीले दैनिक रूपमा खाने गरेका तरकारी र फलफूल हाम्रो स्वास्थ्यका लागि उपयोगी हुनुको सट्टा विषादीका कारण हानिकारक बन्दै गइरहेका छन् । बजारमा पाइने अधिकांश तरकारी तथा फलफूलमा अत्याधिक मात्रामा विषादी प्रयोग हुने गरेको तथ्यले आम उपभोक्ताको स्वास्थ्यमा चुनौती थपेको छ । स्वास्थ्यकर्मीका अनुसार तरकारी तथा फलफुलमा प्रयोग गरिने विषादीहरूले दीर्घकालीन रूपमा क्यान्सर, किड्नीको समस्या, हर्मोन असन्तुलन, नपुंसकता जस्ता गम्भीर रोग निम्त्याउन सक्छन् ।

कृषकहरू उत्पादन बढाउने लोभमा र व्यापारीहरू लामो समयसम्म तरकारी टिकाइ राख्न खोज्दा विषादीको प्रयोग सीमा नाघ्दै गएको छ । यो प्रवृत्तिले खाद्य सुरक्षामाथी गम्भिर प्रश्न खडा गरेको छ । सरकार तथा सम्बन्धित निकायहरूले यसतर्फ गम्भिर ध्यान दिनु अत्यावश्यक भइसकेको छ । पहिलो, विषादीको प्रयोगलाई नियमन गर्न आवश्यक छ । कृषकलाई जैविक तथा सुरक्षित बिउ, मल र विषादीको प्रयोगबारे प्रशिक्षण दिनु पर्छ ।

दोस्रो, बजारमा आउने तरकारी तथा फलफूलको विषादी परीक्षण अनिवार्य गरिनुपर्छ । नियमित अनुगमन तथा विषादी परीक्षण प्रयोगशालाको संख्या वृद्धि गरेर कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्छ । तेस्रो, उपभोक्तामा समेत चेतना जगाउनु आवश्यक छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिई घरमै तरकारी उत्पादन गर्ने अभ्यास बढाउनु दीर्घकालिन समाधान हुनसक्छ । साथै, विषादीमुक्त कृषि प्रविधिमा लगानी बढाउनु आवश्यक छ, जसले कृषकलाई पनि दीर्घकालिन लाभ दिन्छ ।

तरकारी तथा फलफूल हाम्रो स्वास्थ्यका अभिन्न अंग हुन् । व्यक्तिगत लाभका लागि जनस्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने विषादी तरकारी तथा फलफुमा प्रयोग गर्ने जो कोहीलाई पनि कारवाहीको दायरमा ल्याइनु पर्दछ । अर्कोतर्फ कर्णाली भित्रिने नाकामा स्थापना गरिएका विषादी परीक्षण प्रयोगशाला तत्काल सञ्चालनमा ल्याउनु पर्दछ । कर्णाली भित्रिने मुख्य नाका सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा स्थापना गरिएका विषादी परीक्षण प्रयोगशाला प्रदेश सरकारले आवश्यक बजेट र जनशक्तिको व्यवस्थापन नगर्दा प्रयोगविहीन छन् ।

६ वर्षअघि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सल्यान र सुर्खेतमा दुई करोड बढी खर्चेर तथ्यांक व्यवस्थापन तथा प्रविधिसहितका विषादी परीक्षण प्रयोगशालाका भवन निर्माण गरेको थियो । तर, कर्मचारी र प्रयोगशालाका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न पर्याप्त बजेट नभएपछि भवन अलपत्र परेका छन् । यो आफैमा दुखद् पक्ष हो । आम नागरिकको स्वास्थ्यसँग जोडिएका योजनाहरुलाई प्रभावकारी ढङ्गले सञ्चालनमा ल्याउनतर्फ सरकारको बेलैमा बुद्धि पुगोस् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *