वाम–एकताको शक्तिशाली उपस्थिति जुम्लामा

गाेल्डेन बुढा
जुम्ला ,७ मंसिर ।
जुम्लाको राजनीतिक परिवेश पछिल्ला दिनहरूमा असामान्य तवरले तातिएको छ। दस दलको एकताबाट बनेको नेपाली कम्युनिष्ट पार्टीलेजुम्लाका ८ वटै स्थानीय तहमा एकैदिन भव्य रुपमा सम्पन्न गरेको “एकता सन्देश भेला” ले कर्णालीको राजनीति नयाँ मोडतर्फ प्रवेश गर्ने संकेत देखाएको छ।पार्टीका नेता नवराज न्यौपानेका अनुसार चन्दननाथ नगरपालिका, कनकासुन्दरी, सिंजा, हिमा, तिला, तातोपानी, गुठिचौर र पातारासी गाउँपालिकामा भएको भेला पार्टी एकताको पहिलो ठूलो जनप्रदर्शनका रूपमा सफल भएको छ। विभिन्न ठाउँमा कडाकिलो चिसोका बाबजुद स्थानीय तहमा देखिएको उत्साह पार्टी विस्तारका लागि सकारात्मक संकेत भएको उनको भनाइ छ।मंसिर महिनाको कठ्यांग्रिने मौसमका कारण प्रशासनिक तथा राजनीतिक गतिविधि सामान्यतया सुस्त हुने जुम्लामा उल्टै भेला असाधारण रूपमा भव्य भएको पार्टीले दाबी गरेको छ।

हिमाली बस्तीहरूबाट कार्यकर्ता समूहको झण्डै जुलूससरह सहभागिता देखिनु यस कार्यक्रमको मुख्य विशेषता मानिएको छ।पार्टीले यही कारणले सन्देश अभियान निर्धारित समयभन्दा केही छिटो सम्पन्न गरेको जनाएको छ।नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० दल एकीकृत भएर गठन गरिएको नेपाली कम्युनिष्ट पार्टीले जुम्लालाई आफ्नो संगठन विस्तारको ‘मोडेल जिल्ला’ बनाउन खोजिरहेको केन्द्रीय सदस्य नरेश भण्डारीले बताए। आठै स्थानीय तहमा नेतृत्व परिचालन गरी अलग–अलग संरचनाले एउटै सन्देश बोकेर उपस्थित हुनु नयाँ एकीकृत पार्टीको संगठनात्मक क्षमताको परीक्षण जस्तै भएको छ।स्थानीय तहका कार्यक्रमलाई नेताहरूले सम्बोधन गरे।एकता सन्देश अभियानमा केन्द्रीय नेता नरेश भण्डारी, पदमबहादुर रोकाया लगायत उल्लेख्य नेतृत्वको उपस्थिति रह्यो। उनीहरूले संबोधनमा आगामी महिनाहरूमा प्रदेशभर यस्तै एकता प्रदर्शन हुने र पार्टी भित्रको समन्वय अझ मजबुत बनाइने बताएका थिए।यसअघि पार्टीले मंसिर ५ गते, शान्ति सम्झौता दिवसका दिन, जिल्लास्तरीय एकता सन्देश भेला आयोजना गरिसकेको थियो। त्यसको निरन्तरता स्वरूप स्थानीय तहसम्म अभियान विस्तार गरिनु पार्टीभित्र नीचेबाट माथिसम्म संरचना निर्माणमा गंभीर प्रयास भइरहेको संकेत हो।
जुम्लाको कडा भौगोलिक परिस्थिति, चिसो मौसम र सीमित पूर्वाधारबीच पनि आयोजना सफल हुनु पार्टी भित्रको तातो र व्यापक जनसहभागिताको संकेतका रूपमा विश्लेषण भइरहेको छ।“जुम्लामा देखिएको जनसक्रियता र शक्ति–प्रदर्शनले नेपाली एकीकृत कम्युनिष्ट धारको भविष्यगत कदम प्रदेश राजनीतिमा निर्णायक बन्ने संकेत दिएको छ।”नेपाली कम्युनिष्ट पार्टीले अब जिल्लास्तरका निर्णयलाई प्रदेश–केन्द्रसम्म लैजाने तयारी गरेको बताएको छ।





