डिजिटल भविष्यतर्फ कदम : गुठिचौर–१ मा ४२ एसइइ विद्यार्थीलाई निशुल्क कम्प्युटर शिक्षा

काली बहादुर परियार
जुम्ला ,५ पुस।

। गुठिचौर गाउँपालिका–१ ले शिक्षामा ऐतिहासिक लगानी गर्दै एसइइ परीक्षार्थीका लागि निशुल्क कम्प्युटर शिक्षा सुरु गरेको छ । ग्रामीण भेगका विद्यार्थीलाई डिजिटल युग सँग जोड्ने उद्देश्यले वडा सरकारले यस्तो पहल गरेको हो, जसले स्थानीय तहमा शिक्षा सुधारको नयाँ उदाहरण प्रस्तुत गरेको छ ।

गुठिचौर–१ अन्तर्गत रहेको खड्कदेवी माध्यमिक विद्यालयमा अध्ययनरत ४२ जना एसइइ परीक्षार्थी विद्यार्थीलाई निशुल्क कम्प्युटर ट्युसन सुविधा उपलब्ध गराइएको छ । एसइइ जस्तो महत्त्वपूर्ण परीक्षाको तयारी सँगै कम्प्युटर ज्ञान पनि आवश्यक भएको ठहर गर्दै वडा सरकारले आफ्नै स्रोतबाट कार्यक्रम सञ्चालन गरेको हो ।

वडा अध्यक्ष अर्जुनकुमार महताराका अनुसार, आजको प्रतिस्पर्धात्मक युगमा विद्यार्थी केवल पाठ्यपुस्तकमा सीमित रहन नहुने भन्दै डिजिटल सिपलाई प्राथमिकतामा राखिएको बताए ।

उनले भने, ग्रामीण क्षेत्रका विद्यार्थीहरू अझै पनि कम्प्युटर र प्रविधिबाट टाढा छन् । एसइइ पछि उच्च शिक्षा वा रोजगारीका अवसर खोज्दा कम्प्युटर ज्ञान अपरिहार्य रहेकाे हुदा एसइइ दिने विद्यार्थीलाई लक्षित गरी निशुल्क कम्प्युटर शिक्षा सुरु गरेकाे उनकाे भनाइ छ ।

वडा अध्यक्ष महताराले भने, विद्यार्थीलाई कम्प्युटरको आधारभूत ज्ञान, टाइपिङ, माइक्रोसफ्ट अफिस, इन्टरनेट प्रयोग, इमेल तथा डिजिटल साक्षरता सम्बन्धी तालिम प्रदान गरिनेछ । यसले विद्यार्थीको आत्मविश्वास बढाउनुका साथै भविष्यमा प्राविधिक सीप विकासमा सहयोग पुग्ने विश्वास वडा सरकारले लिएको छ ।

विद्यालय प्रशासनले पनि स्थानीय सरकारको यो पहललाई सकारात्मक रूपमा लिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष परेक ऐडीले बताए । उनका अनुसार, यस प्रकारको सहयोगले विद्यार्थीमा पढाइ प्रति उत्साह बढेको छ। पहिले कम्प्युटर सिक्न निजी संस्थामा जानुपर्ने बाध्यता थियो, जसले धेरै विद्यार्थीलाई आर्थिक कारणले अवसरबाट वञ्चित बनाएको थियो ।

अब वडा सरकारले नै जिम्मा लिए पछि सबै विद्यार्थी समान रूपमा लाभान्वित हुने अपेक्षा गरेकाे अध्यक्ष ऐडीकाे भनाइ छ । विद्यार्थीहरू पनि वडा सरकारको निर्णय प्रति खुशी देखिएका छन् । एसइइ तयारीमा जुटिरहेका एक विद्यार्थीले भने, हामीले कम्प्युटर सिक्ने इच्छा त थियो, तर खर्च धान्न गाह्रो थियो । अब निशुल्क तालिम पाइने भए पछि भविष्यका लागि ठूलो फाइदा हुन्छ भन्ने लागेको छ।

स्थानीय सरोकारवालाहरूले गुठिचौर–१ को यो पहललाई शिक्षामा दीर्घकालीन लगानीको रूपमा व्याख्या गरेका छन् ।यदि अन्य वडाहरूले पनि यस्तो अभ्यास अपनाए भने ग्रामीण क्षेत्रका विद्यार्थीहरू डिजिटल रूपमा सक्षम बन्दै जानेछन् ।

गुठिचौर गाउँपालिका–१ ले शिक्षालाई प्राथमिकतामा राख्दै गरेको यो कदमले पढाइसँगै सीप भन्ने अवधारणालाई व्यवहारमा उतारेको छ । सीमित स्रोतसाधन बीच पनि शिक्षा र प्रविधिमा लगानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै वडा सरकारले जुम्ला मात्र नभई कर्णालीका अन्य स्थानीय तहका लागि पनि प्रेरणादायी काम गरेको छ।

डिजिटल भविष्यतर्फ कदम : गुठिचौर–१ मा ४२ एसइइ विद्यार्थीलाई निशुल्क कम्प्युटर शिक्षा

कर्णालीमा राष्ट्रिय पारा खेलकुद प्रतियोगिता हुँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds