सम्पादकीय : स्याउ खेती प्रवद्र्धनको खाँचो

जुम्लामा चालु आर्थिक वर्ष २०८२/०८३ मा १७ हजार पाँच सय ५८ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालय जुम्लाले उपलब्ध गराएको तथ्यांक अनुसार कुल उत्पादित स्याउ मध्ये पाँच हजार पाँच सय ९१ मेट्रिकटन स्याउ जिल्ला बाहिर निर्यात भएको छ । यस वर्ष स्याउ उत्पादनबाट जुम्लाले ४१ करोड २९ लाख ८९ हजार दुई सय ७० रुपैयाँ बराबरको आम्दानी गरेको छ । कृषि विकास कार्यालय जुम्लाको तथ्यांक केलाउने हो भने स्याउ खेतीको क्षेत्रफल बढेपनि वर्षेनी उत्पादनमा भने गिरावट भएको देखिन्छ । गत वर्ष २०८१/०८२ मा १९ हजार आठ सय ४० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । जसबाट ६१ करोड २४ लाख ७४ हजार रुपैयाँ जुम्लाले आम्दानी गरेको थियो ।
तथ्यांक अनुसार गत वर्षको तुलनामा यस वर्ष कुल स्याउ लगाएको क्षेत्रफल एक सय २० र स्याउ फलेको क्षेत्रफल एक सय २५ रोपनी थप भएको छ । गत वर्ष चार हजार तीन सय २५ हेक्टरमा फैलिएको स्याउ खेती यस वर्ष बढेर चार हजार चार सय ४५ हेक्टर पुगेको छ । स्याउ खेती गरिने क्षेत्रफलमा बृद्धि भएपनि असिना र बेमौसमी वर्षका कारण वर्षेनी उत्पादन भने घट्दोक्रममा छ ।
यो वर्ष कुल उत्पादनको ३० प्रतिशत मात्रै स्याउ निर्यात भएको छ । पछिल्लो समय जुम्लामा स्याउ खेतीमा स्थानीयको आकर्षण बढ्दै गएको छ । उत्पादित स्याउले बजार पाउन थालेपछि जुम्लाका किसान स्याउ खेतीतर्फ आकर्षित बन्दै गएका छन् । तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा १९ हजार एक सय २५ घरधुरी स्याउ खेतीमा संलग्न भएका थिए । यो वर्ष यो संख्या बढेर १९ हजार एक सय ५० पुगेको तथ्यांकले देखाउँछ । गत वर्ष सात हजार तीन सय २५ कृषक स्याउ खेतीमा लाग्दा यस वर्ष बढेर सात हजार तीन सय ५० पुगेको छ । जुम्लाको शतप्रतिशत जमिन स्याउ खेतीका लागि उपयुक्त भए पनि हालसम्म १० प्रतिशत जमिनमा मात्रै स्याउ खेती गरिँदै आएको छ । जुम्लामा सडक सञ्जाल नपुगेको अवस्थामा हवाईजहाजबाट स्याउ ढुवानी गर्नुपर्ने बाध्यता थियो । कर्णाली राजमार्ग निर्माण भएपछि जुम्लाको स्याउले बजार पाउन थालेपछि किसानहरु यसतर्फ आकर्षित भएका हुन् ।
स्याउले जुम्लाको पहिचान नेपालमा मात्र होइन, विश्व बजारसम्म कर्णाली राजमार्ग भएर पुर्याएको छ । अहिले सिङ्गो कर्णाली प्रदेशको अर्थतन्त्र चलायमान बनाउने आधार पनि जुम्लाको स्याउ बनेको छ । स्थानीयस्तरमा स्याउको उत्पादन र उत्पादकत्व राम्रो भए पनि जुम्ली किसानले अझै पनि उचित मूल्यसहितको स्याउ निर्वाध बजार पठाउन भने पाएका छैनन् । परम्परागत खेती प्रणालीसँगै ढुवानीको समस्या यस क्षेत्रका किसानलाई छ । जुम्लामा मात्रै होइन कालीकोट, मुगु, हुम्ला, डोल्पालगायत जिल्लाका केही भागमा उत्पादन हुने स्याउको बजारीकरणमा मात्रै सरकारले ध्यान पुर्याउने हो भने यसले समग्र कर्णालीलाई आत्मनिर्भताको बाटोमा लैजानेमा दुई मत छैन ।
परम्परागत प्याकेजिङ र ह्यान्डलिङ अभ्यास मात्र होइन, सुधारिएको कृषि अभ्यास, स्याउ टिपिसकेपछि शीतभण्डारको अभाव जुम्ली किसानसँग बाध्यता भएर बसेका छन्, जसले गर्दा स्याउको उपभोग अवधि बढ्न सकेको छैन । स्याउको ग्रेडिङ छनोट गर्न ज्ञान, सीप तथा प्रविधिको अभाव भइरहेको गुनासको कृषकहरुले गरिरहेका छन् ।






