सञ्चारिकाद्वारा आयोजित प्यानल डिस्कसनमा जेन–जी आन्दोलनले महिला नेतृत्वको सोच र कार्यशैलीमा परिवर्तन ल्याएको निष्कर्ष

बाँके ,३ पुस।
जेन–जी आन्दोलनले महिला जनप्रतिनिधिहरूको सोच, कार्यशैली र निर्णय प्रक्रियामा पारेको प्रभावबारे नेपालगन्जमा गहन तथा अर्थपूर्ण बहस भएको छ। सञ्चारिका समूहको आयोजनामा बुधबार सम्पन्न प्यानल डिस्कसन कार्यक्रममा बाँकेका स्थानीय तहका महिला जनप्रतिनिधि, प्रदेश सभा सदस्य, पूर्व मन्त्री, राजनीतिक विश्लेषक तथा जेन–जी युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रममा आ–आफ्ना अनुभव र दृष्टिकोण साझा गर्नुभएको थियो।
“जेन–जी आन्दोलनपछि महिला जनप्रतिनिधिहरूको मनोविज्ञान” विषयमा केन्द्रित छलफलमा वक्ताहरूले युवा पुस्ताको बढ्दो सचेतना, सामाजिक सञ्जालमार्फत उठ्ने प्रश्न तथा दबाबले महिला नेतृत्वलाई अझ उत्तरदायी, पारदर्शी र संवेदनशील बनाउँदै लगेको धारणा व्यक्त गर्नुभयो। युवाको सशक्त आवाजले नेतृत्वलाई आत्ममूल्यांकन र सुधारतर्फ उन्मुख गराएको उनीहरूले जनाउनुभयो।
कार्यक्रममा कोहलपुर नगरपालिकाकी उप–प्रमुख सङ्गीता सुवेदीले जेन–जी आन्दोलनले जनप्रतिनिधिहरूलाई जनतासँग प्रत्यक्ष संवादमा उभिन बाध्य बनाएको बताउनुभयो। उहाँले आजका युवाहरूले तत्काल जवाफ र स्पष्टता खोज्ने भएकाले नेतृत्वको सोच र व्यवहारमा परिवर्तन आउनु स्वाभाविक भएको स्पष्ट पार्नुभयो।
कोहलपुर नगरपालिका–११ की वडाध्यक्ष कल्पना शर्माले महिला जनप्रतिनिधिहरू आलोचनालाई सकारात्मक रूपमा ग्रहण गर्न सिक्दै गएको जनाउनुभयो। उहाँका अनुसार जेन–जी आन्दोलनले नेतृत्वभित्र आत्ममूल्यांकन र सुधारको संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
पूर्व स्वास्थ्य राज्यमन्त्री हसिना खानले जेन–जी आन्दोलनले महिला नेतृहरूलाई मानसिक रूपमा थप सशक्त बनाएको बताउनुभयो। उहाँले बदलिँदो सामाजिक परिवेशसँगै नेतृत्वले आफ्ना कार्यशैली परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै समयसँगै नबदलिने नेतृत्व पछि पर्ने धारणा व्यक्त गर्नुभयो।
प्रदेश सभा सदस्य सुशिला बादीले युवाको सक्रिय सहभागिताले नीति निर्माण प्रक्रियामा नयाँ दृष्टिकोण थपिएको जनाउनुभयो। उहाँले महिला नेतृत्वले युवासँग सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।
राजनीतिक विश्लेषक अर्जुन पोखरेलले जेन–जी आन्दोलनलाई असन्तोषको अभिव्यक्ति मात्र नभई लोकतन्त्रलाई थप मजबुत बनाउने चेतनाको संकेतका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले यस्ता आन्दोलनले लोकतान्त्रिक अभ्यासलाई उत्तरदायी र जवाफदेही बनाउने अवसर सिर्जना गर्ने उल्लेख गर्नुभयो।
कार्यक्रमकी गेस्ट स्पिकर तथा जेन–जी अभियन्ता प्रतिक्षा बस्नेतले युवाहरूको आन्दोलन सत्ता विरोधी मात्र नभई सुशासन, पारदर्शिता र जवाफदेहिताको माग भएको स्पष्ट पार्नुभयो। उहाँले महिला नेतृत्वले युवाको आवाजलाई चुनौतीका रूपमा होइन, अवसरका रूपमा बुझ्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको सहजीकरण कान्तिपुरकी पत्रकार रुपा गहतराजले गर्नुभएको थियो। अन्तरक्रियाबाट महिला नेतृत्व र युवा पुस्ताबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै समावेशी, उत्तरदायी र संवादमुखी राजनीतिक अभ्यासतर्फ बहस अघि बढेको आयोजक सञ्चारिकाले जनाएको छ।
सञ्चारिकाद्वारा आयोजित प्यानल डिस्कसनमा जेन–जी आन्दोलनले महिला नेतृत्वको सोच र कार्यशैलीमा परिवर्तन ल्याएको निष्कर्ष

घुयँत्राे:“ओलि : विज्ञान, राजनीति र भोट लाइन

सञ्चारिकाद्वारा आयोजित प्यानल डिस्कसनमा जेन–जी आन्दोलनले महिला नेतृत्वको सोच र कार्यशैलीमा परिवर्तन ल्याएको निष्कर्ष

भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता

Leave a comment

Your email address will not be published. Required fields are marked *