सम्पादकीय : अधुरा आयोजना पुरा गर !

आठ वर्षअघि रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१० मा किचकिचे चिन्तु खानेपानी लिफ्‌ट सिंचाई खानेपानी सुरु गर्दा यहाँका एक सय १० घरधुरीलाई अब खानेपानीको सुविधा घरमै उपलब्ध हुने आशा पलाएको थियो । स्थानीयले  अब खानेपानीको चिन्ता लिनुपर्दै भन्ने सोचेका थिए । उपभोक्ता समितिका अनुसार आयोजनाको ८० प्रतिशत काम सकिएको छ, तर करिब ३० लाख रुपैयाँको थप बजेट व्यवस्थापन नहँुदा घरघरमा खानेपानी पुग्ने सपना पुरा हुन सकेको छैन । सानीभेरीकै वडा नम्वर ३ मा आठ वर्ष पहिला नै निर्माण सुरु भएको तुसारे अध्याचौर लिफ्‌ट खानेपानी आयोजना अझै पनि पूरा भएको छैन । यही योजनामा संघीय, प्रदेश र स्थानीय सरकाले तीन करोड लगानी गरिसकेका छन्, तर उपलब्धि भएको छैन ।

झण्डै चार सय घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको यो योजना बजेट अभावकै कारण पूरा हुन नसकेको स्थानीय बताउँछन् । किचकिचे, तुसारे र पधेरीखोला जस्तै यस गाउँपालिकाको वडा नम्वर ४ मा रहेको गोल्चौर लिफ्‌ट सिँचाइ आयोजना र वडा नम्वर ५ मा रहेको मेलचौर लिफ्‌ट खानेपानी आयोजना पनि अधुरै छन् । गोल्चौरमा प्रदेश सरकारको ८० लाख रुपैयाँ र मेचचौरमा ४० लाख रुपैयाँ रकम लगानी भइसकेको छ । तर बजेट अपूरा भएको भन्दै योजना अधुरै छोडिएका छन् । एकातिर करोडौ रकम लगानी भएका योजनाहरुले परिणाम दिन सकेका छैनन् भने अर्कोतर्फ सर्वसाधारणहरु खानेपानी जस्तो आधारभूत आवश्यकता सहजै उपभोग गर्नबाट बञ्चित हुनु परेको छ । सानीभेरी गाउँपालिकाका विभिन्न वडाका रहेका यी पाँच वटा सबैभन्दा पुराना तर अपुरा अयोजनामा पाँच करोड रकम खर्च भइसकेको छ । तीन तहका सरकारको करोडौ रकम खर्च हुँदा पनि सर्वसाधारणले सहज खानेपानी सुविधा पाएका छैनन् । तीनै तहका सरकार बिचमा योजना र बजेट विनियोजनमा तालमेल नहुँदा यो समस्या देखिएको छ ।

योजनाहरु प्राथमिकिकरण नगरिकन हचुवाको भरमा बजेट विनियोजना गर्दा यस्तो समस्या आएको स्थानीय तहका जनप्रतिनिधिहरु बताउँछन् । तीनै तहका सरकार बीच समन्वय नहुँदा योजनाहरु अलपत्र छन् भने गाउँमा विवाद बढेको छ । आवश्यकताको पहिचान बिनै अघि बढाइएकका कतिपय आयोजनामा गरिएको लगानी खेर जाने अवस्था छ । कुनै वर्ष संघले, कुनै वर्ष प्रदेशले र कुनै वर्ष स्थानीय सरकारले यी योजनाहरुमा बजेट थप गर्ने गरेतापनि अपुरै हुने गरेको छ ।

खानेपानीको समस्या समाधान गर्न तीनै तहका सरकारले एकीकृत योजना बनाएर आयोजनाको लागि पुर्ण बजेट व्यवस्थापन गर्न आवश्यक छ । स्थानीय आवश्यकता एकातिर प्राथमिकता अर्कोतर्फ हुँदा राज्यको लगानी अनुत्पादक क्षेत्रमा भइरहेको छ । यसर्थ, बजेटको सही सदुपयोग र स्थानीय आवश्यकता पुरा गर्न योजना छनौटदेखि नै दीर्घकालिन महत्व र लागतका बारेमा अध्ययन गरिनु पर्दछ । यसो हुन सकेमात्रै राज्यको लगानीले प्रतिफल दिन्छ ।

सम्पादकीय : अधुरा आयोजना पुरा गर !

श्रीलङ्काको चक्रवात पुनर्निर्माणमा ठुलो बजेट

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds